३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ढुवानी नहुँदा खाद्यान्न अभाव

कान्तिपुर संवाददाता

तेह्रथुम — म्याङलुङ र फेदापको सीमा खोरुंगा खोलामा पानीको बहाव बढेपछि सामान ढुवानी अवरुद्ध भएको छ । सामान ढुवानी हुन नसक्दा पूर्वी क्षेत्रका आधा दर्जन गाउँमा खाद्यान्न अभाव भएको छ ।

ढुवानी नहुँदा खाद्यान्न अभाव

खोलामा पुल नभएको र निरन्तरको वर्षासँगै पानीको बहाव बढेर सवारी तर्न नसक्दा ढुवानीमा समस्या छ । यसले ओयाक्जुङ, जलजले, सिम्ले, इसिबु, सम्दु, खाम्लालुङलगायत गाउँमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको हो । हिउँदमा सदरमुकामबाट ढुवानी गरी भण्डार गरेको खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु सकिएको र थप सामान ढुवानी गर्न नसक्दा अभाव चुलिएको सिम्ले औंसी बजारका होटल व्यवसायी चित्र श्रेष्ठले बताए ।

खोरुङगामा पानीको बहाव बढेसँगै गत असार पहिलो साताबाट म्याङलुङ संक्रान्ति ६७ किमि सडक अवरुद्ध भएको छ । खोलावारिका ग्रामीण क्षेत्रका सडक जेठयता हिलाम्मे छन् । ठाउँ–ठाउँमा पहिरो खसेर हिँड्नसमेत नसकिने अवस्था छ । पहिरो हटाउनेतर्फ कसैको ध्यान नपुग्दा गाउँमा रहेका ट्रयाक्टरसमेत चल्न नसकेको पोक्लावाङका यातायात व्यवसायी दुर्गाप्रसाद लिम्बूले बताए । सामान ढुवानी गर्न नपाउँदा गाउँका बजारपसल एक महिनादेखि रित्तै छन् ।

सडक विस्तारसँगै गाउँगाउँमा खुलेका साना ग्रामीण बजारको व्यवसाय चौपट भएको छ । खोला बढेर सवारी तर्न नसक्दा पारि गाउँका किसानले उत्पादन गरेको तरकारी, दूध, अदुवालगायत उत्पादनले बजार पाउन नसकेको फेदाप गाउँपालिका २ ओयाक्जुङका नरबहादुर दर्जीले बताए । डेढ महिनायता ढुवानी गर्न नपाउँदा पसलमा चामल, नुन, चिउरा, चिनी, तेल, चाउचाउ सकिएका छन् । ओयाक्जुङ गाउँ भएर राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग निर्माण भइरहेको छ । गाउँमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप), जिससलगायतले खनेका सडक छन् । असारयता यी कुनै पनि सडकमा सवारी साधन चल्न सक्दैनन् । खोरुङगा खोलामा पुल नहँुदा स्थानीयले समस्या भोग्नुपरेको अम्बिकाप्रसाद दुलालले बताए ।

प्रकाशित : श्रावण २८, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?