कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

११ हजार बालबालिका विद्यालयबाहिर

पर्सा — जिल्लामा बर्षेनि भर्ना अभियान सञ्चालन गर्दा पनि अझै ठूलो संख्यामा बालबालिका विद्यालय जानबाट वञ्चित रहेको पाइएको छ ।

जिल्ला शिक्षा कार्यालयले संकलन गरेको तथ्यांकले यस वर्ष ११ हजार ६ सय ७९ विद्यार्थी विद्यालयबाहिर रहेको देखाएको हो । यो संख्या जिल्लाका कुल विद्यालय जाने उमेरका बालबालिकामध्ये करिब ११ प्रतिशत हो ।

सदरमुकाम वीरगन्ज तथा जिल्लाका सम्पूर्ण गाउँपालिका (साबिका गाविस) मा गरेको सर्भेले यस्तो परिणाम देखाएको कार्यालयले जनाएको हो । शनिबार वीरगन्जमा आयोजित विद्यालयबाहिर रहेका बालबालिकाको विवरणबारे अभिमुखीकरणमा तथ्यांक सार्वजनिक गरिएको हो । विद्यालय निरीक्षक मन्जुर आलमले तथ्यांक सार्वजनिक गर्दै जिल्लामा यस वर्ष विद्यालय जाने उमेरका १ लाख २० हजार २ सय ८७ बालबालिका रहेको जनाए । तीमध्ये १ लाख ८ हजार ६ सय ८ जना मात्र विद्यालय पुगेका छन् ।

यिनमा बालविकास केन्द्रमा भर्ना हुनुपर्नेमध्ये ३ देखि ४ वर्ष उमेर समूहका ६९८, १ देखि कक्षा ८ सम्म भर्ना हुनुपर्ने ५ देखि १२ वर्ष उमेर समूहका ५ हजार ८ सय ९६, माध्यमिक तहमा कक्षा ९ देखि १० मा भर्ना हुनुपर्ने १३ देखि १४ वर्ष उमेर समूहका १ हजार ९ सय १९ र कक्षा ११ देखि १२ मा भर्ना हुनुपर्ने १५ देखि १६ वर्ष उमेर समूहका ३ हजार १ सय ६४ गरी ११ हजार ६ सय ७९ बालबालिका विद्यालयबाहिर छन् । जातिगत रूपमा हेर्दा विद्यालयबाहिर रहेका बालबालिकामा ३४ सय ३२ दलित, १२ सय ५ जनजाति, २२ सय ९९ मुस्लिम र ४७ सय ४३ दलित, जनजातिबाहेक अन्य जातिका हुन् ।

बालबालिकाले विद्यालय नआउने कारणहरूमा ५३ सय ११ गरिबी, ४२६ विद्यालय टाढा भएको, १२७ अपांगता, २६३ आफू वा परिवारका अन्य सदस्यको अस्वस्थताका कारण, २१० भाषिक, १४ द्वन्द्वका कारण, ३६ बसाइसराइका कारण विद्यालय नआएका हुन् । त्यसैगरी, १७६ विवाह, ११ सय १२ भाइबहिनीको हेरचाह तथा घरायसी काम, ३० सामाजिक विभेद, ७७ शिक्षक–शिक्षिकाबाट दुव्र्यवहार, ९९३ पढ्न मन नलाग्ने, ८९२ घरमा काम गर्ने वा मजदुरी गर्ने र २ हजार १२ बालबालिका अन्य कारणले विद्यालय आएका छैनन् ।

जिल्लामा कम बालबालिकाहरू विद्यालयबाहिर रहेका साबिकका मुख्य १० गाविसमा सूवर्णपुरमा १५, बगहीमा २२, बागवानामा २४, महुवनमा ३०, विन्दवासिनी ३५, सुपौली र ठोरी ४०/४०, बसडिल्वा र सेढवा ४६/४६ र हरिहरपुबिर्ता ५३ जना छन् । बढी बालबालिका विद्यालयबाहिर रहेका साबिका १० गाविसमा सम्भौतामा ३९३, लिपनीबिर्ता ३१३, बिरुवागुठी २४६, बहुअर्वाभाठा २३९, धोबिनी २३८, मसिहानी २२९, लालपर्सा २२७, चोर्नी २१९, बिजबनिया २०३ र प्रसौनीभाठामा २ सय बालबालिका छन् । निमित्त जिशिअ हरि राउत, शिक्षक महासंघका जिल्ला अध्यक्ष तीर्थराज यादव, जिससका योजना अधिकृत धर्मराज थापा, गैसस महासंघका जिल्ला अध्यक्ष छठु साहलगायतले विद्यालयबाहिर ठूलो संख्यामा बालबालिका हुनु सबैको चुनौती रहेको बताए । उनीहरूले यो दर घटाउन साझा प्रयास आवश्यक रहेको पनि बताए ।

प्रकाशित : श्रावण १, २०७४ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?