३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पत्रकारितामा दलित युवाको आकर्षण

रविन्द्र उप्रेती

गौशाला (महोत्तरी) — पत्रकारिता के हो ? लक्ष्मिनियाँकी सरिकुन खातुनलाई यसको जवाव थाहा छैन । तर आजको सञ्चार युगमा पत्रकारिताबिना समाजमा परिवर्तन गर्न नसकिने उनको धारणा छ ।

पत्रकारितामा दलित युवाको आकर्षण

रोडियो गौशालाले आयोजना गरेको ३ दिने आधारभूत पत्रकारिता तालिमको शनिबार समापन समारोहमा उनले समुदायमा व्याप्त अशिक्षा, अन्धविश्वास, घुम्टो प्रथा, तलाकजस्ता कुरीति हटाएर महिलालाई अधिकार सम्पन्न र सिमान्तकृत समुदायमा लोकतन्त्रको अनुभूति गराउन सकिने विश्वासले आफू यो तालिममा सहभागी भएको धारणा राखिन् । सप्तरीको रुपनगर माईत भएकी सरिकुन १२ कक्षा उतीर्ण छिन् ।

समुदायको संकुचित पर्खाल नाघ्दै पत्रकारिता तालिममा सहभागी सरिकुन यस भेगकी सम्भवत. पहिलो मुस्लिम महिला हुन् । उनमा पत्रकारिताप्रति झुभाव देखिन्छ । उनको यस उत्साहमा पति अल्ताफ मन्सुरले पनि साथ दिएपछि उनलाई अब पत्रकारिता क्षेत्रमा प्रवेश गर्न कुनै बाधाले रोक्न नसक्ने विश्वास छ । भन्छिन् ‘अवसर र साथ पाए भने पत्रकारिताको माध्यमले मुस्लिम महिलाको समस्या उजागर गरेर राज्यको ध्यानाकृष्ट गर्छु ।’

ग्रामीण भेगबाट बच्चा बोकेर पत्रकारिता सिक्न आउने सरिकुन एक्लि छैनन । मुसहर समुदायकी सन्जु सदा पनि दुधे बच्चा बोकेर तालिममा सहभागी भइन् । दुवै एकैगाउँका हुन् । उनी पनि पति मनोजसाथ आउँथिन् । आफू तालिममा बस्दा मनोजले बच्चा बोकेर सघाउँदै आएका थिए । तर, शुक्रबार राति अकस्मात बच्चा बिरामी परेपछि उपचारमा जानु परेकोले सन्जु तेस्रो दिन प्रशिक्षणमा सहभागी हुन सकिनन् । भन्छिन् ‘बच्चाले गर्दा सपना अधुरै रह्यो । तर अवसर पाए फेरि अर्को तालिम लिएर पत्रकारिता गर्ने उत्साह भने मरेको छैन ।’

प्रक्षिणमा सहभागी अर्की दलित महिला शीला महरा चमार समुदायको प्रतिनिधित्व गर्छिन् । यसैवर्ष एसईई उतीर्ण गरेकी उनी आफ्नो समुदायमा घुम्टो र दाइजो प्रथा, बालविवाह, अशिक्षाजस्ता थुप्रै विकृति रहेको बताउँछिन् । उनलाई गाउँ पश्मिमको बाँके खोलालाई केही वर्गले खुला शौचालय बनाएकोमा आक्रोश छ । तर त्यसविरुद्ध कसैले आवाज नउठाइदिएकोमा अब पत्रकारिताको माध्यमले यी समस्या उजागर गर्ने उनको अठोट छ ।
 
उनको अनुभवमा अव नेता मन्त्रीको कुरा मान्छेले पत्याउन छाडिसके । तर रेडियो, टीभीमा समाचार भने सबैजसोले सुन्ने गर्छन् । पढेलिखेकाले पत्रिका पनि किनेर हेर्छन् । त्यसले गर्दा पनि पत्रकारिताले आफ्नो ध्यान खिचेको बताउँछिन् । ‘पत्रकार बन्न पाए भने यी समस्याबारे रेडियोमा समाचार पढ्छु, बस्ती र खोलालाई खुला दिसामुक्त बनाउन यस्ता असभ्यहरुको फोटो खिचेर छपाउँछु...’ उनले भन्दै गइन् ।

त्यस्तै नवीना विक, पुष्पा परियार, रिङ्कु पासवान, ऋतु पासवानजस्ता सहभागीले चेलीबेटी बेचविखन, सामाजिक थिचोमिचो, छुवाछुत, महिला यातनाजस्ता समस्याबारे समाचार लेखेर चेतना जगाउन पत्रकारिता प्रशिक्षणमा सहभागी भएको जनाए । समापन समारोहका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले पत्रकारिता क्षेत्रमा युवापुस्ताको आकर्षण र उत्साहले लोकतन्त्र मजबुत हुने धाराण राखे ।
 
प्रशिक्षणमा दलित र महिला मात्र नभएर राजपा नेपालका युवानेता दीपलाल सिंह पनि सहभागी थिए । उनले पत्रकारिताको ज्ञान र सीप भएका नेता, कार्यकर्ताले मात्र गरिब, निमुखा, पिछडिएका वर्ग र आवाजविहीनका आवाजलाई पहिचान गरी उनीहरुको उत्थानमा नीति निर्माण र ठोस कदम चाल्न सकने धारणा राखे ।
 
आयोजक रेडियो गौशालाका सञ्चालक दिनेश महतोकाअनुसार साविक भरतपुर र लक्ष्मिनिया गाविसले आर्थिक सहयोग पुर्‍याएको प्रक्षिणमा ३१ सहभागीमध्ये १० महिला थिए । अधिकांश महिला दलित समुदायका रहेको महतोले जनाए । 

प्रकाशित : श्रावण ४, २०७४ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?