कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पानी माग्दै पूजा गर्ने ठाउँ जलमग्न

‘हाम्रा देवता नै रिसाएका हुन् कि, पूजा नहुँदै डुबानमा पर्‍यौं’
अबधेशकुमार झा

भेडिया (सप्तरी) — बनसखण्डी मठको धार्मिक र ऐतिहासिक महत्त्व छ । असार सुरुमा प्रत्येक वर्ष वर्षाका लागि सरकारी लगानीमा पूजापाठ गर्ने चलन दशकौं भइसक्यो । पहिले अञ्चलाधीश अनि जिविस सभापति बसेर वर्षाका लागि पूजापाठ गर्थे । अहिले प्रमुख जिल्ला अधिकारी आफैं यजमान बसेर पूजालाई निरन्तरता दिँदै आएका छन् ।

 पानी माग्दै पूजा गर्ने ठाउँ जलमग्न


अतिवृष्ट र अनावृष्ट नहोस्, राम्रो कृषि उपजका लागि मठमा पूजाआजाको परम्परा रहे पनि यस वर्ष पूजाआजा नहुँदै सिंगो भेडिया गाउँ बाढीको चपेटमा पर्‍यो । बनसखण्डी मठ पनि चारैतिरबाट बाढीले घेरिएको छ ।
‘समग्र जिल्लाकै हितका लागि, राम्रो वर्षासँगै कृषि उपजका लागि हाम्रो गाउँमा पूजाआजा हुने गथ्र्यो,’ स्थानीय उपेन्द्र मुखियाले भने, ‘हाम्रा देवता नै रिसाएका हुन् कि, पूजा नहुँदै यस वर्ष डुबानमा पर्‍यौं ।’ पछिल्लो १० दिनदेखि राहतको मुरही चिउराको भरमा दिन काट्दै आएका गाउँले असारको प्रारम्भमै मठमा पूजा भएको भए यस्तो दिन सायद नआउने भन्ने आशंकासमेत व्यक्त गरिरहेका छन् ।
असार १७ गते महुली खोलाको बाढीले सप्तरीको भेडियामा पाँच ठाउँमा तटबन्ध भत्कायो । भेडिया बस्तीका सबै घर डुबानमा परे । बाढी गएको १० दिन बित्दा पनि जनजीवन सामान्य हुन सकेको छैन ।
२ वर्षअघि पनि असार साउनमा वर्षा नहुँदा तत्कालीन प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहितका सरकारी अधिकारीले उक्त मठमा पूजा गरेका थिए । त्यसपछि वर्षा भएको स्थानीय उपेन्द्र मुखियाले बताए ।
गुरु नानकका अनुयायी बनसखण्डी बाबा भएका कारण यस मठलाई शिख धर्मावलम्बीले पवित्र तीर्थस्थलका रूपमा मान्दै आएका छन् । खुला चौरजस्तो ठाउँमा अति उचाइमा रहेको ठूलो ढिस्कोमा बाबा बनसखण्डी मठ बनाइएको छ । मठ नजिकैको ठूलो सालको रूखमा केही वर्ष अघिसम्म आँप फल्ने गरेको स्थानीय बताउँछन् ।
०४८ सालताका कालो पारदर्शी पत्थर र गुरुमुखी लिपिमा लेखिएको प्राचीन ग्रन्थ तथा मूर्तिहरू हाल मठबाट गायब भइसकेका छन् । भारतको पञ्जाब, मुम्बई, दिल्लीसहितका स्थानका धर्मावलम्बीहरू बर्सेनि आउँथे । ग्रन्थ, मूर्ति र कालो पारदर्शी पत्थरहरू चोरी भएपछि धर्मावलम्बी आउने क्रम पनि पातलिएको हो । भारतीय क्षेत्रबाट आएका शिख धर्मावलम्बीले उक्त प्राचीन मूर्ति र ग्रन्थहरू गायब गरेको हुन सक्ने आशंका गरिँदै आएको छ ।
मठमा पूजाआजाका लागि तत्कालीन राजा राजेन्द्रबाट मठको नाममा १ सय २६ बिघा जग्गा प्रदान गरेको अभिलेख छ । यो स्थल मध्यकालीन समयको भएको हुन सक्ने सप्तरीका इतिहासविद् हरिकान्तलाल दास बताउँछन् ।
बनसखण्डी मठको पछाडि महुली नदीको किनारमा करिब ६ बिघा क्षेत्रफलमा पुरातात्विक ढिस्को रहेको छ । प्रा. दासका अनुसार स्थल वरिपरि पुराना इँटाका टुक्रा प्रशस्त मात्रामा पाइने गरेकाले गर्भगृहमा प्राचीन सभ्यताको प्रमाणहरू हुन सक्दछन् ।

प्रकाशित : असार २८, २०७४ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?