‘रूख चढेर ज्यान जोगायौं’

माडी (चितवन) — माडी–२ भैरवपुरकी २७ वर्षीया समा परियारको परिवारले शनिबार बिहानदेखि केही खान पाएको छैन । चितै खोलाको बाढीले घर डुबेपछि उनीहरूका लत्ताकपडा, खाद्यान्न सबै बगे ।

शुक्रबार राति १० बजेदेखि घरमा पानी पस्न थालेपछि उनीहरूले नजिकको पीपलको रूखमा चढेर ज्यान जोगाए । ४ घण्टा त्यहीँ झुन्डिएर बिताए । बिहान पानी कम भएपछि मात्र भुइँमा झरे ।

भैरवपुरस्थित दलित बस्तीमा ३ घर मात्र छन् । ‘यस्तो बाढी कहिले देखेको थिइनँ,’ समाले भनिन् ‘बल्लतल्ल ज्यान जोगाइयो ।’ पानीको सतह बढेपछि सबै परिवार घरका समान छाडेर ज्यान जोगाउन बालबालिका च्यापेर रूख चढेका थिए । बालबालिकालाई जेनतेन खुवाए पनि अभिभावक भोकै रहे । खोला नजिकै भएकाले चितैमा ठूलो बाढी आउनासाथ उनीहरूको घर डुबिहाल्छ । सुत्केरी बस्न आएकी सविता परियारले चार महिनाको दुधे बालक बोकेर रूख चढ्नुपर्दा निकै पीडा भएको सुनाइन् । ‘राति घर डुबेपछि अभिभावकले तानेर रूख चढाए,’ उनले भनिन्, ‘तर, पानी परिरह्यो ।’ माडीका कतिपय बासिन्दा घरको छतमा बसेर जोगिएका थिए । 

रियु र चितै खोलामा आएको बाढीले माढीमा १६ घरमा क्षति पुगेको छ । १० वटा पुल बगेकाले यातायात बन्द छ । पैदल आउजाउ गर्नसमेत मुस्किल छ । बाढीबाट जोगाउन बनाइएका १२ वडा ड्याममा क्षति पुगेको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार ३ सय घरमा आंशिक क्षति पुगेको छ । १५ वटा माछापोखरीमा क्षतिग्रस्त छन् । 

वसन्तपुर क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध छ । एक महिनायता विद्युत् आपूर्तिसमेत छैन । खानेपानीका धेरैजसो धारा बिग्रिएका छन् । पुन: बाढी आउन सक्ने भन्दै मानिसहरू सडकमा बसिरहेका छन् । विस्थापितलाई खाना र बासको समस्या परेको छ । उनीहरूलाई छिमेकीका घर, स्कुल र अन्य स्थानमा बस्ने व्यवस्था मिलाउन प्रजिअ भट्टले जनप्रतिनिधिलाई अनुरोध गरेका छन् । 

बाढीमा फसेकाको उद्धारका लागि प्रजिअसहित सुरक्षा अधिकारी, सेना, सडक, खानेपानी, जनस्वास्थ्य, रेडक्रस सहितको टोली पुगेको थियो । माडीका मेयर ठाकुरप्रसाद ढकाल बाढीबाट धेरै क्षति पुगेको बताउँछन् । उनी बिहानदेखि उद्धारमा खटेका थिए । माडी–१ वनकट्टाका ६७ वर्षीय यमबहादुर अधिकारी घर डुबेपछि परिवारका सदस्यसहित छानामा चढेर जोगिएको बताउँछन् । माडीमा २०६७ सालमा आएको बाढीले ठूलो क्षति पुगेको थियो ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

दाउन्नेमा पहिरो

कान्तिपुर संवाददाता

काठमाडौं — नवलपरासीको दाउन्ने खण्डका एक दर्जन स्थानमा पहिरो खसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध छ । पहिरोले सडक नै बगाएको छ । सडक दायाँबायाँ निकास नहुँदा भेलले जमिन कटान गरेको हो ।

दाउन्नेको एसमोड नजिकै करिब ५० मिटर सडक बगाएको प्रहरीले जनाएको छ । शुक्रबार रातिदेखि अवरुद्ध सडक शनिबार साँझसम्म खुलेको छैन । 

सडक डिभिजन कार्यालय बुटवलले शनिबार बिहान मात्र डोजर पठाएकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । पहिरोले १५ किमि सडक पूरै थुनिएको छ । पहिरो पन्छाइए पनि सडक बगाएकाले यातायात सञ्चालन गर्न समय लाग्ने जिल्ला ट्राफिक प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए । ग्याबिन वाल निर्माण गरेर भए पनि छिटोभन्दा छिटो गाडी चलाउन प्रयास भइरहेको उनले जानकारी दिए । प्रशासनले यात्रु र चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । 

नारायणगढ–मुग्लिन फेरि अवरुद्ध 
लगातारको वर्षासँगै पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध बनेको छ । शनिबार दिउँसो २ बजेबाट सडक थुनिएको हो । सुरुमा मुग्लिनको मुख्य प्रवेशद्वार र भालुढुंगामा पहिरो खसेपछि सवारीसाधन बीच सडकमै रोकिएका थिए । उक्त पहिरो पन्छाएर एकतर्फी सडक सुचारु गर्दै जोखिम क्षेत्रमा रोकिएका सवारीसाधन सुरक्षित ठाउँ पठाइएको थियो । दिउँसो चार बजेपछि पुन: भोर्ले र सेतीदोभानमा पहिरो खसेको छ । सडक माथिबाट ढुंगा खस्ने र पानी पर्ने क्रम नरोकिएकाले जोखिम बढी छ । 
वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । सडक थुनिएपछि ठाउँठाउँमा सवारीसाधन रोकिएका छन् । ‘पहिरो ठूलो छैन,’ खनालले भने, ‘पानी परिरहेको र ढुंगा खसेकाले पन्छाउन जोखिम भयो, आइतबार बिहानैबाट काम थाल्छांै ।’ पहिरो पन्छाउन नपाउँदै रात परेकाले तत्काल गाडी चल्न रोक लगाइएको जानकारी दिए । 
खनालका अनुसार मुग्लिनमा गाडीको ताँती छ । यात्रुसहितका गाडी आँपटारी, जुगेडी, दासढुंगामा रोकिएका छन् । 
मुग्लिन–कुरिनटार खण्ड पनि शनिबार साँझ पहिरो खसेपछि अवरुद्ध छ । ‘पहिरो पन्छाएर यातायात सुचारु गर्ने प्रयास जारी छ,’ जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले भने । उक्त खण्डमा पोखरा हुँदै काठमाडौं ओहोरदोहोर गर्ने सयौं सवारीसाधन बीच सडकमै रोकिएका छन् । 
थापाका अनुसार मुग्लिन खण्डको पहिरो पन्छाउन भने समस्या छ । ‘गाडी सुरक्षित ठाउँमै रोकिएका छन्,’ उनले भने, ‘प्रहरी, आयोजनाका कर्मचारी खटिइरहेकै छन् ।’ यो खण्डमा वर्षात् सुरु भएसँगै दुर्घटनाको जोखिम बढेको छ ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT