१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ओझेलमा पुनर्निर्माण

ओखलढुंगा — उम्मेदवारहरू घरदैलो अभियानको अन्तिम चरणमा छन् । आ–आफ्ना प्रतिबद्धता लिखित र मौखिक रूपमा बाँडिरहेका छन् । अनेक आश्वासन नबाँड्ने उम्मेदवारै छैनन् भन्दा पनि हुन्छ । तर अधिकांशको मुख्य एजेन्डामा सडक, विद्युत्, खानेपानी, पुल पुलेसा छन् ।

एकातिर चुनावको कारण प्रभावित मात्रै नभई ओझेलमा परेको भूकम्पपछिको पुनर्निर्माणको विषयले पहिलो प्राथमिकता पाउन सकेको छैन । ‘कुनै पनि दलका उम्मेदवारले पुनर्निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छैनन् ।’ लिखु गाउँपालिका ७, गाम्नाङटारका नीलकमल भट्टराईले भने, ‘कतिले त यो विषय उठाएकै छैनन् । उठाएकाले पनि सहायक एजेन्डामात्र बनाएका छन् ।’

भूकम्प गएको दुई वर्ष बितिसके पनि जिल्लामा अझै सरकारी अनुदान लिएर एउटा पनि घर निर्माण भइसकेको छैन । छ हजारभन्दा बढी गुनासोको उचित सम्बोधन हुन सकेको छैन । निर्माण भइरहेका घरको गति पनि सुस्त छ । आफ्नो घर भत्किएर टहरामै बस्नुपरेको छ । तर लाभग्राहीको सूचीमा नपर्ने हजारौंको संख्यामा छन् ।

‘भूकम्प गएको यत्रो समय बित्दा पनि मतदाता टहरामै बसेर मतदान गर्न जाँदैछन् । उम्मेदवार पनि टहरामै भोट माग्न पुगेका छन् ।’ रगनीका स्थानीय सुरेन्द्र शंकर घिमिरेले भने, ‘तर चुनावपछि स्थानीय सरकार प्रमुख बन्ने उम्मेदवारलाई कसरी पुनर्निर्माण गर्ने भन्ने अन्योलता छ । त्यसैले चुनावी एजेन्डामा प्राथमिकता दिइएको छैन ।’

प्रकाशित : असार ५, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?