२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सदरमुकाम नै डुब्छन्

बाढी र डुबान समस्या
कान्तिपुर संवाददाता

काठमाडौं — हल्का वर्षा हुनासाथ मध्य तथा पश्चिम तराईका जिल्लामा डुबान सुरु हुन्छ। यहाँ गाउँ मात्र होइन सदरमुकाम नै डुब्छन्। सडक किनारमा नाला व्यवस्था नभएकाले बजार डुब्ने गरेका हुन्।

यसपटक स्थानीय तह चुनावमा धेरै दलले घोषणापत्रमा बजार क्षेत्रलाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेका छन्। तर, आधारभूत पूर्वाधारसमेत तयार नभएको अवस्थामा घोषणा कार्यान्वयन सहज छैन। 

कपिलवस्तुको सदरमुकामस्थित मुख्य बजारको राधाकृष्ण मन्दिरअघि र आनन्दबागको समयमाई मन्दिर डुबानमा पर्छ। गौडीचोक र नयाँटोलमा सडक जलमग्न हुन्छ। गौडीचोकका वसन्त महराले भने, ‘आवतजावतमा समस्या हुन्छ। कतिपय गरिब विपन्नका घरभित्रै पानी पुग्छ।’ तौलिहवाबाट पूर्व–पश्चिम आउजाउ गर्ने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। ‘पैदलयात्रुले सास्ती खेप्नुपर्छ,’ स्थानीय शंकर श्रेष्ठले भने, ‘हिँडिरहेका बेला चारपांग्रे गाडी आयो भने हिलाम्मे हुन्छ।’ आनन्दबागकी पूजा गुप्ताले ३० वर्षदेखि यस्तो समस्या भोगेको बताइन्। मुख्य बजारकै अवस्था राम्रो छैन। व्यवस्थित ढल नहुँदा बजारको ठाउँ–ठाउँमा बाटोमा पानी जम्ने गरेको छ। वर्षामा बाटोमै खोला बग्छ। नाली सफाइ नहुँदा पुरिएर दुर्गन्ध बढेको छ। नाक छोपेर हिँड्नुपर्छ। सफाइका लागि १४ स्विपर खटिन्छन्। ‘नगरपालिकासित थप स्रोत छैन,’ नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले भने, ‘त्यही भएर राम्ररी सरसफाइ हुन सकेको छैन।

केही घण्टा पानी पर्नासाथ परासी बजार जलमग्न हुन्छ। अव्यवस्थित बसोबासले पानी निकास रोकिएको स्थानीय बताउँछन्। सुनवल नगरपालिका प्रमुख भरत थापाले भौतिक निर्माण र विकासका नाममा सडक बनाउँदा ढल निकास अनिवार्य नगरिँदा यस्तो समस्या भोग्नुपरेको भन्दै आफ्नो कार्यकालमा ढल नभएका सडकमा पक्की ढल निर्माणको काम अघि बढाउने बताए। ‘वर्षामा पानी भरिँदा सम्झने अनि हिउँदमा भएको नालासमेत पुर्ने परिपाटीका कारण बर्सेनि समस्या बल्झिएको भन्दै यसलाई कार्ययोजना बनाएरै अघि बढ्न आवश्यक देखेको छु,’ उनले भने।

सधैं डुबान
सामान्य वर्षा हुँदासमेत सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय २ खण्डमा विभाजित हुन्छ। जिविस चोक नजिकको पोखरीको पानी सडकमा जमेर सवारी चल्नै नसक्ने अवस्था रहन्छ। जिविस चोकको सडक पानीले ढाकिन्छ। नालाको उचित व्यवस्था नहुँदा मलंगवामा निकास नभएर जमेको पानीले हरेक वर्ष डुबान हुन्छ। पानी जम्ने भएकाले घर बनाउँदा उचाइ राख्ने चलन छ। घरबाहेक सर्वत्र पानी जमेर मलंगवा जलमग्न देखिन्छ। उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष हरिशंकरप्रसाद साहले मलंगवा नामको मात्र नगरपालिका र सदरमुकाम भएको बताए। ‘कुनै पनि सडक र गल्ली डुबानमा नपरेको हुँदैन,’ उनले भने, ‘नगरपालिकाले अहिलेसम्म पानीको निकासका लागि केही गरेको छैन।’ 

वीरगन्जमा पनि उस्तै
वीरगन्ज महानगरको तेजारथटोलका बासिन्दा मणि प्रधानको आँगनमा पानी जमेको दुई साता भयो। यस वर्ष पहिलोपटक पानी जमेको प्रधान बताउँछन्। ‘पानी दर्केपछि घरभित्रै पस्छ,’ उनले भने, ‘महानगरपालिकाको कार्यालयमा गुनासो गर्दा पावरहाउस चोकमा नाला बन्दै गरेको र नाला बनेलगत्तै समस्या समाधान हुन्छ भनी जवाफ पाएको छु, खै कहिले बन्छ नाला र हाम्रो दु:खको अन्त्य हुने हो।’

समस्या तेजारथ टोलको मात्र होइन। श्रीपुर, रानीघाट, ओम आश्रमलगायत क्षेत्रको अवस्था पनि उस्तै छ। जिल्ला प्रशासन कार्यालय परिसरमा पानी जम्दा सेवाग्राही तथा कर्मचारीसमेतलाई समस्या हुने गरेको छ।  महानगरको बाक्लो बस्ती तथा मुख्य बजार क्षेत्र रहेको आदर्शनगर, २ नम्बर रोड, ठाकुरराम कलेज क्षेत्र, कैलाश होटल चोक क्षेत्र पनि १० मिनेट पानी पर्दा जलमग्न हुन्छन्। 

होटल व्यवसायी हरि पन्तले यस वर्ष डुबानको समस्या चर्को देखिएको बताए। केही बेर पानी पर्दा पनि आदर्शनगर चोक क्षेत्र डुबानमा पर्ने गरेको उनले बताए। एसियाली विकास बैंक र नगर विकास कोषको साझेदारीमा महानगरमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाको काममा ढिलाइ हुँदा डुबान समस्या झनै बढेको जनगुनासो छ। महानगरपालिकाको परियोजना कार्यान्वयन इकाइ कार्यालयका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले अहिलेसम्म एडीबी परियोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भएको बताए। 

नालाको पानी सडकमा
रौतहटको गौरमा उचित ढल निकास नहुँदा हल्का पानी पार्नासाथ नालाको पानी सडकमा आउँछ। नालाको फोहोर सडकमा ल्याएर थुपार्ने गरिएको छ।

प्रकाशित : श्रावण २०, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?