२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कुलो भत्केपछि पूरै फाँट बाँझो

खानेपानी पाइप चुडाल्दा सेती नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता

बझाङ — पहिरोले सिँचाइ कुलो भत्काएपछि असार पहिलो साता नै हरियो भइसक्ने थलारा गाउँपालिकास्थित कुचो जिउलो (धान फल्ने फाँट) साउन लाग्न लाग्दासम्म बाँझै छ । अप्ठ्यारो पहरा भएको ठाउँमा पहिरोले कुलो लगेपछि ८८ परिवार धान रोप्न नपाएर चिन्तित छन् ।

कुलो भत्केपछि पूरै फाँट बाँझो

साबिक पाराकाट्ने गाविस कुचमा रहेको करिब ३ सय रोपनी जग्गा सिञ्चित गर्ने कुलो जेठको पहिलो साता झरेको पहिरोले भत्काएको थियो । स्थानीयले श्रमदानबाट प्लास्टिकको पाइप हालेर केही दिन पानी चलाए पनि २ साताअघिको पहिरोले पाइप नै चुडालिदिएपछि किसान समस्या परेका हुन् ।

जिल्लाकै राम्रो धान फल्ने जिउलोका रूपमा चिर्चित कुच सिँचाइ आयोजनाको मुहान थलारी गाढमा छ । नहर भत्किएको ठाउँ छेडेपड भन्ने ठाउँमा एकदमै चट्टानी भूभाग रहेको र लगातार पहिरो खसिरहेकाले पानी लैजाने अर्को विकल्प नभएको स्थानीय विकास थापाले बताए ।

उनले भने, ‘असार पहिलो साता नै रोपाइँ सकेर किसान यताउता लाग्थे । साउन लागिसक्दा पनि रोपाइँ नहुँदा किसान मर्कामा परेका छन् ।’ बझाङमा मात्र पाइने सुगन्धित हंसराज धान फल्ने यो फाँटका किसान रोपाइँ गर्न ढिला भएपछि निकै आत्तिएको उनले बताए ।

यस्तै सिँचाइ कुलोको समानान्तर निर्माण गरिएको कुच खानेपानी आयोजनाका पाइप पनि पहिरोले बगाएको छ । पाइप बगाएपछि गाउँवासीले बर्खामा नदीको भल पानी खानेपानीका रूपमा प्रयोग गरिरहेको स्थानीय इन्द्रा थापाले बताइन् ।

‘२ महिना हुन थाल्यो वर्षातको भल पानी पिइरहेका छौं,’ उनले भनिन्, ‘पानी नपरेको दिन सेती नदीको धमिलो पानी पिउनुपर्छ ।’ दूषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, आउ, जन्डिसजस्ता समस्या बढ्न थालेको उनले बताइन् ।

ठूलै चट्टान खसेका कारण कुलो मर्मतमा कठिनाइ भएको बताउँदै डिभिजन सिँचाइका प्रमुख भिलानन्द यादवले स्थायी रूपमा पछि मर्मत गर्ने गरी अहिले प्लास्टिककै पाइप हालेर रोपाइँ सञ्चालन गर्न आफूहरू प्रयासरत रहेको बताए । उनले पानी परिरहेका कारण तत्काल स्थायी संरचना निर्माण गर्न समस्या भइरहेको बताए ।

प्रकाशित : असार ३०, २०७४ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?