कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जोगाइँदै गोटिहवाको जग्गा

कपिलवस्तु — क्रकुच्छन्द बुद्धको जन्मस्थान गोटिहवामा अतिक्रमित जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ । गौतम बुद्धले २९ वर्षको उमेरसम्म बिताएको ठाउँ तिलौराकोटमा जग्गा अधिग्रहण भइरहेका बेला गोटिहवामा पनि काम थालिएको हो ।

तत्कालीन भारतीय सम्राट अशोक तीर्थाटन गर्न आउँदा स्तम्भ बनाएका कारण गोटिहवा पनि बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण ठाउँका रूपमा चिनिन्छ । 
जग्गा प्राप्ति ऐन २०३४ अनुसार प्रजिअको संयोजकत्वमा रहेको समितिले बैठक बसेर प्रक्रिया अघि बढाएको हो । गोटिहवामा स्थानीयले पुरातत्त्व विभागका नाममा रहेको २ बिघा १९ धुरभन्दा बढी जग्गा अतिक्रमण गरी घर बनाएका छन् । १ सय ६० नम्बर कित्ताको सबै जग्गामा घर, खेत, खलिहान बनाइएको छ । १७ कट्ठा जग्गा मात्र तारबार लगाई संरक्षण गरिएको छ । बसिरहेकालाई उचित क्षतिपूर्ति दिएर जग्गा अधिग्रहण थालिएको प्रजिअ विष्णुप्रसाद ढकालले बताए । समितिले जग्गा अधिग्रहणका लागि लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीलाई प्रारम्भिक अधिकारी तोकेको छ । उनले गोहिटवा क्षेत्रमा जग्गा अधिग्रहणका विषयमा प्रशासनलाई प्रतिवेदनसमेत दिइसकेका छन् । स्थानीय स्तरमा भेला तथा छलफल गरी गाउँलेको रायसुझावसमेत राखेर प्रतिवेदन दिइएको उनले बताए । प्रशासनले गोटिहवाको जग्गा अधिग्रहणका विषयमा चासो राखेर पटक–पटक लुम्बिनी विकास कोषलाई पत्राचार गरेको थियो । 
कोषले ४ करोड विनियोजन गरेको जानकारीसहितको पत्राचार गरेपछि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको प्रजिअ ढकालले बताए । ‘स्थानीय तह निर्वाचन र आर्थिक वर्षको अन्त्य भएकाले केही ढिलाइ भयो,’ उनले भने, ‘अब मूल्य निर्धारण समितिलाई तदारुकताका साथ काम गर्न लगाई समयमै अधिग्रहण सक्छांै ।’ स्थानीयले घर बनाउँदा प्राचीन कुवालगायत पुरातात्त्विक संरचना नष्ट भएकाले जति सक्दो छिटो अतिक्रमण हटाउनुपर्ने उपासक तेजकुमार बौद्धाचार्यले बताए । चिनियाँ पैदलयात्री फायहानका अनुसार गोटिहवालाई क्रकुच्छन्द बुद्धले ज्ञान प्राप्त गरेपछि पिता–पुत्रले भेटघाट गरेको स्थलका रूपमा चित्रित गरेका छन् । गोटिहवाको अशोकस्तम्भको उचाइ १० फिट र परिधि ८ फिट ६ इन्च रहेको छ ।

प्रकाशित : श्रावण २, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?