धरापजस्ता सडक

पूर्वपश्चिम राजमार्गका सबैजसो स्थानमा यति धेरै खाल्डा छन् कि तिनलाई छलाउँदा छलाउँदै गाडी दुर्घटनामा पर्छन्
भरतपुर ब्युरो

जताततै खाल्डा अनि तिनमा टनाटन पानी । सडक हो कि तलाउ, छुट्याउन मुस्किल पर्छ । कालोपत्रे उप्किएर बगरझैं देखिन्छ । गाडीमा थोरै दूरी पार गर्न पनि घण्टौं लाग्छ ।

दुर्घटना जोखिम उत्तिकै छ । यो कुनै ग्रामीण सडकको वर्णन होइन, राजमार्गकै यस्तो हालत छ । पूर्वपश्चिम राजमार्ग र सहायक मार्ग कुनै ‘धराप’ भन्दा कम लाग्दैनन् ।

नवलपरासीस्थित मुख्य राजमार्ग र भित्री सडक हिलाम्मे छन् । व्यवस्थित ढल निकास नभएकाले वर्षामा सडक भत्किने गरेको छ । हिलोले यातायात अवरुद्ध भइरहन्छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा ठूल्ठूला खाल्डा छन् । पछिल्लो समय खाल्डाकै कारण दुर्घटना बढेको छ । यहाँ सामान्य वर्षामै दर्जनौं ठाउँमा पहिरो खस्छ । 

Yamaha

गैंडाकोट–रामपुर, भेडाबारी–बसेनी, दलदले–कोटथर, केउरेनी–बन्दीपुर, रजहर–बाहकोल, कावासोती–अर्खला हुँदै पाल्पा रामपुर, कावासोती–रकुवा, डण्डाख्पनौती, चोरमारा–रुचाङ, अरूणखोला–राँकाचुलीलगायत दुम्कीबास, बर्दघाट, सुनवलबाट उत्तरी पहाडी भेगका भित्री सडकमा आहाल जमेको छ । त्यसमाथि पहिरोको अवरोध उत्तिकै छ । बर्दघाट–त्रिवेणी, परासी–महेशपुर खण्डमा खाल्डाखुल्डीले पैदलयात्री र यातायात व्यवसायी मर्कामा छन् । सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अमित बर्मा सामान्य वर्षामा समेत पटकपटक पहिरो झर्ने भएकाले सडक बिग्रँदै गएको बताउँछन् । 

पोखरी जत्रा खाडल 
सोमबार मध्याह्न वीरगन्जको बिर्ताबाट यात्रु बोकेर बाइपास सडक सिमरा विमानस्थल गइरहेका भ्यान चालक जगदीश साह संकटमा परे । मुख्य सडकमै ठूल्ठूला पोखरी थिए । ठूला गाडीलाई नै खाल्डा पार गर्न सकस देखिन्थ्यो । ‘बडेमानका पोखरी कसरी तर्ने होला ?’ साह चिन्ता गर्न थाले, ‘उता जहाज उड्ने बेला हुन लागिसक्यो, हामी वीरगन्जमै छौं ।’ बाइपास हुँदै गुड्ने सवारीका हरेक चालकले अहिले यस्तै पीडा भोगिरहेका छन् । वीरगन्ज महानगरमा सवारी चाप घटाउन बनाइएको हो, बाइपास । तर, २ वर्षयता जीर्ण छ । नियमित मर्मत सम्भार छैन । नगवा चोकबाट बसपार्क नआउँदै, बसपार्क चोकको उत्तर र दक्षिण, भिस्वा होटल चोक र शुभलाभ पम्प गरी ५ ठाउँमा असाध्यै बिग्रिएको छ । साना–ठूला सबैजसो गाडी खाल्डोमा भासिने, बिग्रने गरेका छन् । त्रिभुवन राजपथको गण्डक चोकबाट सुरु भएर रजतजयन्ती चोकमा टुंगिने साढे ७ किमि लामो यो सडक विभागले २०५४ सालमा बनाएको हो । यहाँ दैनिक वीरगन्ज भन्सारबाट छुट्ने हजारभन्दा बढी मालवाहक सवारीसाधन गुड्छन् । ट्राफिक प्रहरीले मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई नगरको मुख्य सडक पस्न नदिने भएकाले चालकहरूलाई बाइपासको विकल्प छैन । 

