कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘एजेन्डा आधारहीन’

डीआर पन्त

धनगढी — यति बेला हरेकजसो दलका उम्मेदवार धनगढीलाई स्मार्ट सिटी बनाउने सपना देखाउँदै स्थानीयसँग मत मागिरहेका छन् । तर, प्रदेश नम्बर ७ को यो एकमात्र उपमहानगरमा अहिलेसम्म सार्वजनिक शौचालयसम्म नदेखेका मतदातालाई दलको यो एजेन्डाप्रति पटक्कै विश्वास छैन ।

मेयर र उपमेयरसँगै वडा तहका उम्मेदवारसमेत धनगढीलाई स्मार्ट सिटी बनाइदिने भन्दै घरदैलोमा व्यस्त छन् । स्वतन्त्र उम्मेदवारसम्मको भोट माग्ने थेगो बनेको छ– स्मार्ट सिटी । तर, धेरैजसो उम्मेदवारलाई नै स्मार्ट सिटी हुन के–के समेटिनुपर्छ भन्ने जानकारी छैन ।

‘हरेक पार्टीका उम्मेदवार स्मार्ट सिटी बनाउने भन्दै मत माग्न आउँछन्, जबकि यति ठूलो सहरमा अहिलेसम्म एउटा पनि व्यवस्थित सार्वजनिक शौचालय छैन,’ स्थानीय व्यवसायी भोजराज चटौतले भने, ‘अधिकांश उम्मेदवारलाई स्मार्ट सिटीको मापदण्डसमेत जानकारी छैन ।’

जनताले पाउनुपर्ने आधारभूत सुविधासमेत उपमहानगरमा नभएको उनले बताए । ‘शुद्ध खानेपानी, नियमित बिजुली र राम्रो सामुदायिक अस्पतालसम्म नभएको नगरमा स्मार्ट सिटीका कुरा गरेर जनता झुक्याउने काम भइरहेको छ,’ उनले भने ।

हरेक वर्ष २ अर्बभन्दा बढीको बजेट हुने उपमहानगरपालिकाले बिक्रीका लागि प्लटिङ भएका जग्गामा नेता र कर्मचारीका घरघरसम्म सडक कालोपत्रे गरिरहे पनि लाखौं जनतालाई आवश्यक शौचालय निर्माणमा लापरबाही गरेको अर्का स्थानीय टेकबहादुर चौधरीले बताए । ‘अहिलेसम्म राजनैतिक संयन्त्रमा बस्ने यिनै दलका नेता हुन्,’ उनले भने, ‘कमिसन आउने ठाउँमा मात्र विकास योजना हाल्ने उनीहरूले निर्वाचनमा जनतालाई झुक्याउने प्रयास गरिरहेका छन् ।’

चौधरीले भनेजस्तै उपमहानगरको बजेटबाट व्यक्तिका प्लटिङ भएका जग्गामा सडक निर्माण गरिएका छन् । नेताका पत्नी र आफन्तका नाममा काल्पनिक उपभोक्ता समिति बनाएर ठूलो आर्थिक अनियमितता गरिएको छ । ‘नगरका सडक ग्राभेल गर्ने नाममा दलीय संयन्त्रमा बसेका नेताहरूले ठूलो आर्थिक भ्रष्टाचार गरेको देखिएको छ,’ चौधरीले भने, ‘अहिले स्मार्ट सिटीको नारा दिएर चुनावमा आएका छन् ।’

धनगढी उपमहानगरपालिका प्रदेश ७ को व्यापारिक तथा औद्योगिक केन्द्र पनि हो । यहाँ दैनिक १ लाखभन्दा बढीको आवतजावत हुने गर्छ । उपमहानगरको जनसंख्या नै १ लाख ५० हजार छ । नजिकैका भारतीय सीमावर्ती गाउँ र सहरबाट पनि दैनिक धनगढी आउनेको संख्या ठूलो रहेको हुन्छ तर बजारमा अहिलेसम्म एउटा पनि सार्वजनिक शौचालय छैन । उपमहानगरको प्रवेशद्वारमा एउटा शौचालय बने पनि जीर्ण भइसकेको छ ।

‘५ किमि क्षेत्रफलमा फैलिएको धनगढी बजारमा शौचालय बनाउन नसक्नेले स्मार्ट सिटीका कुरा गरेर जनतालाई झुक्याउन हुँदैन,’ युवा व्यवसायी डबल देउवाले भने, ‘नेताहरूमा कुनै सुधार आउन नसकेको संकेत पनि हो यो ।’ उनले जनतामा चेतना आइसकेकाले अब हावादारी गफ गरेकै भरमा मत नपाइने बताए । १२ वर्षयता रिक्सा चलाउँदै आएका इन्द्रकुमार चौधरी पनि नेताहरू चुनाव जित्न जस्तासुकै आश्वासन दिन पछि नपरेको बताउँछन् । ‘धनगढी उपमहानगरको चुनावी परिणाम यसपटक कल्पना गरेभन्दा फरक हुन सक्छ,’ उनले भने ।

प्रकाशित : असार ३, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?