गागन खोलामा बाढीमापन यन्त्र

भरत जर्घामगर

सिरहा — मनसुन सक्रिय हुँदै जाँदा आउने बाढीबाट जोगाउन सिरहाको गागन खोलामा शुक्रबारदेखि जल तथा मौसम विज्ञान विभागले खतराको संकेत जनाउने बाढी मापन यन्त्र जडान गरेको छ ।

गागन खोलामा बाढीमापन यन्त्र

इसिमोडको प्राविधिक सहयोगमा विभागले पुर्व पश्चिम राजमार्गस्थित सिरहाको गागन र महोत्तरीको रातु खोलामा बाढीमापन यन्त्र जडान गरेको हो । सिरहाको गागन खोलाले जिल्लाको दक्षिणवर्ती क्षेत्रमा वर्षेनी बढी दर्जनौं बस्तीमा क्षति पुर्‍याउँदै आएकाले सो खोलामा यन्त्र जडान गरिएको इसिमोडका जल अनुकुलन विज्ञ सुन्दर राईले जानकारी दिए ।

उनका अनुसार चुरेबाट बाढी आउने र त्यसको प्रभावबाट सिरहाका दक्षिणी क्षेत्र डुबान पर्ने जोखिमलाई न्युनिकरण गर्न यन्त्रले खतराको संकेत गर्दछ । ‘दुई मिटरभन्दा माथि बाढीको प्रवाह पुगे बाढीमापन यन्त्रसँगै जडान गरिएको यन्त्रले खोलाको पुलनजिकै रहेको घरमा राखिएको सूचना केन्द्रलाई खतराको संकेत दिन्छ’ जल अनुकुलन विज्ञ राईले भने ‘खतराको संकेत पाउने बित्तिकै सूचना केन्द्रले प्रभावित गाउँहरुमा खबर पुर्‍याउँछ ।’

जिल्ला दैवी प्रकोप उद्धार समिति सिरहाले जिल्लाको गागन, घुर्मी, कमला र बलानमा बाढीमापन यन्त्र जडान गर्न केन्द्रीय दैवी प्रकोप उद्धार समितिलाई आग्रह गर्ने निर्णय गरेको थियो । 

‘चुरेबाट निस्किएको खहरे खोलाले मनसुनको बेला विगतमा बढी मात्रामा वस्तीहरु डुबान गरेको देखिएको छ’ सिरहाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले भने ‘बाढीको जोखिम देखापर्ने बित्तिकै केन्द्रीय निकायलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालयमा राखिएको प्रकोप नियन्त्रण कक्षलाई पनि यसपटक क्रियाशील बनाइएको छ ।’

प्रकोप नियन्त्रण कक्षले गागनका अतिरिक्त जिल्लाभित्रका अन्य खोलानदीबाट सिर्जित जोखिमबारे शीघ्र सूचना लिने र सरोकारवाला निकायलाई खबर गरी प्रकोप व्यवस्थापन तथा जोखिम न्यूनिकरण गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ६, २०७४ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?