लापरबाहीले वीरगन्ज ‘अस्तव्यस्त’

भूषण यादव

वीरगन्ज — निर्धारित समयमै मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाअन्तर्गत वीरगन्जको ढल र फोहोर व्यवस्थापन परियोजना पूरा भइदिएको भए वर्षात्मा नगरवासीले सास्ती खेप्नुपर्ने अवस्था आउँथेन ।

तर ठेकेदार कम्पनी र नियमन निकायको लापरबाहीले वीरगन्ज महानगरपालिका अहिले अस्तव्यस्त बनेको छ । 

महानगरवासी लामो समयदेखि सहज आवागमनबाट वञ्चित बनेका छन् । भित्री सडकमा साना सवारी चल्ने अवस्था छैन । नाला निर्माणका लागि ठेकेदारले खनेका सडक हिलाम्मे बनेका छन् । 
बालबालिकालाई जुत्ता लगाएर विद्यालय जान अप्ठ्यारो छ । अधिकांश नाला निर्माणको कार्य सम्पन्न भइसके पनि निर्माण कम्पनीले सडक कालोपत्रे नगर्दा हिँडडुल गर्न समेत समस्या छ । मूल्य अभिवृद्धि करसहित २ अर्ब ४८ करोड ३६ लाख रुपैयाँमा चिनियाँ निर्माण कम्पनी र कालिका कन्स्ट्रक्सनले निर्माण सम्झौता गरेका थिए । 

एसियाली विकास बैंकको अनुदान, नगर विकास कोषको ऋण र वीरगन्ज महानगरपालिकाको समपूरक रकमले आयोजना सञ्चालन भएको हो । योजनाअन्तर्गत सहरभित्र ५३ किलोमिटर नाला बनाउनुपर्ने छ । २०१४ मार्च २४ मा सुरु भएको परियोजना गत वर्ष नै सम्पन्न भइसक्नुपर्ने थियो । ३ पटक म्याद थपिएको परियोजना अगामी नोभेम्बर महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मझौला सहरी विकास परियोजना कार्यालयले जनाएको छ । परियोजनाअन्तर्गत हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको छ । सहरी विकास योजनाको काममा ठेकेदारले चरम लापरबाही गरेको भन्दै गत साउन १५ मा संसदीय विकास समितिले उच्चस्तरीय प्राविधिक समितिमार्फत अनुगमन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिले निर्देशन दिएको भोलिपल्ट परियोजनाका ठेकेदार कम्पनीले नियमन गर्ने निकाय र वीरगन्ज महानगरपालिकाका कार्यकारी अधिकृत लगायतका माथिल्ला कर्मचारीलाई एक साता चीन भ्रमणमा लगेको छ । ठेकेदारलाई नियमन गरी निर्माण कार्यमा तीव्रता दिलाउनुको सट्टा उसैको पैसामा कर्मचारी विदेश भ्रमणमा गएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । 

विकास निर्माण कार्य योजनाबद्ध रूपले गर्नुपर्नेमा ठेकेदारले भद्रगोल तरिका अपनाएर वीरगन्जलाई अस्तव्यस्त पारेको रानीघाटका सरोज बस्नेतले गुनासो गरे । ‘अव्यवस्थित निर्माणले नगरवासीलाई धेरै सास्ती भयो,’ उनले भने, ‘नियमन निकाय पनि फितलो देखियो ।’ जिल्ला अदालत, जिल्ला समन्वय समिति र नारायणी यातायात व्यवस्था कार्यालय अगाडिको सडक निर्माण नहुँदा सेवाग्राही मारमा परेका छन् । पानीले निकास नपाउँदा सामान्य वर्षा हुँदा पनि मुख्य व्यापारिक केन्द्र आदर्शनगर, जिल्ला प्रशासन कार्यालय क्षेत्र, रानीघाट, नगवा, इनर बाइपास लगायतका क्षेत्र डुबानमा पर्ने गरेका छन् । नाला निर्माणको सम्पूर्ण कार्य सम्पन्न भइसकेपछि एकैपटक सबै सडक पक्की गरिने परियोजनाका इन्जिनियर शैलेन्द्र श्रेष्ठले बताउँदै आएका छन् । 