सडकको दुरवस्था
मकवानपुरको हेटौंडाबाट राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ, हेटौंडा–भीमफेदी–कुलेखानी–दक्षिणकाली र फाखेल–फर्पिङ सडकको अवस्था नाजुक छ । सवारीसाधन जोखिम मोलेर आउजाउ गर्छन् । मुग्लिन–नारायण खण्ड बिग्रिएपछि राजपथमा चाप बढेको छ । यसले गर्दा खाल्डाखुल्टी झन् बढ्दै छन् । विगतमा दैनिक मुस्किलले एक सयजति गाडी आउजाउ गर्ने यो सडकमा अहिले चौबीसै घण्टा ठूला सवारीसाधन चल्छन् । 

त्यस्तै हेटौंडाबाट दक्षिणकाली तथा फाखेल–फर्पिङ हुँदै राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग पनि सहज छैनन् । फर्पिङतर्फको बाटो फराकिलो बनाएर ओटासिल त गरिएको छ तर ठाउँठाउँमा पहिरो खसेको छ । ओटासिल उप्किएर ठूल्ठूला खाल्डा बनेका छन् । कुनै पनि बेला पहिरोले सवारी साधन पुर्ने जोखिम छ । दक्षिणकालीतर्फ विगतदेखि नै स्तरोन्नति र मर्मत चलिरहेको छ, अझै सकिएको छैन । पहिरो झरिरहन्छ । खाल्डाखुल्डी उत्तिकै छन् । गाडीका टायरै पुरिने गरी हिलो जमेको छ । जोखिम मोलेरै दैनिक झन्डै हजारवटा जति हलुका सवारीसाधन गुड्छन् । दोस्रो चरणको ओटासिल र मर्मत गर्न फर्पिङतर्फको सडकमा मंगलबारदेखि भदौ मसान्तसम्मलाई अवागमन रोकिएको छ । जिल्ला समन्वय समितिबाट सञ्चालित ‘राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण’ अन्तर्गत ओटासिल गरी पहिरो पन्छाएर विभिन्न संरचना बनाउने तयारी छ । 

खाल्डैखाल्डा
रौतहटमा पनि पूर्वपश्चिम राजमार्गमा खाल्डाले दुर्घटना जोखिम बढाएको छ । धनसर पुलदेखि वाग्मती पुलसम्मको सडक निकै भत्किएको छ । तीव्र गतिका सवारीसाधन खाडल छल्ने क्रममै दुर्घटनामा पर्छन् । आव २०७३/०७४ मा यसरी ९४ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राममणि उप्रेतीले बताए । यी दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका छन् । ‘राजमार्गमा खाल्डैखाल्डा छन्,’ उप्रेतीले भने, ‘खाल्डा छल्ने क्रममा सवारीसाधन दुर्घटनामा पर्छन् ।’ डिभिजन सडक कार्यालयले रौतहटमा पूर्वपश्चिम राजमार्ग तथा सहायक मार्गका खाल्डाखुल्डी पुर्न आव २०७३/०७४ मा ७१ लाख ११ हजार रुपैयाँ खर्चिइएको जनाएको छ । तर, अहिले पनि सडकको दुरवस्था जस्ताको त्यस्तै छ । कार्यालयले १ करोड १० लाख रुपैयाँ अनुमानित बजेट छुट्याएको थियो । टेन्टर प्रक्रियामा राजभक्त कन्स्ट्रक्सन चन्द्रनिगाहपुरले ७१ लाख ११ हजार रुपैयाँमा सकारेको कार्यालयका इन्जिनियर रामेश्वर साहले बताए ।

जोखिम बढ्दो
सर्लाही खण्डमा सडकसँगै पुलसमेत जीर्ण भइसकेका छन् । वाग्मती, लखनदेही र कालिन्जोर पुलमा अनगिन्ती खाल्डा छन् । दुर्घटना गराउने एम्बुसजस्तै बनेका यी खाल्डा पुर्ने प्रयास अहिलेसम्म भएको छैन । बाँके जंगलनजिक कजवे खोल्न डाइभर्सन बनाउने योजना छ । तर, महिनौं बित्दा पनि डाइभर्सनको काम सकिएको छैन । राजमार्ग किनारकै नयाँरोडस्थित ट्रक व्यवसायी संघ कार्यालयअगाडिको तौल काँटामा भारवाहक सवारीले ठूलो खाल्डो बनाएको छ । तौल गरेर दैनिक लाखौं रुपैयाँ असुल्ने संघले खाल्डो पुर्न ध्यान दिएको छैन । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका नायब निरीक्षक केशरमान श्रेष्ठले खाल्डो पुर्न र सडक मर्मत गर्न सडक डिभिजनले ढिलाइ गर्ने गरेको बताए । ‘समयमै सडक मर्मत नहुँदा दुर्घटना बढेको छ,’ उनले भने, ‘बर्खाका बेला गरिएको काम टिकाउ हुँदैन ।’ उनले महिनामा एक/दुईवटा सवारी खाल्डाकै कारण दुर्घटनामा पर्ने गरेको उल्लेख गरे । सर्लाही खण्डमा पर्ने ३८ किमि सडक सबै नै बिग्रिएको छ । कपिलवस्तुमा पनि राजमार्गका बनेका खाडलले जोखिम बढेको छ । जिल्लामा पर्ने ५२ किमि सडकमध्ये कोठी खोला, बनगाई, इमिलिया र खरेन्द्रपुर आसपास खाल्डा छन् । चन्द्रौटा, सुरही नदी र शिवपुरमा पनि सडक बिग्रिएको छ । ‘खाल्डामा पानी जमेपछि अझ समस्या हुन्छ,’ खरेन्द्रपुरका सञ्जय मल्लले भने, ‘पानीले खाल्डो अझ ठूलो बनाइदिन्छ ।’ 

बाह्रैमास उस्तै समस्या 
राजधानी र पोखरालाई देशका अन्य भूभागसँग जोड्ने नारायणगढ–मुग्लिन सडक (३६ किमि) पार गर्न पहिले गाडीलाई एक घण्टा लाग्थ्यो । दुई वर्षयता सडक स्तरोन्नति क्रममा बनेका खाडलका कारण यात्रुले सास्ती भोग्नुपरेको छ । अहिले उक्त सडक पार गर्न २ घण्टाभन्दा बढी लाग्छ । मुलुकको ‘लाइफ लाइन’ मानिएको मार्ग अहिले ‘धराप’ छ । कालोपत्रको नामोनिसान छैन । खाल्डाले दुर्घटना निम्त्याउन थालेपछि स्थानीय प्रशसनले ग्राभेल राखेर सम्याउन निर्देशन दिए पनि ठेकेदारले वास्ता गरेको छैन । खाडलमा उफ्रिँदा पट्टा भाँचिएर थन्किएका गाडी प्रशस्तै भेटिन्छन् । यो खण्डमा सवारी जाम हुनुको मुख्य कारण यही नै हो । 

‘धेरैजसो गाडी खाडल जोगाउने क्रममा त्रिशूलीमा खसेका र दुर्घटना भएका छन्,’ जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले भने, ‘चालकलाई मात्र दोषी देखाएर के गर्नु ? सडकको अवस्था नै कहालीलाग्दो छ ।’ यो सडकमा एक मिटरसम्म गहिरा खाडल छन् । साना सवारी खास गरी जिप, कार र मोटरसाइकललाई निकै असहज छ । ‘सडकको अवस्था धराप छ, यस्तैमा गाडी चालक ओभरटेक गर्न खोज्छन्,’ जिल्ला ट्राफिक प्रमुख सन्तोष पन्तले भने, ‘दुर्घटनाको मुख्य कारणमध्ये खाडल पनि एक हो ।’

Esewa Pasal

प्रकाशित : भाद्र ११, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कृषिबाटै उन्नति

भरतपुर ब्युरो

चितवन — पढे–लेखेका अधिकांश युवा खेती गर्न रुचाउँदैनन् । तर, नवलपरासी हुप्सेकोट–३ बेलहानीका थमन रजाली ७ वर्षदेखि गाउँमै तरकारी खेतीमा व्यस्त छन् ।

