कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आमा र तीन छोराछोरीको एकै चिहान

कान्तिपुर संवाददाता

सिन्धुली — पहिरोले पुरिएर सदरमुकाम सिन्धुलीमाडीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका ६ को २ नं. बजारमा जनसेवा पुस्तकालय र पत्रकार महासंघको जग्गामा अस्थायी टहरोमा बसोबास गर्दै आएका एकै परिवारका आमा र तीन छोराछोरीको पहिरोमा परी मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३२ वर्षीया आमा दुर्गाकुमारी खड्का, १५ वर्षीया छोरी शोभा खड्का, छोराहरू १० वर्षीय अनिस खडका र ७ वर्षीय मनीष खड्का छन् । बिहान करिब २ बजे झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको प्रहरीले जनाएको छ । घटनामा सँगै सुतिरहेका श्रीमान् उदयबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
भूकम्पमा परी घर ढलेपछि जस्ताले बेरिएको टहरोमा उनीहरूको परिवारले गुजारा चलाउँदै आएका थिए । ‘सुतिरहेको ठाउँमा जस्ताले ठेलेर चिसो आयो, निद्रामै बाहिर निस्किएछु, त्यसपछि सबैलाई निस्कन भन्दै कराएँ,’ श्रीमती र तीन छोराछोरी गुमाएका उदयले भने, ‘जस्ता तान्न खोज्दा बगेर आएको माटोले ठेलेका कारण सकिनँ अनि चिच्याउँँदै हारगुहार गर्दा ढिलो भइसकेको थियो ।
घरमा सधैंजस्तो झगडा पर्ने भएकाले आज पनि झगडा परेको होला भनियो, आपत् परेर चिच्याएको रहेछ, हामी उठदा पहिरोले पूरै टहरो थिचिसकेको थियो छिमेकी मनिता बस्नेतले भनिन्, ‘पानी दर्किरहेकाले उद्धार गर्न सक्ने अवस्था नै थिएन ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर उज्यालो भएपछि मृतकका शव तथा लत्ताकपडा निकालेका थिए । प्रजिअ ताराबहादुर कार्कीले घटना दु:खदायी भएको भन्दै १ लाख किरिया खर्च उपलब्ध गराउने बताए । लगातार दुई दिनदेखि परिरहेको पानीसँगै जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रूप लिँदा उक्त घटना भएको हो ।

‘निमेष भरमै परिवारै विलय भए’
उदयबहादुर खड्का, घरमूली 


म सुतिरहेको थिएँ । बेलुका मद्यपान गरेकाले त्यति धेरै घटनाको बारेमा बताउन नसके पनि चिसो पानीसँगै लेदो माटो आएर बारेको जस्तामा धकेलेपछि म बाहिर निस्कें । एक्कासि टहरो नै बगाउने गरी पहिरो आयो । म चिच्याएँ, ए बाहिर निस्क भनें । मुसलधारे पानी परिरहेको थियो । टहरोलाई पहिरोले पुर्दै लग्यो ।
तथानाम गाली गरेर बाहिर निस्कनका लागि श्रीमतीलाई भनेँ । कोही निस्केनन् । त्यसपछि चिच्याउँदै थरथरी कामेर आमा बसेको ठाउँ मधुटारतिर गएँ । आमालाई उठाएँ, फर्किएर आउँदा चार बज्न लागेको थियो होला । पहिरोले टहरो पूरै पुरेर सन्नाटा छाएको थियो । फेरि चिच्याएँ । पुरिएको टहरोबाट कुनै आवाज आएन । एक्लैले केही गर्ने अवस्था थिएन ।
उज्यालो भएपछि सुरक्षाकर्मी आएर शव निकाले । मेरो अब यो संसारमा कोही रहेन । बस्ने ठाउँ पनि छैन, खाने सरसामान केही छैन । श्रीमती दुर्गाले नै बनिबुतो गरेर केटाकेटी पाल्ने र पढाउने गरेकी थिई । मैले जिम्मेवारी लिएर डेरामै राख्न सकेको भए पनि आज यो हालत हुने थिएन होला, के गर्नु सबै स्वाहा भयो । न ऊ बाँची न त लालाबाला नै रहे । दैव पनि कति निष्ठुरी हामी गरिबलाई नै लानुपर्ने ।


बाघ र बाख्राको कथा जस्तै भयो
मनिता बस्नेत, छिमेकी

बिहानको तीन बज्नै लागेको थियो । उदय चिच्याएको सुनियो । तथानाम गाली गरेर श्रीमतीलाई बाहिर निस्की भन्दै थिए । सधैं झगडा हुने भएकाले घरबाट निकाल्न खोजेको भन्नेमा हामी पर्‍यौं । त्यस्तो पहिरो गएको जस्तो ठूलो आवाज आएको थिएन ।
केहीबेर कराएर उनी कता लागे थाहा भएन । राति आएर श्रीमतीलाई गाली गरेर निकाल्न खोजेको होला भनेर हामी फेरि सुत्यौं । एक, डेढ घण्टापछि फेरि आएर चिच्याएपछि सबै जना उठ्यौं । 
पानी दर्किरहेको थियो । मोबाइल बालेर हेर्दा माथिबाट बगुवा माटोको पहिरो आएको रहेछ । टहरो पुरिएको थियो । चालमाल केही थिएन । सन्नाटा छाएको थियो । हामी जान सक्ने स्थिति थिएन । सुरक्षाकर्मी नआउन्जेल हेरेरै बसियो । उदयले आमालाई लिन जानुको सट्टा माथितिर रहेको प्रहरी कार्यालयमा गएको भए उद्धार हुन सक्थ्यो कि ? ‘झूटो बोल्यो कि पोल्यो’ भन्ने सानैमा पढेको कथा जस्तै बाघले बाख्रा खायो भनेर सधैं दु:ख दिँदा साँच्चिकै खाएको दिन कोही छिमेकी नआएको 
जस्तै भयो । 

प्रकाशित : श्रावण २९, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?