सडक दुर्घटनामा साहित्यकार विकास केसीको मृत्यु

अमृता अनमोल

बुटवल — सडक दुर्घटनामा परी लेखक तथा साहित्यकार विकास केसीको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवलको धागो कारखाना अगाडि बसको ठक्करबाट घाइते केसीको उपचारका क्रममा आज बिहान भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।

आइतबार साँझ बुटवलबाट देवदहतर्फ जाँदै गर्दा केसी सवार लु १० प २३१९ नम्बरको मोटरसाइकललाई उही दिसाबाट गइरहेको लु १ ख ९४६२ नम्बरको बसले ठक्कर दिएको थियो ।

ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ५५ वर्षे केसी मालेमा अध्ययन केन्द्रका अध्यक्ष, प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष ,नागरिक मञ्चका महासचिव ,बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका सदस्य थिए ।

प्रकाशित : श्रावण २, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्

नि:शुल्क जाँच्न इन्कार

भेरी अञ्चल अस्पतालले जाँच र औषधि नि:शुल्क गर्न नमानेपछि संकलित ५ सय रक्त नमुना अलपत्र
ठाकुरसिंह थारू

बाँके — सिकलसेल एनिमियापीडितलाई नि:शुल्क उपचारका लागि सरकारले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा छुट्टै केन्द्र स्थापना गरे पनि अस्पतालले रगत जाँच्नै इन्कार गरेको छ । सुरुसुरुमा मेसिन बिग्रिएको बहाना देखाएको अस्पतालले अहिले सिकलसेलमा नि:शुल्क सेवा दिन नसकिने जनाएको छ ।


यो रोग थारू समुदायमा महामारीका रूपमा देखिँदै आएको छ । सरकारले प्रभावित पहिचान गर्न थारू समुदायमा नमुना रगत संकलन कार्यक्रम ल्याएको छ । रोग पहिचानपछि एक लाख रुपैयाँबराबरको उपचार सेवा नि:शुल्क उपलब्ध गराउने सरकारी नीति छ । तर, अस्पतालले नि:शुल्क जाँच्न इन्कार गरेपछि संकलित करिब ५ सय रगत नमुना अलपत्र अवस्थामा छ । जिल्ला जनस्वास्थ्य कार्यालयले रगत संकलन गरी अञ्चल अस्पताल पठाएको हो ।

अस्पतालले सुरुमा सिकल जाँच गर्ने मेसिन बिग्रिएको जनाउँदै आएको थियो । तर, प्राविधिक टोलीले जाँच गर्दा मेसिन ठीकठाक देखिएपछि अस्पतालले आवश्यक रसायन सकिएको दाबी गर्‍यो । जनस्वास्थ्यले रसायनसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि बल्ल अस्पतालका सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दले नि:शुल्क जाँच गर्न नसक्ने जवाफ फर्काए । ‘सरकारले सिकलसेलका लागि ल्याएको कार्यक्रम हाम्रो होइन, हामीसँग फन्डिङ छैन । कार्यक्रम जनस्वास्थ्यको हो, उसैले गर्नुपर्‍यो,’ उनले कान्तिपुरसँग भने, ‘भेरीले किनेको औषधिबाट नि:शुल्क जाँच गर्न सक्दैनौं । रि एजेन्टले फ्री गर्न मान्दैन । जाँचका लागि एक हजार रुपैयाँ लिने गरेका छौं ।’

पश्चिम तराईका थारूमा सिकल जाँच र औषधि उपलब्ध गराउन भेरी अस्पतालमा ल्याबसहितको सेन्टर स्थापना गरिएको छ । तर, अस्पतालले नि:शुल्क सेवा दिन आनाकानी गरेपछि सरकारी कार्यक्रम प्रभावित हुने भएको छ । जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत खिमबहादुर खड्काले उक्त कार्यक्रम सरकारकै भएका कारण अञ्चल अस्पतालमा रगत जाँच गर्न पठाएको बताए । ‘सिकल जाँचका लागि सरकारले भेरीमा ल्याब स्थापना गरेको छ । जाँचका लागि आवश्यक सामग्री हामी उपलब्ध गराउँछौं,’ उनले भने, ‘अञ्चल अस्पतालले रगत जाँच्न इन्कार गर्नुको कारण बुझ्न सकिएको छैन ।’ उनले रगत जाँचका लागि आवश्यक सामग्री पठाइदिन केन्द्रीय प्रयोगशालासँग माग गरेको बताए ।

