२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

खानेपानी अभाव

सप्तरी — सप्तरीका बाढी प्रभावित बस्तीमा खानेपानी अभाव भएको छ । ट्युबेल बाढीमा डुबेपछि अहिले धमिलो पानी मात्र आउने गरेको छ ।

खानेपानीको व्यवस्थापन हुन नसक्दा धमिलो पानी नै पिउनुपर्ने बाध्यताका कारण पीडितहरू बिरामी पर्न थालेका छन् । गत शनिबार महुली नदीको बाढी विभिन्न स्थानमा तटबन्ध भत्काउँदै बस्तीमा प्रवेश गरेपछि भेडिया, मयनाकरेडी, रघुनाथपुरलगायत बस्ती डुबानमा परेका थिए । यस्तै, खाडोखोलाको बाढी बस्तीमा प्रवेश गर्दा रायपुरको पौंवा टोल, मलेठ र तिलाठीलगायतका बस्ती डुबानमा परेका थिए ।

‘सबैका ट्युबेलमा धमिलो पानी आउँछ,’ भेडियाकी सञ्जनादेवी मुखियाले भनिन्, ‘नखाउँ भने विकल्प छैन, खाउँ भने फोहोर धमिलो पानी खान मनले मान्दैन ।’ धमिलो पानी खाने गरेका कारण भेडिया र मयनाकरेडीका बस्तीमा बालबालिका बिरामी पर्ने क्रम बढेको स्वास्थ्य स्वयंसेविका इन्द्रदेवी यादवले बताइन् । तर बस्तीमा वितरण गर्न स्वास्थ्यचौकीले औषधि नदिएको गुनासो यादवले गरिन् । मयनाकरेडी स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट सुबोधकुमार झाले बाढी प्रभावित बस्तीबाट बिहीबार मात्र झाडापखालाका ४ र ज्वरोका ३ बिरामी स्वास्थ्यचौकी आएको जानकारी दिए । स्वास्थ्यचौकी र बाढी प्रभावित भेडिया बस्तीको दूरी २ किलोमिटर छ ।

बाढीले बाटो कटान गरेका कारण पानीले भरिएको बाटोबाटै स्वास्थ्यचौकीसम्म पुग्नुपर्छ । हेल्थ असिस्टेन्ट झाले जिल्ला जनस्वास्थ्य कार्यालयबाट आएको स्वास्थ्य टोलीले स्वास्थ्यचौकीमा चार कार्टुन औषधि दिएर गएको बताए । जिल्लाबाट प्राप्त औषधि पर्याप्त नभएको उनको भनाइ छ । ‘धेरै बिरामी छन्, औषधि कम छ कसरी दिनु ?’ झाले भने ।

स्वास्थ्य स्वयंसेविका इन्द्रदेवी यादवका अनुसार बाढीका कारण ठूलो खाल्टो परेकाले घर नबगे पनि तत्काल बस्ने अवस्था नहुँदा गर्भवतीलाई समस्या भएको छ ।

घर बगेकालाई सरकारी राहत
बाढी आएको ६ दिनपछि सप्तरीको मयनाकरेडी र भेडियाका बाढीपीडितहरूले सरकारी राहत पाएका छन् । घर बगेको र अति प्रभावित भएका १५ परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिका तर्फबाट प्रतिपरिवार नगद पाँच हजारका दरले प्रजिअ कृष्णबहादुर कटुवालले हस्तान्तरण गरे ।

भेडिया र मयनाकरेडीका अन्य बाढीपीडितलाई तिरहुत गाउँपालिकाका तर्फबाट खाद्यान्न वितरण गरिएको छ । धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको नेपाल तराई विद्यार्थी नवजागरण संघले भुजा, चिउरा र चाउचाउ वितरण गरेको छ । दुग्ध विकास संस्थान ढल्केबरले भेडिया र मयनाकरेडीका बाढीपीडित ८५ परिवारलाई २० किलोका दरले चिउरा, २० प्याकेट चाउचाउ, ५ बोतल मिनरल वाटर र घर बगेका १५ जनालाई पाल वितरण गरेको छ । यस्तै राजपा महोतरीले संकलन गरेको राहत सामग्री भेडिया मयनाकरेडीमा तथा राजपा मोरङले बाढी प्रभावित सकरपुरामा राहत वितरण गरेका छन् ।

यसैबीच महुली खोलाको बाढीले भेडियाको तटबन्ध भत्काएको स्थानमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले तटबन्ध पुनर्निर्माण सुरु गरेका छन् । भेडियाका पाँच स्थानमा महुली खोलाको बाढीले तटबन्ध भत्काएको छ । भत्काएको भेडिया टोल नजिकैको तटबन्ध पुनर्निर्माणमा सेना, सशस्त्र र प्रहरी जुटेको निर्माणस्थलमा रहेका नेपाली सेनाका सेनानी अशोककुमार कार्कीले बताए । बस्ती नजिकैको कटान नियन्त्रण पछि भत्केको अन्य स्थानमा समेत पुनर्निर्माण गर्ने सेनानी कार्कीले जनाए । बोरामा बालुवा भरेर जाली क्रेटिङ गरी तटबन्ध पुनर्निर्माणमा सुरक्षाकर्मी जुटेका हुन् ।

प्रकाशित : असार २७, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?