१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

प्रहरी बनेर अभियुक्त छुटाउन खोज्ने पक्राउ

रामेछाप — आफूलाई डीआईजी बताउँदै जिल्ला प्रहरी कार्यालयमा दर्ता मुद्दाका अभियुक्त छुटाउन दबाब दिने दिने पूर्वप्रहरी पक्राउ परेका छन् । खाँडादेवी गाउँपालिका–२ का ५२ वर्षीय मानबहादुर केसीलाई पक्राउ गरिएको हो ।

उनले आफूलाई नेपाल प्रहरीको डीआईजी सुदीप आचार्य दाबी गर्दै जिल्लाका प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेललाई फोन गरी सार्वजनिक अपराधमा पक्राउ परेका व्यक्ति छाडिदिन आदेश दिएका थिए । उमाकुण्ड गाउँपालिका–२ का दासोना भन्ने दावा सोनाम शेर्पालाई असार ४ गते प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरेको थियो । केसीले असार १७ र १८ गते फोन गरी शेर्पालाई छाडिदिन भनेका थिए ।

सुरुमै आफूलाई फोनमा ‘भाइ’ भनी सम्बोधन गरेका केसीलाई ढुंगेलले डीआईजी नै ठानेर ‘जय नेपाल’ भन्दै आदरपूर्वक कुरा गरेका थिए । तैपनि ढुंगेललाई मुद्दामा संलग्न व्यक्ति र डीआईजीको सम्बन्धबारे शंका पस्यो । त्यसै बेला फेरि केसीको फोन आयो । त्यति बेला ढुंगेलले ‘डीआईजी साबको नम्बर यो होइन’ भन्दा केसीले ‘अर्कोबाट गर्छु’ भन्दै हत्तपत्त लाइन काटे । लगत्तै ढुंगेलले डीआईजी आचार्यलाई सम्पर्क गरी मुद्दा र फोनमा आएको निर्देशनबारे कुरा गर्दा अर्कै व्यक्तिले फोन गरेको थाहा भइहाल्यो ।

शुक्रबार पक्राउ परेका केसीलाई हिरासतमा राखिएको छ । प्रहरीमा १९ वर्ष सेवा गरेका उनी पूर्वप्रहरी नायब निरीक्षक हुन् । केसीले यसअघि पनि धेरै प्रहरी अधिकारीको नाम लिएर यस्तै प्रकृतिका घटनामा आरोपीको पक्षमा काम गर्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?