बैजनाथ–१ की १९ वर्षीया सन्तोषी चौधरीलाई शरीर दुख्ने व्यथा बल्झिरहेपछि चिकित्सकले सिकलसेल एनिमियाको जाँच गर्न सुझाए । उनले गाउँमै आएका स्वास्थ्यकर्मीसँग आफ्नो रगत नमुना पठाइन् । सोही गाउँकी २३ वर्षीया मञ्जु चौधरी, बैजनाथ–४ का रोमसिंह थारूले पनि रगत नमुना दिएका छन् । बैजनाथ र राप्ती सोनारी गाउँपालिकाका थारू समुदायबाट ५ सय व्यक्तिको रगत नमुना संकलन गरिए पनि अहिलेसम्म जाँच हुन सकेको छैन ।

झन् फैलिँदै
थारू समुदायमा यो रोग भुसको आगोजसरी फैलिरहेको छ । सिकलसेल ग्रस्त पतिपत्नीले जन्माएकामध्ये २५ प्रतिशत सन्तान पूर्ण प्रभावित, ५० प्रतिशत रोगी र २५ प्रतिशत मात्रै स्वस्थ हुने गरेको पाइन्छ । पूर्णरूपमा रोग लागेकाको अकालैमा मृत्यु हुने गरेको छ । जन्मिँदै प्रभावित ५० प्रतिशतले बिहेबारी गर्दा बच्चामा पनि त्यो रोग सर्छ । त्यस्तै, पति वा पत्नीमध्ये एक जना मात्रै उक्त रोगबाट पीडित छन् भने उनीहरूबाट जन्मिने सन्तान २५ प्रतिशत रोगी र ७५ प्रतिशत स्वस्थ हुने भएकाले बिहेबारीअघि रगत परीक्षणका लागि चिकित्सकले सुझाव दिँदै आएका छन् । बेलैमा रोग पहिचान हुन सके सिकलसेल प्रभावित दम्पतीले सन्तान जन्माउने/नजन्माउने सल्लाह गर्न समय पाउँछन् ।

रोग पत्ता नलाग्दै ५ वर्षमुनिका ५० प्रतिशत बालबालिकाको ज्यान जाने गरेको भेरी अञ्चल अस्पताल नेपालगन्जका फिजिसियन डा. राजन पाण्डे बताउँछन् । उक्त रोग पुस्तान्तरण हुँदै गएकाले समस्या बल्झेको उनको भनाइ छ । १५ देखि २५ वर्ष र ६० वर्षका वृद्धवृद्धामा समेत सिकलसेल पाइएको छ । यो रोग लागे पनि लक्षण अन्तिम चरणमा मात्र देखिने भएकाले अरूभन्दा खतरा मानिन्छ । रोगको लक्षण नदेखिँदै बिहेबारी भई बच्चासमेत जन्मिसक्ने भएकाले नयाँ पिढीमा सर्दर्ै गएको डा. पाण्डेले बताए । स्वास्थ्य अनुसन्धान परिषद्सँग मिलेर त्रिभुवन विश्वविद्यालय ट्रफ अनुसन्धान प्रयोगशालाले हालै गरेको अनुसन्धानपछि समयमै सवधानी नअपनाए मुलुकले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएको छ । पश्चिम नेपालका अविवाहित थारू महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशतमा सिकलसेल हेटेरोजाइगोस ट्रेट भेटिएको र ०६८ को थारू समुदायको जनसंख्याका आधारमा ३ लाख बढी व्यक्तिमा सिकलसेलका संकेत पाइएको अनुसन्धानले देखाएको छ ।

