१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बुवाआमाका नाममा ई–पुस्तकालय

कुम्भराज राई

ओखलढुंगा — थोरोले भनेका थिए, ‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक पढ ।’ समय बदलिएको छ, हजारौं पुस्तक अब एउटै कम्प्युटरमा अटाउन थालेको छ । र, त्यो सुविधा पिछडिएका जिल्लासम्म पुग्ने अवस्था आएको छ ।

शिवजी श्रेष्ठ नेपाल प्रहरीका डीएसपी थिए । द्वन्द्व सकिने क्षणमा राजीनामा दिए र बेलायत बस्न थाले । प्रहरी सेवा र देश छाड्नुपरेकामा ‘पछुतो’ रहेको बताउने उनी बेला–बेला राहत–सहयोग लिएर आउँछन् । यसपालि उनी फरक उपहार लिएर जिल्ला आए, ई–पुस्तकालय । 

उनकै पहलमा परिवारका सबै सदस्य मिलेर बुवा–आमाका नाममा ‘होमबहादुर–प्रेमकुमारी ट्रस्ट’ खोलेका छन् । त्यही ट्रस्टले सिद्धिचरणको जिल्ला ओखलढुंगामा दुइटा ई–पुस्तकालय खोल्ने भएको छ । 

होमबहादुर र प्रेमकुमारी श्रेष्ठका छोराछोरीले स्थापना गरेको ट्रस्टले ई–पुस्तकालयका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराउनेछ । सिद्धिचरण ११ कै पारस्परिक सेवा अनुष्ठान र सिद्धिचरण १२ मा रहेको सगरमाथा जनता उच्च माविमा ई–पुस्तकालय सञ्चालन गरिने ट्रस्टका महासचिव विनय श्रेष्ठले जानकारी दिए ।

अनुष्ठानले भने पुस्तकालयका लागि आवश्यक भौतिक पूर्वाधार तयार गर्ने जनाएको छ । ‘हामीले पुस्तकालयका लागि आवश्यक घर र कोठा निर्माण गर्ने सहमति छ,’ अनुष्ठानका अध्यक्ष इन्द्रनारायण राजभण्डारीले भने, ‘पुस्तकालय स्थापना ट्रस्टले गर्ने सम्झौता छ ।’ ट्रस्टका अध्यक्ष सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार अनुष्ठानले भवन निर्माण कार्य नसकेकाले सक्नासाथ ई–पुस्तकालय स्थापना गरिनेछ । ट्रस्टले शिक्षा र स्वास्थ्यमा पिछडिएकालाई मूल धारमा ल्याउन सहयोग गर्ने मुख्य उद्देश्य राखेको उनले बताए । ट्रस्ट सञ्चालनार्थ होमबहादुर–प्रेमकुमारी परिवारले स्वतन्त्र एवं प्रतिष्ठित व्यक्तिहरूको समिति बनाएको छ । 

सगरमाथा जनता माविमा भने आवश्यक पुस्तकालय कक्ष र कम्प्युटर विद्यालयकै रहनेछ । पुस्तकालयका लागि आवश्यक ई–सफ्टेवरलगायत सामग्री ट्रस्टले उपलब्ध गराउने जनाएको छ । कम्प्युटरमै बसेर आफ्नो कक्षाअनुसारको पाठ्यसामग्री र अन्य ज्ञानबद्र्धक पुस्तक अध्ययन ई–पुस्तकालयमार्फत सम्भव हुनेछ । 

अध्यक्ष श्रेष्ठका अनुसार दुइटा ई–पुस्तकालयका लागि कम्तीमा १५ लाख रुपैयाँ लाग्ने अनुमान छ । हालसम्म ई–पुस्तकालय ११ जिल्लामा मात्र सञ्चालित छन् । पुस्तकालय स्थापनाले विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढ्ने अपेक्षा गरिएको सगरमाथा माविका प्रधानाध्यापक सुमन राजभण्डारीले बताए । यस विद्यालयमा १ हजार १ सय विद्यार्थी अध्ययनरत छन् । 
नेपाल लाइब्रेरी फाउन्डेसनले ई–पुस्तकालय सञ्चालन गर्दै आएको छ । उक्त फाउन्डेसनका अनुसार यो यस्तो कम्प्युटर सर्भर हो, जसमा विभिन्न विधाका १० हजार पुस्तक हुनेछन् । पाँच हजार भिडियो, कक्षा २ देखि ८ सम्मका पाठ्यसामग्री तथा अन्तक्र्रियात्मक विषयवस्तु राखिएका हुन्छन् । 

प्रकाशित : श्रावण २९, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?