बालबालिकाको बिचल्ली

कान्तिपुर संवाददाता

बाँके — श्रीमतीको हत्या गरी प्रहरीसामु आत्मसमर्पण गरेका कोहलपुर नगरपालिका–४ बेलनपुरका मोहम्मद अपताफ बेडुवाका ६ छोराछोरीको बिचल्ली भएको छ ।

उनका ११ वर्षीय सुनील खान, ८ वर्षीय सुशील खान, ७ वर्षीय तसलिम खान र छोरीहरू ४ वर्षीया बौरी खान, ३ वर्षीया सुष्मा खान र ३ महिनाकी गौरी अलपत्र परेका हुन् । स्थानीयका अनुसार श्रीमतीको हत्या र बुबा प्रहरीमा पुगेपछि बालबालिकाको बिजोग भएको छ । त्यस्तै कान्छी श्रीमती सालमा नाउ गर्भवती छिन् । उनकी ४ वर्षीया छोरी सोनी खान छिन् । घरको विवादले आवेशमा आएका २९ वर्षीय मोहम्मदले असार २८ गते राति जेठी श्रीमतीको हत्या गरेका थिए ।

ग्यास सिलिन्डर विस्फोट
धादिङ (कास)– धुनिबेंसी नगरपालिकाको रमाइलोचौरस्थित पुरुषोत्तम कँडेलको टहरामा आगलागी भएको छ । ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आइतबार अपराह्न ३ बजे आगलागी हुँदा अन्न, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएका छन् । झन्डै १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको खानीखोला स्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन निरौलाले बताए । स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । स्थानीयले प्रहरीलाई फोन गरेर घटनाको जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

द्वन्द्वपीडितलाई राहत
नुवाकोट (कास)– स्थानीय शान्ति समितिको सिफारिसमा जिल्लाका साढे आठ सय द्वन्द्वपीडितलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले १२ करोड ३३ लाख ८० हजार रुपैयाँ वितरण गरेको हो । ८ सय ५५ पीडितलाई राहत वितरण गरिएको प्रजिअ जगदीशराज बरालले बताए । राज्य र विद्रोही पक्षबाट मारिएकाका १ सय ८७ परिवारलाई ५० हजारका दरले रकम उपलब्ध गराइयो । त्यस्तै मारिएका २१ सुरक्षाकर्मीका परिवारलाई डेढ लाख रुपैयाँका दरले उपलब्ध गराइएको छ ।

बन्दीपुरमा पूर्वाधार निर्माण हुँदै
तनहुँ (कास)– आन्तरिक तथा बाहिरी पर्यटक बढाउनका लागि बन्दीपुरमा पदमार्गलगायतका पूर्वाधार निर्माण थालिएको छ । पर्यटन विकास समिति बन्दीपुरले सरकारको वातावरणमैत्री स्थानीय शासन कार्यक्रममार्फत टुँडिखेल व्यवस्थापन कार्यक्रमसहितका अभियान सञ्चालन गरेको हो । ‘एकपटक आएका पर्यटकलाई पटकपटक आउने बनाउन केही कार्यक्रम थालेका छौं,’ समिति अध्यक्ष बयस गुरुङले भने, ‘पर्यटकले चाहेका र मन पराउने प्याकेज भएमा मात्र दोहोरिएर आउने बढ्छन् ।’ गर्मी छल्नका लागि आउने पर्यटकलाई धेरै दिन बस्ने बनाउन दीर्घकालीन योजना बनाइएको उनले बताए ।

प्रकाशित : श्रावण २, २०७४ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

“संगीतमा आफ्नोपन जोगाउनुपर्छ”

मधु शाही

काठमाडौं — ‘पहेँलो दाल छ भने पाऊँ न,’ खानासित हरियो खुर्सानी कुटुक्क टोक्दै भारतीय गायक कुमार सानुले भने, ‘नेपाली खाना खुब मनपर्छ ।’

