१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

१४० जना बहिरा विद्यार्थीका लागि भवन निर्माण सुरु

प्रदीप मेन्याङ्बो

धरान — सांकेतिक भाषामा अध्ययन गर्न चाहने पूर्वका बहिरा विद्यार्थीलाई नि:शुल्क आवासीय छात्राबास सुविधा दिएर पठानपाठन गराउन धरानस्थित पूर्वाञ्चल बहिरा विद्यालयले कुल लागत १ करोड ४२ लाख ५० हजार रुपैयाँमा सुविधासम्पन्न भवन निर्माण सुरु गरेको छ ।

१४० जना बहिरा विद्यार्थीका लागि भवन निर्माण सुरु

धरान–१६ जनपथस्थित सनमार्ग लुपमा निर्माण सुरु भएको भवनको शिलान्यास शुक्रबार सुस्त श्रवण कल्याण संघका सहनिर्देशक बलरामदास डंगोलले गरिसकेका छन् । कुल लागतमध्ये ८३ लाख रुपैयाँ शिक्षा मन्त्रालयले उपलब्ध गराएको हो भने १७ धुर जग्गा किन्ने रकम अमेरिकन दातृसंस्था द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन (टिआरआइएफसि)का बोर्ड सदस्य रोज स्टेफन, त्यसका अध्यक्ष रवर्ट रोज र सदस्य जोनले सुस्त श्रवण कल्याण संघमार्फत उपलब्ध भएको विद्यालयकी प्रधानाध्यापक रेनु बुढाथोकीले बताइन् । उनका अनुसार सहरी विकास तथा भवन निर्माण विभागले माटो परीक्षणपछि भूकम्प प्रतिरोधी तीन तले भवन डिजाइन गरेको छ । भवन निर्माणपछि पुरानो भवनसहितका गरी १ सय ४० जना बहिरा बालबालिकाले अध्ययन गर्न सक्ने उनले बताइन् ।

खाने, बस्ने, स्कुल पोशाक, भर्ना, मासिक शुल्क केही पनि नलाग्ने भएकाले अभिभावकहरु आफ्ना बहिरा बालबालिकाहरुलाई धरानकै विद्यालयमा पढाउन चाहने गरे पनि भवन नहुँदा भर्ना हुन आउनेमध्ये महिनामा १० जनालाई विराटनगर र काठमाडौंमा लैजान भन्नु परेको बुढाथोकीले बताइन् । विद्यालयमा हाल ६३ जना रहेकामा ५० जनालाई मात्र आवासीय सुविधा दिन सकिएको छ ।
भवन शिलान्यास गर्दै सुस्त श्रवण कल्याण संघका सहनिर्देशक बलरामदास डंगोलले अन्य बालबालिकासरह बहिरा बालबालिकाले पनि व्यावहारिक शिक्षा सहज रुपमा पाउन सके उनीहरु यो समाजको भार नभएर मुलुक परिवर्तन गर्ने योग्य नागरिक बन्न सक्ने बताए ।

आगामी ६ महिनाभित्रमा बहिरा छात्रावासको भवन निर्माण सक्ने लक्ष्य रहेको सुनसरी जिल्ला शिक्षा कार्यालयका इन्जिनियर प्रेमकुमार पाण्डेले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम बूढाथोकीले बहिरा बालबालिकाका लागि नेपालको नमुना बहिरा विद्यालय बनाउने लक्ष्य रहेको बताए ।

प्रकाशित : श्रावण ६, २०७४ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?