३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

क्षेत्रीयमा १२ वर्षपछि आईसीयू

कान्तिपुर संवाददाता

सुर्खेत — वीरेन्द्रनगर कालागाउँस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विशेषज्ञसहित आईसीयू (सघन उपचार कक्ष) सेवा सञ्चालनमा आएको छ । स्थापनाको १२ वर्षपछि अस्पताल व्यवस्थापनले आईसीयू र एनआईसीयू सेवा सञ्चालनमा ल्याएको हो ।

आवश्यक उपकरण र दक्ष चिकित्सक नहुँदा सामान्य रोगका बिरामीलाई समेत जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता थियो । यो सेवा सुरु भएसँगै अब यस क्षेत्रका बिरामीलाई उपचारमा सहज हुने भएको छ । वीरेन्द्रनगर निवासी थीरकुमारी कार्कीको आर्थिक सहयोगमा अस्पतालमा आईसीयू कक्ष सञ्चालनमा आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए । पति नन्दबहादुर कार्कीको स्मृतिमा थीरकुमारीले ४३ लाख सहयोग गरेपछि अस्पतालले आईसीयू सेवा सञ्चालनमा ल्याएको हो । जसले गर्दा प्रदेश नम्बर ६ कै स्वास्थ्य संस्थामा पहिलोपटक क्षेत्रीय अस्पतालमा आईसीयू सेवा उपलब्ध भएको हो ।

आईसीयू कक्षमा एकपटकमा चार जना बिरामीको उपचार गर्न सकिन्छ । ‘बिरामीलाई रेफर गर्नुपर्ने अवस्थाको अन्त्य भयो,’ मेसु खड्काले भने, ‘चिकित्सक संख्या, आवश्यक उपकरण र प्रविधिको व्यवस्थापन भयो । अब सुर्खेतमै विशेषज्ञ सेवा दिन हामी सफल भएका छौं ।’ लामो प्रयासपछि अस्पतालमा भेन्टिलेटर सेवा पनि उपलब्ध छ । अस्पतालले एक वर्षअघि एनआईसीयू सेवा सुरु गरेको थियो ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?