छानिए उत्कृष्ट शिशु

फातिमा बानु

काठमाडौं — परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले स्थापनाकालदेखि नै हरेक वर्ष शिशु प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीबाट अस्पतालले १२ जना स्वस्थ शिशु छानेर उत्कृष्टलाई पुरस्कृत समेत गर्छ ।

छानिए उत्कृष्ट शिशु

५८ औं वार्षिकोत्सवका अवसरमा अस्पतालले सोमबार १२ जना स्वस्थ शिशु छानेको छ । १२ जनाबाटै उत्कृष्ट तीन शिशुको घोषणा गरेको हो ।
अस्पतालले शिशुहरूलाई तीन समूहमा विभाजित गरी हरेक समूहबाट प्रथम, द्वितीय, तेस्रो र सान्त्वना गरी चार शिशुलाई पुरस्कार दिने गरेको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए । ‘मातृशिशु स्वास्थमा प्रेरणा मिलोस् भन्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरेका हौं ।’
उनले भने । यस वर्ष समूह ‘ए’ बाट समृद्धि जैसवाल उत्कृष्ट शिशु स्वास्थ्य घोषित भइन् । आमा रितु जैसवाल र पिता धीरेन्द्र जैसवालकी उनी दोस्रो सन्तान हुन् । उनी ४५ दिनकी मात्रै भइन् । जैसवाल परिवार सर्लाहीका हुन् । उचित लालनपालन र हेरचाहका कारण आफ्नो सन्तानले उत्कृष्ट शिशु स्वास्थ्यको उपाधि पाएको आमा रितुको भनाइ छ । ‘बच्चा पेटमा आएदेखि नै स्वास्थ्यबारे अध्ययन गर्थें, अनुभवी आमाहरूसँग सल्लाह लिन्थें, ‘उनले भनिन्, ‘डाक्टरले भनेअनुसार नियमित
चेकअप गरिरहन्थें ।’
रितुको पेटमा पानी जमेका कारण उनले ०७४ असार १३ गते शल्यक्रिया गरी बच्चा जन्माएकी हुन् । शल्यक्रिया गरेर जन्मिएका बच्चा अस्वस्थ हुन्छन् भने उनले धेरै सुनेकी थिइन् । भन्छिन्, ‘राम्रो हेरचाह गर्‍यो भने त्यस्तो नहुने रहेछ, मेरो बच्चा अहिलेसम्म बिरामी भएको याद छैन । मुख्य त पूर्णस्तनपान गराउने र बजारिया दुध खान नदिने अभ्यासले समृद्धि उत्कृष्ट तीन शिशुमा ग्रुप ‘ए’ बाट छानिन सफल भएको अस्पतालका निर्देशक डा. श्रेष्ठले बताए ।
अस्पतालका बालविशेषज्ञ चिकित्सक सहितको टोलीले शिशुको अवस्था, तौल, खानपानलगायत आमासँग परिवार नियोजन साधन र बच्चाको स्याहार गर्ने तरिकाबारे जानकारी लिएपछि उत्कृष्ट शिशु घोषणा गर्ने गरेको छ । यस्तै मापदण्ड पूरा गरेका कारण समूह ‘बी’ बाट प्रथम हुन पुगे– शिशु निजन प्रधान । उनी आमा मीरा प्रधान र पिता नितेन प्रधानका पहिलो शिशु हुन् । उनी पाँच महिनाका भए ।
बच्चाको लालनपालन होस् भनेर जागिर छोडी लागिपरेको आमा मीराको भनाइ छ । भन्छिन्, ‘पूर्ण स्तनपान नै बच्चाको स्वास्थ्यको मुख्य आधार हो भन्ने थाहा थियो, बच्चालाई मेरो दुधबाहेक अरू केही खुवाउँदिनँ ।’ बच्चा जन्मिनुपूर्व मीरालाई थाइराइड र उच्च रक्तचापको समस्या थियो । थाइराइड भएकी महिलाको बच्चा स्वस्थ हुँदैन भन्ने उनले धेरै सुनेकी थिइन् । तर, डाक्टरसँग नियमित सल्लाह लिने र अध्ययन गर्ने बानीका कारण बच्चा स्वस्थ बनाउन सफल भएको उनको अनुभव छ । भन्छिन्, ‘खोप लगाएको दिनबाहेक अरू बेला रोएकोसम्म छैन, आफ्नो र बच्चाको नियमित स्वास्थ्य परीक्षण गराइरहेकी छु,’ उनले भनिन् । शल्यक्रिया गरेर जन्मेका बच्चा स्वस्थ हुँदैनन् भन्ने हल्ला उनको हकमा पनि फेल खायो । उच्च रक्तचापका कारण मीराले शल्यक्रिया गरी बच्चा जन्माउनुपरेको थियो ।
२५ हजारबाट तेस्रो स्थान पाउने शिशु हुन्– मात्रिका महत । आमा लक्ष्मी महत र पिता कृष्णबहादुर महतका उनी पहिलो सन्तान हुन् । अहिले १० महिनाकी भइन् । जोडी काठमाडौंको सामाखुसी निवासी हुन् । १० महिना पुगिसक्दा पनि बच्चालाई बाहिरी खाना नखुवाएको आमा लक्ष्मीले बताइन् ।

प्रकाशित : भाद्र १, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?