कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थबाङमा कांग्रेस–विप्लव तालमेल ?

काशिराम डाँगी

रोल्पा — स्थानीय तह निर्वाचन खारेजीको माग गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता(कार्यकर्ता थबाङ गाउँपालिकाको निर्वाचनमा भने सहभागी हुने भएका छन् ।

उक्त पार्टीको स्थानीय कमिटीको सहमतिमा नेताहरूले आइतबार गाउँपालिकाको अध्यक्षसहित पदमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगमा दल दर्ता नरहेकाले उनीहरूले स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा भाग लिने भएका हुन् ।

थबाङ गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्ष पदमा नेकपाका युवा नेता अमित घर्तीमगरले मनोनयन दर्ता गराएका छन् । अन्य पदमा समेत गरी उनीसहित १७ जनाले उम्मेदवारी दिएका छन् । यसअघि अध्यक्ष पदमा नेकपाकै कार्यकर्ता उवा गाउँका भक्तबहादुर घर्तीमगरले पनि स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका थिए । आन्तरिक छलफलपछि भक्तबहादुरले उम्मेदवारी फिर्ता लिने संकेत देखिएको स्रोतको दाबी छ ।

अध्यक्ष पदमा एमालेका हितबहादुर रोकामगर र माओवादी केन्द्रका वीरबहादुर घर्तीमगरले पनि उम्मेदवारी दिएका छन् । कांग्रेसले भने अध्यक्षमा मनोनयन दर्ता गराएको छैन ।

नेकपाले उपाध्यक्ष पदमा भने उम्मेदवार उठाएको छैन । उपाध्यक्षमा कांग्रेसबाट श्रीकुमारी रोकामगर, माओवादी केन्द्रबाट रामकिरणी रोकामगर र एमालेबाट जान रोका भिड्ने भएका छन् । कांग्रेसका स्थानीय एक नेताले नेकपा र कांग्रेसबीच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको बताए । ‘यो सहमतिलाई पार्टीको माथिल्लो तहसम्म निर्णयार्थ पठाउने योजनामा छौं,’ उनले भने । पाँचवटा मात्र वडा रहेको थबाङ रोल्पाकै सबैभन्दा सानो गाउँपालिका हो । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा थबाङवासीले मतदान गरेका थिएनन् ।

नेतृत्वसँग असन्तुष्टिको संकेत
थबाङलाई चन्द नेतृत्वको नेकपाको मुख्य आधारक्षेत्रका रूपमा लिइन्छ । गत फागुनमा थबाङमै आठौं महाधिवेशन सम्पन्न गरेको उक्त पार्टीले नयाँ संविधानको विरोधसहित स्थानीय निर्वाचनसमेत खारेजी माग गर्दै आएको छ । निर्वाचनविरोधी गतिविधिका कारण नेकपाका दर्जनौं कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ । थबाङमा निर्वाचनमा भाग लिने निर्णयपछि पार्टीमा आन्तरिक विवाद बढ्ने संकेत देखिएको छ ।

निर्वाचनलाई ‘सदुपयोग’ गर्ने थबाङवासीको चाहना रोक्न पार्टी महासचिव चन्द स्वयं पनि लाग्दै आएका थिए । थबाङ घर भएका नेता सन्तोष बुढामगरले समेत निर्वाचन बहिष्कार गर्न र खारेजी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए । तर, थबाङवासीले निर्वाचन सदुपयोग गर्ने भएपछि पार्टी नेतृत्वको उक्त निर्देशनप्रति स्थानीय असन्तुष्ट रहेको संकेत देखिएको छ ।

स्रोतका अनुसार निर्वाचनमा भाग लिने(नलिने द्विविधापछि छलफल चलाउन केही दिनअघि बुढामगर थबाङ आएका थिए । उनीसहित स्थानीय नेता जयप्रकाश रोकामगर, हितप्रसाद रोकामगर, अमित घर्तीमगरलगायतबीच व्यापक छलफल भएको थियो । पार्टी नेतृत्वले निर्वाचनमा भाग लिन नमिल्ने निर्देशन गरे पनि स्थानीयले गाउँविकासका लागि निर्वाचनलाई अवसरका रूपमा लिनुपर्ने प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : असार ५, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?