कर्मचारीले जनकपुर उपमहानगरपालिका ठप्प पारे

कान्तिपुर संवाददाता

जनकपुर — कार्यकारी अधिकृतमाथि हातपात गर्नेलाई कारवाही नगरेको भन्दै जनकपुर उपमहानगरपालिकाको कर्मचारी युनियनले मंगलवारदेखि कामकाज ठप्प पारेका छन् ।

कर्मचारीले जनकपुर उपमहानगरपालिका ठप्प पारे

श्रावण १७ गते जनकपुरमा सञ्चालित एकिकृत सहरी विकास आयोजनाको स्थलगत निरीक्षणमा रहेका कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई जनकपुर ४ विद्यापति चौकका स्थानीयले कुटपिट गरेका थिए ।

कर्मचारी युनियनका अध्यक्ष कृष्णकुमार झाले कार्यालय प्रमुख सुवेदीमाथि हातपात गरेको घटनाको दुई साता बितिसक्दा पनि स्थानीय प्रशासनले दोषीलाई पक्राउ नगरी आलटाल गरेको भन्दै आक्रोश पोखे । ‘ एसपी साहेवको सामुन्ने मै हाम्रा हाकिमलाई कुटपिट गर्दा पनि कारवाही गरिएन । हामीले पटक पटक लिखित तथा मौखिक ध्यानाकर्षण गराउँदा पनि वास्ता गरिएन अनि वाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो' उनले भने ।

एशियन विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाको स्थलगत निरीक्षण गर्न आएका सहरी विकास मन्त्री प्रभु साहले सरोकारवाला निकायहरु विद्युत, टेलीकम, खानेपानी तथा उपमहानगरपालिकाका कर्मचारीहरुलाई निर्देशन दिई रहेको बेला कार्यकारी प्रमुख सुवेदी भने आफ्नो गाडीमै बसेर फेसबूक चलाइरहेकाले उनलाई गाडीबाट तल ओरालेको स्थानीयले बताएका छन् । खानेपानीको पाइप लिकेज भएर विद्यापति चोकमा झण्डै तीन सातादेखि खाल्टो रहेको र उक्त खाल्टो मर्मत नगरिएका कारण दैनिक दुर्घटना हुने गरेको पनि स्थानीयको दावी छ ।

कार्यकारी अधिकृत सुवेदीले पनि आफुलाई दुर्व्यावहार गरिएको बताएका छन् । ‘ म र इन्जिनियर बिरेन्द्र यादव आफ्नो गाडीमा बसिरहेका थियौं । अचानक सतिस झा भन्ने व्यक्तिले मलाई गाडीबाट बाहिर झिकेर दुर्व्यावहार गर्न थाले’ कान्तिपुरसंगको टेलिफोनमा सुवेदीले भने ।

प्रकाशित : श्रावण २४, २०७४ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?