मुख्य नाकाको सडक जीर्ण
आयात/निर्यातका लागि मुलुकको प्रमुख नाकाको सडक जीर्ण बनेको छ । वीरगन्ज महानगरपालिकाको बाइपास सडक खण्ड खाल्डाखुल्डीले भरिएको छ । पानी पर्दा झन्डै ४ किलोमिटर लामो उक्त सडकका खाल्डाखुल्डी साना पोखरीमा परिणत हुने गरेका छन् । दिनहुँ मालवाहक सवारी बिग्रिने गरेका छन् । सडक मर्मत सम्भारका लागि यातायात व्यवसायीले गत साता सडक अवरुद्धसमेत गरेका थिए । महानगरपालिका कार्यालय र सडक डिभिजन कार्यालयले मर्मत सम्भारका लागि प्रतिबद्धता जनाएपछि ३ घण्टाको अवरोधपछि सडक खुलाइएको थियो । 

वीरगन्जको गण्डक, लक्ष्मनवा, बसपार्क, रजतजयन्ती चोक हुँदै मालवाहक सवारी वीरगन्ज भन्सार कार्यालय पुग्नका लागि उक्त सडक निर्माण गरिएको हो । भन्सार राजस्व बुझाएर सोही सडक हुँदै मालवाहक सवारी मुलुकका विभिन्न सहरमा जाने गरेका छन् । सरकारलाई दैनिक करिब २५ करोड रुपैयाँ राजस्व बुझाउने नाकाको सडक जीर्ण बन्दा पनि सरोकारवाला निकाय मौन बसेको यातायात व्यवसायीले आरोप लगाएका छन् । बसपार्क, लक्ष्मनवा, ब्रह्मस्थान र नगवा क्षेत्रमा मालवाहक सवारी गुड्ने अवस्थामा नरहेको नारायणी यातायात व्यवसायी संघका क्षेत्रीय उपाध्यक्ष विनोद मानन्धरले बताए । 

‘महानगरपालिका, स्थानीय प्रशासनदेखि लिएर सडक डिभिजन कार्यालयसम्मलाई पटकपटक सडकको अवस्थाबारे ध्यानाकर्षण गरायौं,’ उनले भने, ‘तर, कसैले चासो लिँदैनन् ।’ उक्त सडक खण्डमा दैनिक हजारभन्दा बढी सवारीसाधन गुड्ने गरेका छन् । चालु आर्थिक वर्षमा महानगरपालिकाले सोही सडकमा ४ करोड १० लाख रुपैयाँको पिठिया र सवारी कर संकलनका लागि ठेक्का लगाएको छ । 

प्रकाशित : श्रावण २९, २०७४ ०८:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पुल नबन्दा आउजाउमा सास्ती

-२० मिनेटको बाटो हिँड्न एक घण्टा
-बिरामीलाई सकस
-वर्ष बित्यो, पुल निर्माण भएन
वसन्तप्रताप सिंह

बझाङ — गत वर्ष असार महिनामा बाहुलीगाढ खोलामा आएको बाढीले जिल्लाका दक्षिणपश्चिमी भेगका साबिकका २६ गाविसलाई सदरमुकामसँग जोड्ने झोलुंगे पुल बगाएपछि सदरमुकाम आउजाउ गर्न समस्या भएको छ ।

