कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिथिलाञ्चलमा शुक्रबार मनाइएन रक्षाबन्धन

कान्तिपुर संवाददाता

जनकपुर — राजधानीलगायत मुलुकका पहाडी भूभागमा शुक्रबार रक्षाबन्धन मनाइए पनि मिथिलाञ्चलमा भने साउन २३ गते मात्रै मनाइने भएको छ । यहाँका गुरु–पुरोहित तथा ज्योतिषहरुले मिथिलाको प्राचिन परम्परा एवं मिथिला पञ्चाङ्गमा उल्लेख भएअनुसार साउन पूर्णिमा अर्थात् साउन २३ गते रक्षाबन्धन पर्व मनाउन उद्घोष गरेका छन् ।

ज्योतिष सुरेश पाण्डेका अनुसार–जनकपुरसहित मिथिलाञ्चलका कुनै पनि परिवारमा शुक्रबार रक्षाबन्धन पर्व मनाएको सूचना प्राप्त भएको छैन । जानकी मन्दिरमा साउन शुक्ल पञ्चमीदेखि सुरु हुने झुलनोत्सवको समाप्ति पछि, रक्षाबन्धन पर्व मनाउने परम्परा रहँदै आएको छ । झुलनोत्सव साउन पूर्णिमाको पूर्वसन्ध्यामा समाप्त हुँदैछ । झुलनोत्सवको अवसरमा जानकी मन्दिरमा भएका राम, लक्षण, भरत, शत्रुघ्न तथा सीता, उर्मिला, माण्डवी र श्रुतिक्रृतिको प्रतिमालाई आकर्षक झुलामा राखी झुलाउने गरिन्छ ।

जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले भने– 'जनकपुरको परम्परा अनुसार पनि साउन पूर्णिमाको दिन रक्षावन्धन पर्व मनाउनु पर्ने हो ।'
पण्डित सुरेश पाण्डेका अनुसार साउन पूर्णिमाको राति चन्द्रग्रहण पर्ने भए पनि रक्षाबन्धन गर्न कुनै समस्या हुँदैन । उनले भने–‘चन्द्रग्रहण अबेर राति हुन्छ, जबकि रक्षाबन्धन बिहानै गरिन्छ ।'

यसबीच मुलुकमा धार्मिक तिथिसम्बन्धी निर्णय गर्ने पञ्चाङ्ग निर्धारण समितिले मिथिलाञ्चलको रीतिरिवाज तथा परम्परालाई बेवास्ता गरेको भन्दै स्थानीय पण्डितहरुले आलोचना गरेका छन् । पण्डित देवेन्द्र मिश्रले यस भेगमा रक्षाबन्धन पर्व मनाइने साउन २३ गते पनि सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।

प्रकाशित : श्रावण १३, २०७४ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?