निर्वाचनमा माहोलमा अवैधरुपमा गिटी बालुवा निकासी बढ्दै

धनकुटा — निर्वाचनतर्फ सबैको ध्यान मोडिएको बेला अवैध रुपमा खोलाबाट गिटी बालुवा निकासी गरिनेक्रम बढेको छ । जेठ मसान्तदेखि तीन महिना खोला तथा नदीजन्य वस्तु उत्खनन् गर्ने कार्य रोक लगाइएको भएपनि विभिन्न बहानामा त्यस्ता वस्तु निकासी गर्ने काम रोकिएको छैन ।

निर्वाचनमा माहोलमा अवैधरुपमा गिटी बालुवा निकासी बढ्दै

जिल्ला समन्वय समिति (साविकको जिल्ला विकास समिति) ले लेउती खोलाबाट गिटी बालुवा निकाल्न रोक लगाएको सूचना जारी गरेको स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले जानकारी दिए । 

असारदेखि भदौ मसान्तसम्म त्यस्ता वस्तु झिक्ने र ओसारपसारमा रोक लगाइएको सापकोटाले बताए । तर सुचना जारी गरिएको लगत्तै विगत तीन दिनदेखि लेउती खोलाबाट बालुवा तथा गिटी झिकेर वाह्य जिल्लातर्फ निकासी गरिएको छ । ‘कुनै पनि वहानामा स्टक बाहेकका त्यस्ता वस्तु झिक्ने र निकासी गर्न पाईदैन’, सापकोटाले भने, ‘यसलाई नियन्त्रण गर्ने निकाय प्रहरी प्रशासनले चासो दिनु पर्ने हो ।’ उनले आफुलाई समेत कुनै जानकारी नगराई उक्त कार्य भइरहेको गुनासो गरे । 

सडक डिभिजन कार्यालयले गर्जुवा र लेउती खोलाको ‘एक्सेस मेटेरियल’ हटाएर वशन्तपुर—तेह्रथुम खण्डको टुक्रे ग्रेभलको लागि काम गर्न भन्दै गिटी बालुवा निकासी गर्दै आएको स्रोतले जनाएको छ । सडक डिभिजनले भाडाका पॉच वटा ट्रिपर प्रयोग गर्दै गिटी बालुवा झिकेर तेह्रथुमतर्फ दैनिक रुपमा निकासी गर्दै आएको छ । 

पहिलो दिन गत शनिवार मुलघाटस्थित प्रहरी चौकीले गिटी बालुवासहितको ट्रिपर केही समय नियन्त्रणमा लिएपनि छोडिदिएको छ । अवैधरुपमा गिटी बालुवा बोक्न बा.३ ख ६९४९, ना ५ ख ८५२८, ना.७ ख २८४१, ना.७ ख २८३९ र ना.१ ज २७६९ नं.को ट्रीपर प्रयोग गरिएको छ । सडक डिभिजन कार्यालयका प्रमुख विष्णुप्रसाद काफ्लेले गर्जुवा खोलाले बगाएर ल्याएको खेर गएका बालुवा ढुंगा मात्र झिकेर निकासी गरेको स्वीकार गरे । तर निर्माण व्यवशायीहरुले बाटोमा रोकेर जॉच गर्दा लेउती खोलाको बालुवा गिटी रहेको पुष्टि भएको छ । 

कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा पर्ने गर्जुवा खोलाको बालुवा झिकेर वशन्तपुर—तेह्रथुम खण्डको टुक्रे ग्रेभलका लागि काम गर्ने वहानामा अवैध काम भइरहेको निर्माण व्यवशायीको गुनासो चुलिएको छ । स्टकमा रहेको वस्तु मात्र सम्बन्धित ठेकेदार मार्फत निर्माण व्यवशायीले ढुवानी गर्ने प्रावधान भएपनि अन्य वहानामा अवैध काम गरिएको व्यवशायी सन्तोष राईको भनाई छ । 

‘आफुहरुले स्ट्रकको सामान ढुवानी गर्दा समेत विभिन्न व्यवधान व्यहोर्ने पर्छ’ उनले भने, ‘अवैध ढंगले ढुवानी गरिने काम तत्काल बन्द गरिनु पर्छ ।’ ट्रक व्यवशायी संघका क्षेत्रीय सदस्य समेत रहेका राईले गलत रुपमा वस्तु ढुवानी भएको दावी गरे । यस्तै निर्माण व्यवशायी संघका पुर्व अध्यक्ष यज्ञप्रसाद खतिवडाले पनि सडकमा निर्वाद रुपमा अवैध रुपमा उत्खनन गरिएका गिटी बालुवा ढुवानी भएको पाएको बताए । तत्काल उक्त कार्य बन्द नगरिए आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने उनको भनाई छ । 

अवैध रुपमा लेउती खोलाबाट गिटी बालुवा लिएर तेह्रथुमतर्फ लगिदै गरिएको ट्रिपर ।  तस्बिर: रमेशचन्द्र अधिकारी/कान्तिपुर

प्रकाशित : असार ५, २०७४ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?