पुल नहुँदा सदरमुकामका विभिन्न विद्यालयमा पढ्ने रिठापाटा र सुवेडाका बालबालिकालाई समस्या भएको अभिभावकले बताए । स्कुल समयमा विद्यार्थीको भीडभाड हुने बाटोमा अहिले पिठ्युँमा विद्यार्थी बोकेका अभिभावकको लर्काे देखिन्छ ।
हिउँदको समयमा काठको साँघुबाट आवतजावत गर्ने गरिएको भए पनि असारको अन्त्यतिर आएको बाढीले साँघुसमेत बगाएपछि थप समस्या भएको हो । पुल हुँदा १० मिनेटमै सदरमुकाम पुग्ने गरेका बालबालिकाहरूले अहिले आधा घण्टाको यात्रा गर्नुपर्ने बाध्यता आएको छ । पुल बगाएपछि सुबेडा, सिमखेत, नौरा, देबल, रिठापाटा लगायत क्षेत्रका साना बालबालिकाहरूलाई निकै समस्या भएको देवलका वीरेन्द्र धामीले बताए ।
झोलुंगे पुल बगाएपछि सदरमुकाम आउनेहरू पहिले पुल भएको ठाउँभन्दा झन्डै ३ किलोमिटर माथिबाट घुमेर आउनुपर्ने अवस्था छ । ‘खोलामा पुल हुँदा छिट्टै चैनपुर पुगिन्थ्यो । केटाकेटी आफैं हिँडेर स्कुल जान्थे,’ सुबेडाकी रुपा जोशीले भनिन्, ‘यति लामो बाटो बच्चा हिँड्न सक्दैनन् । घरको सबै काम छोडेर बच्चालाई स्कुल छोड्न र लिन आउनुपर्छ । दिनको ४ घण्टा बच्चाकै लागि खर्च गर्नुपर्दा घरको काम चौपट भएको छ ।’ पहिला २० मिनेट जतिमा सदरमुकाम पुगिने उनको गाउँबाट अहिले झन्डै एक घण्टा हिँड्नुपर्छ । समयमा नपुग्दा स्कुलसमेत छुट्ने गरेको उनले बताइन् । लामो र गाडी चलिरहने सडक भएकाले छोराछोरीलाई एक्लै विद्यालय पठाउन नसकिएको कमला बुढाले बताइन् । उनले भनिन्, ‘सडकमा गाडीहरू ओहोरदोहोर गरिरहेका हुन्छन् । पहिले पो गाडी नगुड्ने भएर ढुक्क भएर पठाउँथ्यौं । अहिले ढुक्क हुन सक्ने अवस्था छैन । काम छोडेरै भए पनि स्कुल त पुर्‍याउनुपर्‍यो ।’
झोलुंगे पुल हुँदा विद्यालय समयभन्दा १५/२० मिनेट अगाडि नै पुग्ने विद्यार्थीहरू अहिले प्रायजसो ढिलो गरी आउने गरेको शिक्षकहरू बताउँछन । विशेष गरी सुबेडा, नौरा, देवल, सिमखेतबाट आउने विद्यार्थीहरू समयमा कहिल्यै पनि नपुग्ने गरेको सुदूरपश्चिमाञ्चल विद्या सदनकी प्रिन्सिपल सरस्वती ढुंगेल खत्रीको भनाइ छ । लामो बाटो हिँडेर आएका विद्यार्थीहरू थकाइले कक्षाकोठामै निदाउने गरेको उनले बताइन् ।
यस्तै, पुल बगाएपछि जिल्ला अस्पतालमा उपचार गर्न जाने बिरामीलाई पनि समस्या छ । ‘पहिले छोटो बाटो भएकाले आफैं हिँडेर जाने बिरामीलाई पनि अहिले या त बोकेर लैजानुपर्छ या त महँगो भाडा तिरेर जिप रिजर्भ गर्नु पर्छ । पुल नहुँदा समस्या भएको छ,’ बिरामीका आफन्त मंगल खडकाले भने ।
जिल्ला प्राविधिक कार्यालयका प्रमुख जगतप्रसाद जोशीले झोलुंगे पुल निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भइसकेको र यसै वर्षभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनी जागृति निर्माण सेवासँग सम्झौतासमेत भइसकेको बताए । उनले भने, ‘यो बर्खा जति दु:ख भयो भयो । अर्काे बर्खाबाट यस्तो समस्या भोग्नु नपर्ला ।’

प्रकाशित : श्रावण २९, २०७४ ०८:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT