नदीमा डुबेकी बालिकाको उद्धार

कान्तिपुर संवाददाता

कास्की — म्याग्दी सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीले बगाउँदै गरेकी एक बालिकाको सकुशल उद्धार गरिएको छ ।

म्याग्दीकै धौलागिरि गाउँपालिका घर भई बेनीबजार बस्दै आएकी १० वर्षीया ममिता रसाइलीलाई सोमबार बिहान ११ बजेतिर खुला मञ्चछेउ खेलिरहँदा नदीले बगाएको थियो । करिब ५ सय मिटर तल पुगेकी ममितालाई प्रहरीले सकुशल उद्धार गरेको हो । उनको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ ।

 

Yamaha

Esewa Pasal

प्रकाशित : असार ७, २०७४ ०८:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रगतमा लापरबाही

स्वास्थ्य लाभका लागि शरीरमा रगत चढाउँदा उल्टै ज्यानलाई जोखिममा पार्ने खालका विभिन्न संक्रमणको सिकार बन्नुपरेका घटनाहरू पाइएका छन् । रगत लेनदेनजस्तो अत्यन्तै संवेदनशील कार्यमा गरिएको यस्तो लापरबाही अक्षम्य छ ।

ब्लड बैंक तथा स्वास्थ्य संस्थाहरू रगत जाँच प्रभावकारी ढंगले नगर्दा बिरामीमा चढाउन लिइने रगतको विश्वसनीयता नै शंकास्पद बनाएको छ । यस्तो गम्भीर र संवेदनशील समस्यालाई बेलैमा पहिचान गरेर रगत जाँच विश्वासिलो हुने अवस्था तयार गर्न नसक्नु सरकारको पनि कमजोरी हो । 
शरीरमा चढाइएको रगत असुरक्षित छ भन्ने प्रमाण हालै रक्त परीक्षण गरिएका एक १६ वर्षे युवा हुन् । हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित उनमा एचआईभी/एड्स संक्रमण देखिएको छ र उपचारमा संलग्न चिकित्सकको भनाइमा यसको कारण चढाइएको रगत नै हो । विशेषज्ञहरूका अनुसार नियमित रगत लिने कतिपय बिरामीमा हेपाटाइटिस बी र सीको संक्रमणसमेत देखिएको छ । यसले ब्लड बैंकहरूबाट लिइएका रगत असुरक्षित पनि हुँदोरहेछ भन्ने पुष्टि गरेको छ । विशेषज्ञहरू नै नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा तथा अन्य ठाउँबाट लिएको रगतबाट एचआईभी, हेपाटाइटिस बी र सी लगायतका संक्रमण नहुने दाबी गर्न नसकिने बताउँछन् । रगत जाँचमा भइरहेको यस्तो असंवेदनशीलताबाट प्रसूति, शल्यक्रिया, चोटपटक दुर्घटना, नियमित रगत चढाउनुपर्ने रोगबाट प्रभावित बिरामी प्रभावित हुन्छन् । बिरामीले स्वास्थ्यकर्मीलाई विश्वास गरेर रगत लिएका हुन्छन् । संक्रमित रगत बिरामीमा चढाउनु एक किसिमको अपराध नै हो । 
रगत चढाइएकै कारण एचआईभी/हेपाटाइटिस बी र सी लगायतका रक्तजन्य संक्रमणमा बिरामी परेको घटना नौलो होइन । यसबारे बेलैमा सजग हुँदै रगत जाँचलाई विश्वसनीय बनाउनुपर्नेमा उल्टै संक्रमणमा पर्नेहरूको संख्या बढ्दै गएको चिकित्सकहरूको दाबी छ, जुन विडम्बनापूर्ण अवस्था हो । ‘विन्डो पिरियड’ (पहिलो संक्रमण र विश्वासिलो जाँचबाट संक्रमण पहिचानको अवधि) का रक्तदाताबाट लिइएको रगतबाट संक्रमण बिरामीमा फैलिने गरेको पाइएको छ । विन्डो पिरियडका रक्तदाताबाट लिइएको रगतको संक्रमण अहिले मुलुकमा प्रचलनमा रहेको परीक्षण विधिले पहिचान गर्दैन । त्यसैले उनीहरूको रगतबाट औलो, सिफलिस, गोनोरिया, वेस्ट निल भाइरस, एचटीएलभी, साइटोमेगालो भाइरस, पर्भो भाइरस जस्ता थुप्रै प्रकारका ब्याक्टेरियाबाट हुने संक्रमण सर्न सक्छ । संक्रमित रगतले ‘क्रुज फिल्ड ब्याक अप डिजिज’ जस्तो दुर्लभ रोगसमेत सार्न सक्छ, जुन रोग लागेपछि स्नायु नै नष्ट हुन थाल्छ । त्यसैले रगत जाँच लापरबाही गर्ने कार्य नै होइन । तर हामीकहाँ धेरैजसो रगतको परीक्षण र्‍यापिड डायग्नोस्टिक (द्रुत परीक्षण) किटबाटै गरिन्छ, जसको विश्वसनीयता धेरै कम छ । बेग्लाबेग्लै कम्पनीका किटले बेग्लाबेग्लै रिपोर्ट दिने अवस्था पनि छ । जबकि विश्व स्वास्थ्य संगठनले रगत संकलन गर्दा र चढाउँदा द्रुत परीक्षणमा भर नपर्न भनेको छ । स्वास्थ्य संस्थाहरूले समय नभएको र रकम अभाव रहेको भन्दै रगतको अत्याधुनिक परीक्षण नगरिनु पनि गैरजिम्मेवार कार्य हो । 
यहाँका रगत नै सुरक्षित नरहेपछि वा त्यस्तो सन्देश प्रवाह भएपछि बिरामीलाई मुलुकबाहिर लैजानुपर्ने अवस्था आउँछ, जुन पैसा र समय दुवै हिसाबले बढी खर्चिलो हुन्छ । रगत प्राय: अभाव भइरहने हुनाले पाउनु नै ठूलो कुरा छ, तर त्यसो भन्दैमा स्वस्थ रहेको सुनिश्चितताबिना रगत चढाइनु हुन्न । बिरामीलाई चढाइने रगतका सन्दर्भमा राज्य गम्भीर बन्नै पर्छ । ‘विन्डो पिरियड’ का रक्तदाताको रगतमा रहेको संक्रमणसमेत पहिचान गर्न सक्ने परीक्षण प्रविधि प्रयोग गर्नुपर्छ । रगत जाँचमा लापरबाही गर्ने व्यक्ति तथा निकायमाथि कारबाही गर्नुपर्छ । 

प्रकाशित : असार ७, २०७४ ०८:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT