तराई जलमग्न, ३४ को मृत्यु

कैयौं बेपत्ता, सयौं विस्थापित
कान्तिपुर संवाददाता

अविरल वर्षाका कारण शुक्रबारदेखि आएको बाढीपहिरोमा परी देशका विभिन्न भागमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार कति बेपत्ता भएका छन् भन्ने यकिन छैन । जिल्ला तहमा प्रशासन, प्रहरी र सुरक्षा निकायले भने यी सबै संख्या पुष्टि गरिसकेका छैनन् । कतिपय जिल्लामा गृहले घोषणा गरेको तथ्यांकभन्दा बढी मृत्यु भएको पाइएको छ ।

तराई जलमग्न, ३४ को मृत्यु

सबैभन्दा बढ्ता जनधनको क्षति पूर्वी मधेसका जिल्लामा भएको छ । विभिन्न नदी–खोलामा आएको बाढीका कारण सयौं परिवार विस्थापित बनेका छन् । पहाडी जिल्लामा पहिरोका कारण पुरिएर कतिपयको मृत्यु भएको छ ।

सुनसरीको बूढीखोला र अन्य खोलामा डुबेर ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर घर भई इटहरी बस्दै आएकी माया राई, ८ वर्षीया छोरी रूपसनी राई, ३ वर्षका छोरा रूपेश राई, इटहरी–४ आइतबारेका ४० वर्षीय ईश्वर सुनुवार, अनिता धिमाल, चन्दा तामाङ र ३० वर्षीया माला राई रहेको प्रहरीले जनाएको छ ।

मोरङको बक्राहा र नुनसरी खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ– २ का ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका–९ का मीनबहादुर थापा रहेको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिँदा मोरङको लेटाङ नगरपालिका–१ की ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको छ । उनकी ९० वर्षीया सासू टुलकीमाया तामाङ, श्रीमान् ५० वर्षीय टंक र १० वर्षीय छोरालाई भने स्थानीय बासिन्दाले उद्धार गरेका थिए ।

झापामा रतुवा, कमल, बनियानी, झिलझिले, सतासी, कन्काई, विरिङ, अदुवा, देउनिया, निन्दा, मेचीलगायत नदी र खोलामा आएको बाढीले जिल्लाका दर्जनौं गाउँ डुबानमा परेका छन् । सयौं घरपरिवार विस्थापित भएका छन् । खोलाले बगाउँदा जिल्लामा तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । झापा गाउँपालिका–३ की कमला दर्लामी, २ की धनमाया घोर्साने र शिवसताक्षी नगरपालिका–१ का लेखनाथ पाण्डेको मृत्यु भएको हो । गृह मन्त्रालयको घोषणाअनुसार झापाका बाँकी २ जनाको विवरण भने उपलब्ध हुन सकेको छैन ।

कन्काई नदीको बाढीले बगाउँदा झापा गाउँपालिका–२ कै कालीप्रसाद राजवंशीसहित उनको चार जनाको परिवार बेपत्ता छ । दमकस्थित दीपिनी खोलाले बगाउँदा भारत बिहार घर भई हाल दमकमा ज्याला मजदुरी गर्ने २५ वर्षीय कपोस मण्डल बेपत्ता छन् । उनको पनि खोजी भइरहेको दमक प्रहरीले जनाएको छ ।


एकै परिवारका ४ जना परे
सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ को २ नं बजारमा जनसेवा पुस्तकालय र पत्रकार महासंघको जग्गामा अस्थायी टहरोमा बसोबास गर्दै आएका एकै परिवारका आमा र तीन छोराछोरीसहित चारको शनिबार बिहान करिब २ बजे खसेको पहिरोमा पुरिएर मृत्यु भएको हो । मृत्यु हुनेमा ३२ वर्षीया आमा दुर्गाकुमारी खड्का, १५ वर्षीया छोरी शोभा खड्का, छोराहरू १० वर्षीय अनिश र ७ वर्षीय मनीष छन् । सुतिरहेका दुर्गाकुमारीका श्रीमान् उदयबहादुर भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

बाँकेको राप्तीसोनारी–४ लालपुरमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति बाढी पसेर घर भत्किँदा कविराज थारूका छोरीहरू १२ वर्षीया अञ्जु, ९ वर्षीया सरिता र, ७ वर्षीया सुस्मिताको ज्यान गएको हो ।

सर्लाहीमा बाढी पसेर घर भत्किँदा र खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । धनकौल गाउँपालिका– १ मानपुरका ७५ वर्षीय किशोरी रायको घरले थिचेर ज्यान गएको हो । त्यस्तै बरहथवा नगरपालिका–१० सीतापुरका १७ वर्षीय राकेशकुमार साहलाई सोती खोलाले बगाएको प्रहरीले जनाएको छ । अपराहन वागमती नदीले बगाएर ल्याएको एक शव फेला परेको छ । मृतकको सनाखत हुन सकेको छैन ।

बारामा बाढीले दुइटा कच्ची घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका–९ बलधुसवास्थित वृद्धाश्रमको घर भत्किँदा ७० वर्षीय ब्रहमदेव महतो र सिम्रौनगढ नगरपालिका–८ कचोर्वाका रामविलास पासवानकी ४५ वर्षीया पत्नी गहनीदेवीको मृत्यु भएको हो ।

दाङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ सिमगैरीकी ४८ वर्षीया भगवती सुनार र वडा ४ का ५८ वर्षीय नरबहादुर रावतको मृत्यु भएको हो ।

राप्ती नदीको बाढीले बाँकेको डुडवा गाउँपालिकास्थित बेतहनी पुल भत्काएपछि अलपत्र सर्वसाधारण । थप तस्बिर र समाचार भित्री पृष्ठहरूमा । फोटो फिचर पृष्ठ २२ मा । तस्बिर : ठाकुरसिंह थारू/कान्तिपुर

कोहलपुर–लमही खण्डअन्तर्गत बाँकेको गुन्दली खोलामा भत्किएको पुल


नवलपरासीको दाउन्नेमा भासिएको सडक

धरान–धनकुटा सडकखण्डको निसान खोलामा भत्किएको सडक


नवलपरासीको प्रतापपुरमा डुबानमा परेको बस्ती


झापाको कन्काई नदीमा आएको बाढी


चितवन माडीको चिते खोलामा बाढीले भत्काएको पुलबाट हिँड्दै स्थानीय,


दाङको बबई नदीमा आएको बाढी


चितवनको माडीमा बाढीले भत्काएको सडकमा हिँड्दै स्थानीय



बाराको निजगढस्थित जमुना पैनीमा आएको बाढीले अवरुद्ध राजमार्ग


बबई नदीमा आएको बाढीले जलमग्न गुलरिया–नेपालगन्ज सडक


विराटनगरको जलमग्न सडकमा एम्बुलेन्स चलाउने प्रयास गरिँदै

चितवनको माडीमा घर डुबानमा परेपछि पीडित परिवार

सिन्धुलीको कमलामाई २ बजारनजिक शनिबार आएको पहिरोले टहरा पुरेपछि उद्धार गरिँदै,

बाराको सिम्रौनगढ कचोर्वामा शनिबार भत्किएको रामविलास पासवानको घर ।

तस्बिरहरू : मनोज पौडेल, लक्ष्मी साह, शिव पुरी, नवीन पौडेल, देवनारायण साह, राजकुमार कार्की/कान्तिपुर

प्रकाशित : श्रावण २९, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?