कुमार सानुका नेपालमा पनि असंख्य फ्यान छन् । उनी भने नेपाल, नेपाली र यहाँको संस्कृतिको फ्यान रहेछन् । शनिबार एउटा कन्सर्ट सकेर आइतबार मन बहलाउन थानकोटस्थित चन्द्रागिरि पुगेका गायकले प्राकृतिक दृश्यको भरपूर आनन्द उठाए । ‘खानपिनमा निकै सोखिन छु,’ मध्याह्नको समय चन्द्रागिरि थुम्कामा खाना खाँदै उनले भने, ‘नेपाली परिकार साह्रै मनपर्छ । नेपाली कल्चर त भुल्नै सक्दिनँ ।’

‘नेपाली संगीत, नेपालीका श्रोतासँगको प्रगाढ नाता रहेको’ बताउने यी बंगाली गायकले पहिलो पटक पश्चिम बंगालको सिलिगुडीको एउटा होटलमा गीत गाउँदाको क्षण सम्झिए । उनले त्यहाँ नेपाली अडियन्सका लागि भनेर नारायण गोपालको गीत गाएका थिए रे । भने, ‘नेपाली संगीतको मेलोडी अत्यन्त मन छुने लाग्छ ।’
सन् ९० को दशकमा बलिउडमा चम्किएका कुमारले नेपाली भाषाका पनि धेरै गीत रेकर्ड गरेका छन् ।

‘उस बेलाका गीत नै बेग्लै थिए,’ उनले परिकारको स्वाद लिँदै भने, ‘अचेल खानामा त मिलावट हुन थाल्यो, संगीतको झन् के कुरा गर्नु ?’

प्रत्येक मुलुकको आफ्नै मौलिक संगीत हुने भन्दै उनले त्यसलाई जोगाउन संगीतकर्मीहरू सचेत हुनुपर्ने बताए । भने, ‘नेपाली संगीत पनि आफ्नै पाराको हुनुपर्छ, रहनुपर्छ । सस्तो लोकप्रियताका लागि अर्थहीन र मर्मविहीन गीत गाउनु समाजकै लागि हानिकारक हुन्छ । खराब गाना र खराब शब्दबाट टाढै हुनुपर्छ । भारतमा यस्ता गीतले समाज नै बिगारिसके । बलिउडको यस्तो कुप्रभाव नेपालमा नपरोस् भन्ने चाहन्छु ।’

पछिल्लो समय युवा पुस्तामा सस्तो लोकप्रियता खोज्ने प्रचलन बढ्न थालेको र बजारको पछि मात्रै लाग्ने संगीतकर्मी कुशल नहुने उनले औंल्याए । ‘आफ्नोपन झल्काउन आफैंले मेहनत गर्नुपर्छ,’ उनले भने, ‘कुमार सानु बन्न मैले धेरै पापड बेल्नुपरेको छ । बजारकै पछाडि लागेको भए सायद मेरो अस्तित्व क्षणिक हुन्थ्यो कि ?’

कुमारका अनुसार, संगीत पनि उक किसिमको ‘थेरापी’ हो । त्यसैले जुनसुकै गीत मर्मस्पर्शी र सार्थक हुनुपर्छ । विभिन्न भाषाभाषीका गरी २५ हजारभन्दा बढी गीत गाइसकेका ५९ वर्षे गायकले सुनाए, ‘अचेल गाउनकै लागि गाइदिने प्रचलन हावी हुन थालेको छ ।’

कुमारले चन्द्रागिरिमा भालेश्वर मन्दिरमा दर्शनपूजन गरे । रुद्राक्षको माला लगाई केही समय प्रार्थनामा मग्न देखिए । चन्द्रागिरिबाट वरिपरिको प्राकृतिक दृश्य नियाल्दै उनले थपे, ‘नेपाल पवित्र स्थल हो ।’ उनी सोमबारै भारत फर्किंदै छन् ।

‘उस बेलाका गीतै बेग्लै थिए । अचेल खानामा त मिलावट हुन थाल्यो, संगीतको झन् के कुरा गर्नु ?’

प्रकाशित : श्रावण २, २०७४ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्