कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यक्ष भत्काउने, सदस्यले बनाउने

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर ठिमी नगरपालिका २ नम्बर वडा अध्यक्ष राम थापाले सानोठिमीमा मापदण्ड विपरीत लगाइएको पर्खाल शुक्रबार भत्काइदिए । सानोठिमी मन्दिरमार्गकी जमुना रेग्मीको घर पूर्वतिर ४ मिटरको प्रस्तावित बाटो छ ।

अध्यक्ष भत्काउने, सदस्यले बनाउने

दुई वर्षअघि घर बनाउँदा २ फिट बाटो छाडेर पर्खाल लगाइएको थियो । उनकी छिमेकी मन्जु महर्जनले तीन महिनाअघि बाटो नछोडी पर्खाल लगाइन् । छिमेकीले नछाडेको भन्दै जमुनाका छोरा दिनेशले आफ्नो पर्खाल भत्काए र फेरि बाटो मिचेर पर्खाल लगाउन खोजे । त्यसविरुद्ध छिमेकी ख्याम खडका लगायतले नगरपालिकामा उजुरी दिए । 

नगरपालिकाले टोली पठायो । अध्ययन गर्‍यो । बाटो मिचिएको प्रतिवेदन नगरपालिकामा बुझायो । त्यही प्रतिवेदनअनुसार नगरपालिकाको निर्णय नहुन्जेल पर्खाल नलगाउने आदेश दियो । वडा सचिव सुमन खड्काले तीन दिनको म्याद दिएर नगरपालिकामा हाजिर हुन आदेश दिए गत वैशाख २० मा । त्यति बेला पनि नगरपालिकाको आदेश नटेरी पर्खाल लगाइरहे । त्यसलाई रोक्न प्रहरी आयो । तीन महिना पर्खाल लगाउन रोकियो । फेरि समाजले लगाउन भनेको भन्दै हुल जम्मा गरेर शुक्रबार पर्खाल लगाए । त्यसलाई रोकेर नगरपालिका बोलाए वडा सचिव खड्काले । नगरपालिकालाई समेत टेरेनन् रेग्मीले । रोक्न वडा अध्यक्ष थापा र सदस्य प्रल्हाद कार्की फिल्डमै आए । गैरकानुनी पर्खाल भत्काइदिए । पर्खाल भत्काएर गएपछि ख्याम लगायतलाई त्यहाँ जम्मा भएका दिनेशलगायत केहीले बिहान बेलुका सेक्युरिटी गार्ड लिएर हिँड्नु भन्दै धम्की दिए । त्यसको केहीबेरमा यही वडाका अर्का दुई सदस्य शकुन्तला 
श्रेष्ठ र अम्बिका रजक फिल्डमा आए । 

मेयर मदनसुन्दर श्रेष्ठलाई फोन गरे । अनि पर्खाल लगाउन आदेश दिए दुई सदस्यले । फेरि पर्खाल लगाएको जानकारी छिमेकी ख्यामले वडा अध्यक्षलाई दिए । वडा अध्यक्षले फेरि प्रहरीलाई फोन गरे । ‘यो त राज्यलाई दिएको चुनौती हो नि,’ थापाले सुनाए, ‘संविधानले स्थानीय तह बलियो बनाएर पनि नियमावली नबनेकाले तत्काल कारबाही गर्न सक्ने अवस्था छैन । त्यही भएर हामीलाई समेत हेपेर यस्तो गरेका हुन् ।’ वडा अध्यक्ष रोक्ने, केही वडा सदस्यले काम गर्न उचाल्ने । यसले नगरपालिकाकै बदनाम भएको भन्दै वडा अध्यक्षले वडा सदस्यलाई कार्यकक्षमा बोलाए । 

मौखिक स्पष्टीकरण लिए । घरधनीले आफ्नो सम्पत्ति घेर्न पाउनुपर्ने बताउँदै आएका छन् । नगरपालिकाको मापदण्ड अनुसार कम्पाउन्ड लगाउँदा नगरपालिकाको अनुमति लिनुपर्छ । अनुमति दिँदा नगरपालिकाले चार मिटर बाटो कायम हुने गरी अनुमति दिन्छ । ‘गैरकानुनी भनेर नगरपालिकाले प्रतिवेदन दिइरहेको छ । तर त्यही गैरकानुनी काम गर्न केही वडा सदस्य लागेका छन्,’ ख्याम खडकाले भने, ‘वडा अध्यक्ष न्याय दिने कुरा गर्छन्, वडा सदस्य अध्यक्षको बर्खिलाप जान्छन् । जनप्रतिनिधि पनि तालतालका छन् । अफिसमा काम छाडेर पर्खाल रोक्न आयौं । घरमा मान्छे नभएको बेला गुन्डागर्दी शैलीमा पर्खाल लगाइदिन्छन् । बाटो त हामीलाई मात्रै चाहिने होइन, सबैलाई हुने बाटो बनाउन पनि यति तनाब व्यहोर्नुपर्ने ।’

प्रकाशित : श्रावण २१, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?