कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विदेशबाट फर्केर तरकारीमा

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रका युवाहरू नयाँ तरिकाले तरकारी खेती गर्न थालेका छन् । परम्परागत किसिमले तरकारी खेती गर्दै आएका थाहा नपाका युवाहरूले प्लास्टिकको टनेल बनाएर गोलभेडा खेती गरेर मनग्ये आम्दानी गर्न सफल भएका छन् ।

मल्चिङ प्रविधिबाट पनि भेडे खुर्सानी उत्पादन गर्न थालेका छन् । 

थाहा नगरपालिका ६ बज्रबाराहीका ससिन कर्माचार्यले ११ वटा प्लास्टिकका टनेलभित्र गोलभेडा र भेडे खुर्सानी उत्पादन गरेका छन् । 

७ वटा प्लास्टिकको टनेलमा गोलभेडा खेती गरेका छन् । गोलभेडा उत्पादन हुन सुरु गरिसकेको छ । एक लाख रुपैयाँभन्दा बढीको गोलभेडा बिक्री गरिसकेका छन् । गोलभेडा प्रतिकेजी ५० रुपैयाँमा गोलभेडा बिक्री हुने गरेको छ । सम्झना र सरिता जातका गोलभेडा उनले लगाएका छन् । गत वर्ष उनले २ वटा प्लास्टिकको टनेल बनाएर गोलभेडा खेती गरेका थिए । 

गोलभेडाबाट राम्रै आम्दानी भएपछि यो वर्ष कर्माचार्यले लगानी वृद्धि गरेर ७ वटा प्लास्टिकको टनेल बनाएर गोलभेडा खेती गरेका हुन् । ‘गोलभेडाको उत्पादन र बिक्री भाउ राम्रो छ,’ २७ वर्षीय कर्माचार्यले भने, ‘अहिलेकै भाउ रहिरह्यो भने गोलभेडा बिक्री गरेरमात्र ७ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ ।’ उनको टनेलमा २ हजार गोलभेडाका बोट छन् । सबै बोटमा गोलभेडा फल्न थालिसकेको छ ।

विषादीरहित किसिमले गोलभेडा उत्पादन गरेकाले व्यापारीहरू पनि उनले उत्पादन गरेको गोलभेडा खरिद गरेर लैजाने गरेका छन् । 

कर्माचार्यले गोलभेडामा विषादी प्रयोग गरेका छैनन् । टनेलमा उनले थोपा सिँचाइको व्यवस्था गरेका छन् । साथीभाइको हुटहुटीमा पैसा कमाउने लोभमा उनी पनि मलेसिया पुगेका थिए । मलेसियामा २३ महिना बसेपछि उनी घर फर्केका हुन् । विदेशमा खटिएको जति समय आफनै गाउँमा खटियो भने राम्रै कमाइ गर्न सकिने विचार बोकेर उनी नेपाल फर्केका थिए । विदेशमा २४ सै घण्टा तररर पसिना चुहाएर काम गर्दा पनि मासिक २५ हजार रुपैयाँ जोगाउन मुस्किल परेको कर्माचार्यले अहिले परिवारसँग बसेर गोलभेडा खेतीबाट मात्र महिनाको ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । 

मलेसिया जानुभन्दाअघि खेतीकिसानी काम गर्न मन नपराउने कर्माचार्य अहिले गाउँका युवाहरूका निम्ति प्रेरणाको स्रोत बनेका छन् । गाउँका युवाहरूलाई रोजगारीका निम्ति विदेशमा दु:ख पाउनुभन्दा गाउँमै बसेर नयाँ किसिमले तरकारी खेती गर्न उनले सल्लाह दिने गरेका छन् । 

उनीमात्र होइन थाहा नगरपालिका ५ तसरका २८ वर्षीय योगबहादुर लामाले पनि तरकारी खेती गरेर राम्रै आम्दानी गरेका छन् । कतार जानका निम्ति तीन वर्षअघि उचालिएका लामालाई गाउँकी अगुवा चमेली वाइबाले विदेश नजान सल्लाह र सुझाव दिनुका साथै स्थानीय समूहबाट ५० हजार रुपैयाँ ऋण निकालेर तरकारी खेती गर्न लगाएकी थिइन् । एकै वर्षमा उनले समूहको ऋण तिरेर एक लाख जोगाए । तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि लोभिएर गत वर्ष उनले छिमेकीको जग्गा भाडामा लिएर तरकारी खेती गरे । तरकारी खेतीबाट उनले गत वर्ष ५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका थिए । यो वर्ष पनि उनले बन्दाकोपी, मुला, काउली र आलु खेती गरेका छन् ।

‘गत वर्षको भन्दा बढी आम्दानी हुन्छजस्तो छ,’ उनले भने, झन्डै दु:ख पाउन विदेश गएको ।’ उनको आम्दानीबाट लोभिएर गाउँका युवाहरू पनि व्यावसायिक ढंगले तरकारी खेती गर्न थालेका छन् ।

मकवानपुरका विशेषगरी उत्तरी क्षेत्रका युवाहरू व्यावसायिक ढंगले तरकारी खेती गर्नतर्फ आकर्षित भएको कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले बताए । तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएकाले रोजगारीका लागि विदेश जान राहदानी बनाएकाहरू पनि विदेश जाने मोह त्यागेको उनले बताए । चिसो हावापानीमा उत्पादित तरकारीको बजार राम्रो छ । यहाँ उत्पादित अधिकांश तरकारी काठमाडांै जाने गर्छ । 

प्रकाशित : श्रावण २२, २०७४ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?