१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उद्धार पर्खाइमा २ हजार परिवार

कान्तिपुर संवाददाता

राजविराज — निरन्तरको वर्षापछि विभिन्न खोला–नदीमा आएको बाढीले सप्तरीमा १५ हजार परिवारका घर डुबानमा छन् । ती घरमा २ देखि ४ फिटसम्म पानी जमेको छ । एक हजार परिवार विस्थापित नै भइसकेका छन् भने ७५ हजार सर्वसाधारण अति प्रभावित छन् ।

उद्धार पर्खाइमा २ हजार परिवार

खाडो, कोसी, जिता, महुली, बलान, खड्ग, सुन्दरी, भलुवाही, त्रियुगालगायत नदी बस्तीमा पसेका छन् । तिलाठी, सकरपुरा, मल्हनिया, कुसहा, वनरझुला, टिकुलिया, वरसाइन, तोपा, मौवाहा, बेल्ही, राजविराज नगरपालिका, देउरी भरुवा, झल्ही, फर्सेठ, डुमरी शिवथान, बिरौल, मयनाकरेडी, लोहजारा, भेडिया, मधवापुर, रम्पुरा मल्हनिया, विषहरिया, कोइलाडी र बेल्हीका सबै घरमा पानी पसेको छ । सप्तकोसी, कञ्चनरूप डाक्नेश्वरी नगरपालिका र कृष्णासवरण, रूपनी, सुरुंगा, बोदेबरसाइन गाउँपालिकाका अधिकांश बस्तीमा पाँच फिटसम्म पानी छ ।

खाँडो नदी सदरमुकाम पस्दा जिल्ला प्रशासन, जिल्ला अदालत, उच्च अदालत, अञ्चल प्रहरी, राष्ट्रिय अनुसन्धान, कृषि विकास बैंक, जिल्ला कृषि, रेडक्रस सोसाइटी, वनलगायत कार्यालय जलमग्न छन् । राजविराजको सिरहा रोड, अड्डा लाइन, सखडा रोड, मेनरोड, कञ्चनपुर रोड, तेतरीगाछी राजदेवी रोड, डुमरी शिवथान रोडलगायत सदरमुकामका सबै भित्री सडकमा ५ फिटभन्दा बढी पानी बगिरहेको छ । प्रमुख जिल्ला अधिकारीसहित सरकारी अधिकारीहरूको निवासमा पनि पानी पसेको छ । पडरियाका १ सय ५० परिवार स्थानीय विद्यालयमा शरण लिइरहेका छन् । खर्साल, लिलजा, तेतरीगाछी, राजदेवी, पानीट्यांकी, मदननगरलगायत टोल र बस्तीका सबै घर डुबेका छन् । राजविराजबाट चारै दिशामा बाढीले सडक कटान गरेकाले आवागमन अवरुद्ध छ । ग्रामीण सडक, पुलपुलेसा, कल्भर्ट, नहर र कुलोपैनी भत्किएका छन् ।

बाढीकै कारण सरोकारवाला निकायका प्रतिनिधि प्रभावित स्थल पुग्न सकेका छैनन् न त क्षतिको तथ्यांक संकलन हुन सकेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको शनिबार बसेको आकस्मिक बैठकले १० हजार परिवारका ५० हजार व्यक्ति अति प्रभावित रहेको अनुमान गरेको छ । समिति अध्यक्ष प्रजिअ कृष्णबहादुर कटुवालले स्रोतसाधन सीमित रहेकाले राहत तथा उद्धारकार्य प्रभावकारी बनाउन नसकिएको बताए ।

सकरपुरा, वनरझुला, बरसाइन, टिकुलिया र कुसहाका २ हजार परिवार शनिबार बिहानैदेखि उद्धार टोलीको पर्खाइमा थिए । तर, चारैतिर बाढीले घेरिएका उनीहरूलाई त्यहाँबाट निकाल्ने प्रयाससम्म पनि भएको छैन । वर्षा अझै भइरहेकाले बाढीको सतह बढ्दो छ । उनीहरू त्रासैत्रासमा बसिरहेका छन् । जिल्लाका अन्य भेगमा पनि उद्धार तथा राहतका काम थालिएको छैन । पीडितहरू भोकै बस्न बाध्य छन् । गोठमा पानी पस्दा पशुचौपायाको बिजोग छ ।

भारतीय पक्षले कोसी ब्यारेजका सबै ढोका नखोल्दा पश्चिमी तटबन्धमा दबाब बढेकाले बाँध भत्किने जोखिम रहेको प्रजिअ कटुवालले बताए । उद्धार समिति बैठकले तत्काल ब्यारेजका सबै ढोका खोल्न कूटनीतिक पहलका लागि केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा सिफारिस गरेको उनले जानकारी दिए ।

दुई दिनयता सिरहामा पनि विभिन्न बस्ती जलमग्न छन् । लहान नपा–९ छर्रापट्टीका मिस्री सदायको घर बाढीकै कारण भत्किएको छ । लहान नपा–२० का पुजेन्द्र यादव, लखनदेव र सत्यनारायण गुप्ताको टिन र टाटीले बनेको घरमा पनि क्षति पुगेको छ । लहान, मिर्चैया क्षेत्र जलमग्न छन् । घरघरमा पानी पसेको छ । वर्षाले धानबालीमा समेत क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ । लामो खडेरीपछि जसोतसो रोपाइँ भए पनि अविरल वर्षाले धानबालीमा क्षति पुर्‍याएको वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले जानकारी दिए ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?