कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वडाध्यक्षको शरीरमा गोली

गुलरिया — बारबर्दिया नगरपालिका ११ का वडाअध्यक्ष विजयकुमार थारू १४ वर्षदेखि शरीरमा गोली बोकेर बसिरहेका छन् । ३६ वर्षीय थारूको अप्रेसन गर्न चिकित्सकीय प्रयास असफल भएपछि शरीरमा गोली बोकेरै हिँडडुल गर्न बाध्य भएका हुन् । उनको पेट, कलेजो, खुट्टा र पाखुरामा चार गोली छन् ।

लामो समय माओवादी सशस्त्र युद्धमा लागेका थारू भर्खरै वडाध्यक्षमा चुनिएका हुन् । उपचारका लागि विभिन्न सहर पुगे पनि असम्भव भएपछि गोली ननिकालिएको हो । थारू २०५४ सालमा तत्कालीन नेकपा माओवादीमा आबद्ध भई भूमिगत बनेका थिए । उनी बिग्रेड कमान्डरसम्म बनेको बताउँछन् । द्वन्द्वका बेला दर्जन पटक सुरक्षा फौजसँग जम्काभेट भए पनि ज्यान जोगाउन सफल भएको उनले बताए । बर्दियाको रम्मापुरस्थित सेनाको पोस्टमा आक्रमण गर्दा पेटमा गोली लागेर उनी घाइते भएका थिए । घाइते उनलाई पार्टीले आराम गर्न भनेको थियो । तर मानेनन् । ०६१ सालमा बाँकेको कुसुम आक्रमणमा उनको पाखुरामा गोली लाग्यो । बेनी आक्रमणमा कलेजो र खुट्टामा पनि गोली लागेको उनले जानकारी गराए । अप्रेसन गर्ने अवस्था नरहेको चिकित्सकले बताउँदै आएका छन् । उनको कलेजोको दायाँ भागमा प्लास्टिकको फोक्सो राखिएको छ । खुट्टा र पाखुरामा दुखाइ नभए पनि पेट र कलेजोमा बेलाबेलामा समस्या हुने उनी बताउँछन् । ‘श्वासप्रश्वासमा बेला–बेला समस्या आउने गरेको छ,’ उनले भने, ‘उपचारका लागि विभिन्न अस्पताल गए पनि चिकित्सकले समस्या हुने बताएपछि उपचार गरिनँ । सधैं पार्टी र सामाजिक काममा लागिरहेको छु । यसपटकको स्थानीय तह निर्वाचनमा उनी माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका थिए ।

चुनावमा निकटतम प्रतिद्वन्द्वी एमालेका झनप्रसाद थारूलाई ७ सय २१ मतले पराजित गर्दै उनी वडाअध्यक्ष निर्वाचित भए । उनले १ हजार २ सय ४७ मत प्राप्त गरे । विजयी भएपछि थप हौसला बढेकाले मतदाताकै काममा लागिरहने उनले बताए ।

प्रकाशित : असार ३१, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?