कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पदभार ग्रहणसँगै सुकुम्बासीलाई घर नम्बर दिने धरानका मेयरको निर्णय

प्रदीप मेन्याङ्बो

धरान — धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले सोमबार पदभार ग्रहण गर्दै धरानमा रहेका अव्यवस्थित सुकुम्बासीलाई घर नम्बर दिने र जग्गा धनिपुर्जाका लागि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहणसँगै सुकुम्बासीलाई घर नम्बर दिने धरानका मेयरको निर्णय

सुकुम्बासीलाई घर नम्बर दिने र जग्गा धनिपुर्जाका लागि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय गर्ने मुलुककै पहिलो स्थानीय तह धरान उपमहानगरपालिका बनेको छ ।

धरान उपमहानगर क्षेत्रमा कुल जनसंख्याको २५ प्रतिशत अर्थात ४० हजार बढी सुकुम्बासी परिवार बस्ने गरेका छन् । मेयर सुब्बाले निर्णय पुस्तिकामा हस्ताक्षर गर्दै भने, ‘धरानको समस्याको रुपमा रहेको सुकुम्बासीको अव्यस्थित बसोबासलाई व्यबस्थित बनाउन जरुरी देखिएकाले पहिलो निर्णय गरिएको हो । सुकुम्बासी पनि यही समाजका अंग भएकाले उनीहरुको सामाजिक, आर्थिक, पारिवारिक समृद्धि हुनु भनेको समग्र धरानको समृद्धि हो ।’

मेयर सुब्बाले धरानको अर्को मुख्य समस्याको रुपमा रहेको बसपार्क व्यबस्थापन गर्नकालागि धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा नया बसपार्क निर्माण गर्ने पनि निर्णय गरेका छन् । सवारी साधनको बढ्दो चाप र पैदल यात्रुको भिडले भानुचोक घण्टाघर परिसरको बसपार्क सांघुरिएकाले विकल्पमा तीनकुने सुन्दर बस्ती विकास आयोजनामै नया बसपार्क निर्माणको विकल्पन नरहेको बताए ।

धरानका २० वटै वडाका वडाध्यक्षहरुसहित बसेको पहिलो बैठकले धरानको क्रमिक विकासकालागि दीर्घकालिन आयोजना र अल्पकालिन आयोजनाको गुरु योजना बनाउने र आर्थिक श्रोत जुटाउन पर्यटकीय हव सेन्टर स्थापनाका गर्ने निर्णय पनि गरेको छ ।

नगरका सडक, ढल, सामुदायिक भवन, पुलपुलेसाको मर्मत सम्भारकालागि कम्तिमा एक करोड रुपैयाको कोष बनाएर आवश्यकता अनुसार मर्मत सम्भारमा खर्च गर्ने निर्णय गरेको छ ।

यसैगरी नवनिर्वाचित उपमेयर मन्जु भण्डारी सुवेदीले पनि पदभार ग्रहणसँगै धरानलाई लैङ्गीक मैत्री सहरको रुपमा विकास गर्न रणनिति बनाउने बताइन् । उनी आफैँ पनि पहिले महिला अधिकार र सिमान्तीकृत समुदायको न्यायमा पहुच विषयमा अभियन्ता भएर काम गर्दै आएकी थिइन् । उनले भनिन, ‘नगरको विकास निर्माणसँगै लैङ्गीक मैत्री सहरको नमूना बनाउने योजनालाई अगाडि बढाउन सवै वडासंग समन्वय गरेर निचोडमा पुग्ने छौं ।’

उनले लैगिक मैत्री शहर भएपछि असंगठित क्षेत्रमा कार्यरत महिला कामदारहरुले पनि धरानमा सुरक्षित वातावरणमा समान कामको समान ज्याला पाएर आर्थिकरुपमा सवल बन्न सक्ने बताइन् ।

प्रकाशित : श्रावण २, २०७४ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?