कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लेनदेनमा बलात्कार ‘ढाकछोप’

जनप्रतिनिधिले नै घटना न्यायिक प्रक्रियामा लैजानु साटो पीडक उम्काउने प्रयास गरे
विद्या राई

भोजपुर — षडानन्द नगरपालिका, केउरेनीपानीकी एक बालिकामाथि भएको बलात्कार घटना आर्थिक लेनदेनमा मिलाउने प्रयास गरिएको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले नै घटना ढाकछोप गर्न सघाएका छन् ।

१२ वर्षीया बालिकामाथि भएको बलात्कार साता दिनपछि बाहिर आएको हो । साउन ९ गते घरनजिकै बाख्रा चराउन गएकी बालिकालाई दाजु साइनो पर्ने ३२ वर्षीय मेघराज श्रेष्ठले बलात्कार गरेका थिए । उनी मावलीमा बस्दै आएकी थिइन् । एक्कासि बिरामी परेपछि खाँदबारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनीमाथि बलात्कार भएको खुलेको हो ।

घटना बाहिर आएपछि मेघराज र पीडित परिवारसहित जनप्रतिनिधिहरू दिङ्ला बजारमा बैठक बसे । टोलीले घटना गाउँमै मिलाउने गरी ६० हजार रुपैयाँ लेनदेन गराएको खुलेको छ । स्रोतका अनुसार छलफलमा षडानन्द नगरपालिकाका मेयर वीरबल राई, उपमेयर मेरिका राई, ८ नम्बरका वडाध्यक्ष किशोर राई र ७ नम्बरका वडाध्यक्ष बुद्धसिंह राईको उपस्थिति थियो । परिवारभित्र मुद्दामामिला गर्न उचित नहुने भन्दै वडाध्यक्ष किशोर राईले बालिकालाई १० हजार उपचार खर्च र थप ५० हजार रुपैयाँ बंैक खातामा राखिदिन सहमति गराएको पीडितका हजुरबुबा अवीरबहादुर श्रेष्ठले बताए । यसबारे राईले सबै प्रतिनिधि बसेर सहमति गराइएको बताए ।

मेयर राईले भने आर्थिक लेनदेन हुँदै नभएको बताए । ‘दुवै पक्षले परिवारभित्रको कुरा बाहिर नलैजाने भनेपछि समन्वय मात्रै गरेका हौं, लेनदेनको कुरा गलत हो,’ उनले भने । जनप्रतिनिधिको यस्तो कार्यले आपराधिक गतिविधि रोक्नु साटो बढाउन भूमिका खेल्ने भन्दै स्थानीयले आलोचना गरेका छन् । ‘२० वर्षपछि जनप्रतिनिधि पाइयो, समाजमा शान्ति सुरक्षा होला भन्ने लागेको थियो तर विखण्डनतर्फ डोर्‍याउन थाले,’ एक स्थानीयले भने । पीडितका आफन्त र महिला सञ्जालले सदरमुकामस्थित महिला तथा बालबालिका कार्यालयमा घटनाबारे जानकारी गराएका हुन् । प्रहरीले आरोपी श्रेष्ठलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?