के हो सिकलसेल ?
सन् २००३ मा दुई व्यक्तिमा उक्त रोग भेटिएको थियो । रूपन्देही पश्चिमका दाङ, बर्दिया, कञ्चनपुर र कैलालीमा पुस्तौंदेखि एकै स्थानमा बस्दै आएका थारू समुदायमा मात्रै संक्रमण देखिएको छ । दक्षिण अफ्रिका, अमेरिका, भारतको मध्यप्रदेशलगायत क्षेत्रमा बसोबास गर्दै आएका आदिवासीमा समेत सिकलसेल एनिमिया रोग भेटिएको छ । यद्यपि सिकलसेल लागेकालाई औलो रोग लाग्ने सम्भावना भने कम हुन्छ ।

दशकयता पश्चिम तराईका जिल्लामा बिरामीको संख्या बढ्दै गएको छ । वंशाणुगत रोग भएकाले आमाबुवाबाट सन्तानमा सर्छ । गोलो आकारको रक्तकोष हँसिया आकारको हुनुलाई चिकित्सकले सिकलसेल एनिमिया भन्छन् । बिरामीमा शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जन्डिस, रक्तअल्पता र निमोनियाँ देखिने उनीहरू बताउँछन् । रोग पहिचान हुन नसक्दा अधिकांशले बाथ, युरिक एसिड, हाडजोर्नी र नसा रोगको औषधि सेवन गरिरहेको पाइन्छ । नेपालगन्जमा हालसम्म सिकलसेलका ५ सयभन्दा बढी बिरामी पहिचान भइसकेको अञ्चल अस्पतालका फिजिसियन डा. पाण्डे बताउँछन् ।

औषधि नि:शुल्क तर सधैं अभाव
सरकारले नि:शुल्क घोषणा गरे पनि भेरी अञ्चल अस्पतालमा औषधि नै नियमित पाइँदैन । एक सातायता अभाव झन् चर्किएको छ । बिरामीहरू सीमावर्ती बजार रुपैडिहा गएर औषधि किन्न बाध्य छन् । हाइड्रोक्स युरिया नामक औषधि प्रतिटयाब्लेट १० रुपैयाँमा किन्नुपरेको उनीहरूको गुनासो छ ।

फिजिसियन डा. पाण्डेले सिकलसेलको औषधि सधैंजसो अभाव हुने गरेको बताए । ‘कहिले हुन्छ, कहिले हुँदैन । प्राय: अभाव नै देखिन्छ,’ उनले भने, ‘बिरामीले सहजै पाएका छैनन् ।’ अस्पतालका सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दले औषधि नियमित आपूर्ति नहुँदा अभाव भएको बताए । उनले बिरामीलाई नि:शुल्क औषधि उपलब्ध गराइएको बताए । ‘तर, नियमित औषधि आउँदैन । त्यसैले सबै बिरामीलाई उपलब्ध गराउन नसकिएको हो,’ उनले भने, ‘औषधिको पर्याप्तता आपूर्तिमानिर्भर रहन्छ ।’

जिल्ला जनस्वास्थ्य प्रमुखखड्काले अस्पतालको फार्मेसी शाखाले भारतका विभिन्न कम्पनीबाट सम्झौता गरी औषधि ल्याउने गरेको बताए । तर, सिकलसेलका बिरामीका लागि औषधि खरिद गर्न ढिलाइ गर्दा अभाव भएको हुन सक्ने उनको भनाइ छ ।

यस वर्ष पहिलोपटक जिल्ला जनस्वास्थ्यले सिकलसेलको औषधि खरिद गरेको खड्काले जानकारी दिए । ‘हामीले खरिद गरेको औषधि नेपालगन्ज आइसकेको छ । आवश्यकताअनुसार अस्पताल र स्वास्थ्यचौकीले लैजान सक्नेछन्,’ उनले भने, ‘अब अभाव हुने छैन ।’

प्रकाशित : श्रावण २, २०७४ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्