३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पहिरोले बस्ती खाली

कान्तिपुर संवाददाता

धादिङ — पहिरो नथामिएपछि उत्तरी विकट बस्ती सेर्तुङ–९ का बासिन्दा घर छाडेर हिँडेका छन् । भूकम्पका बेला गएको पहिरो गत सातादेखि निरन्तर बगिरहेपछि ९६ परिवार सुरक्षित स्थानतिर लागेका हुन् ।

पूरै बस्ती पहिरोको उच्च जोखिममा छ । स्थानीयलाई आश्रय दिन मालेखर्कमा अस्थायी शिविर बनाइएको छ । त्रिपाल अभावमा सबै परिवारलाई व्यवस्थापन गर्न नसकिएको उद्धारमा संलग्न छेसिंह तामाङले फोनमा बताए । गत आइतबार राति ३० घरले बस्ती छाडेकामा शनिबार बिहानबाट बाँकी पनि हिँडेका हुन् । एक त विकट भेग, त्यसमाथि वर्षाले बसाइ कष्टकर बनाइरहेको छ । २४ सय मिटर उचाइको बस्तीमा वर्षासँगै जाडो बढेकाले स्थानीयलाई शिविरमा रात कटाउन मुस्किल छ । ‘४४ घर पहिरोले घेरिसकेको छ, जमिन भासिन नछोडेपछि पूरै बस्ती खाली गराइएको हो,’ तामाङले भने ।

भूकम्पलगत्तै त्यहाँका ५० घरपरिवार विस्थापित भएर सदरमुकाम पुगेका छन् । बस्ती बस्नयोग्य भए/नभएकोबारे अझै निक्र्यौल गरिएको छैन । ‘हामीले अध्ययनका लागि भूगर्भविद् पठाइदिन जिल्ला र केन्द्रमा पटकपटक निवेदन दिए पनि सुनुवाइ भएन,’ अर्का स्थानीय सेतेमान तामाङले बताए । ‘वैज्ञानिक आएर बस्ती अन्तै सार्ने सिफारिस गर्छन् रे भन्ने मात्रै सुन्यौं तर अहिलेसम्म कोही आएन,’ वडासचिव इन्द्र काफ्लेले भने ।

बस्ती बस्नयोग्य भए/नभएको निक्र्यौल नभएकै कारण अधिकांश पीडितले अनुदान रकम बुझे पनि घर बनाउन सकेका छैनन् । नुर्बु तामाङले पहिलो किस्ता ५० हजारले सामान्य घर बनाए पनि पहिरो जोखिम बढेपछि उनी चिन्तामा छन् । ‘उक्त बस्तीमा लैजान सदरमुकाममा खाद्यान्न तयार राखिएको छ तर मौसम खराबीले हेलिकप्टर जान सक्ने अवस्था छैन,’ सहायक प्रजिअ लीलाधर अधिकारीले भने ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?