पत्रकारितामा स्नातक गरेका उनी तरकारीबाट वार्षिक २० लाखभन्दा बढी मुनाफा गरेको बताउँछन् । उनले ४ बिघाभन्दा बढी जमिनमा खेती गरेका छन् । काँक्रो, गोलभेंडा, भेडे खुर्सानी, फर्सी फलाएका छन् । थोपा सिंचाइ, मल्चिङ, प्लास्टिक पोखरी, पावर टिलर, पावर स्प्रे, मेसिन, ट्रेजस्ता प्रविधिमार्फत खेती गर्दै आएका छन् । ‘खेतीका लागि उर्वर छ, यही माटोमा भविष्य देखेर लागेको हुँ,’ उनले भने, ‘ हामी विदेशमा गएर अर्काको काम गर्नुभन्दा यही बसेर मिहिनेत गरे ढिलोचाँडो स्थापित हुन सकिन्छ ।’ छोरालाई ८६ वर्षीय धनबहादुरले समेत साथ दिएका छन् ।’ थमनले २०७३ को उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित भएपछि थप हौसला बढेको बताए । 

त्यस्तै, बारा सिम्रौनगढ ८ का ३९ वर्षीय धर्मेन्द्र यादवलाई ६ वर्षअघि गाउँमा सबैले ‘हल्लौरे’ भन्थे । खाने र घुम्नेबाहेक काम थिएन । भारत मजदुरीमा गएपछि बल्ल उनले श्रम र पैसाको महत्त्व बुझे । त्यसपछि गाउँ फर्के, ५ कठ्ठामा पोखरी निर्माण गरी माछापालन थाले । हाल उनको १० बिघामा पोखरी छन् । जिल्ला कृषि कार्यालय र माछा निर्देशनालय बालाजुबाट विश्व खाद्य दिवसलगायतमा पटक–पटक उत्कृष्टको पुरस्कार थापिसकेका छन् । अहिले वार्षिक ५० लाखका माछा कारोबार गर्छन् । वार्षिक १० लाख बचत गर्न समस्या छैन । 

नयाँ–नयाँ काम गरी ख्याति कमाउन सुविधासम्पन्न सहर र पहुँचकै खाँचो पर्दैन । त्यस्तै, ख्याति कमाएकामध्ये कपिलवस्तु शिवराज नगरपालिका ११ हरहवाका फरहान अकवाल खाँ पनि एक हुन् । कृषि अध्ययन नगरे पनि कृषिमा उनले नजानेको विषय नै छैन । खाँ एकीकृत मत्स्य फर्म तथा ह्याचलिङ व्यवसाय सञ्चालन गरेका छन् । उनको श्रम र मिहिनेत जिल्लामा मात्र सीमित छैन । मुलुकका १५ देखि २० जिल्लासम्म सिकाउन पुग्छन् । वार्षिक ३० लाख माछाका भुरा बिक्री गर्छन् । ७० देखि एक सय टन माछा बेच्छन् । ‘माछा र भुरा उत्पादनमा जोड दिएका छौं,’ उनले भने, ‘ बजार र आम्दानी राम्रो छ ।’ उनका उत्पादन कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र रूपन्देहीसम्म पुग्छ । उनको ११ हेक्टरमा ४० पोखरी छन् । 

पर्सास्थित वीरगन्जको न्यू ओम खाद्य उद्योगका मालिक ताराप्रसाद गुप्ता केही वर्षयता व्यवसायको विकल्प खोज्दै थिए । भारतबाट निर्बाध भित्रिने तयारी चामलले साविकको व्यवसाय समस्यामा थियो । दुई वर्षअघि आमालाई शुद्ध दूध खुवाउन एउटा उन्नत गाई खरिद गरे । छिमेकीले पनि दूध माग्न थालेपछि उनले अर्को थपे । माग बढदै गएपछि अहिले ६० वटा गाई गुप्ताको वीरगन्ज २७ स्थित क्याप्टेन फर्ममा छन् । त्यसमध्ये ३० ले दैनिक ४ सय लिटर दूध दिन्छन् । ३० गर्भिणी छन् । २ महिनाभित्र ती गाई पनि व्याएर दूध दिन थाल्छन् । दूधले बजारको माग नधानेकाले गुप्ता अझै गाई थप्ने मनस्थितिमा छन् । गीता मन्दिर रोडमा आफ्नै पसलमा बिहान बेलुका दूध खोज्दै आउने ग्राहकको बाक्लो भीड देखेर चकित पर्छन् । ‘उपभोक्तालाई अरू केही हैन शुद्ध दूध चाहिएको रहेछ,’ ४७ वर्षीय गुप्ता भन्छन्, ‘मैले पनि शुद्धतामा कुनै सम्झौता गरिनँ, आखिर यही इमानदारी मेरो नयाँ व्यवसायका लागि सफल मन्त्र साबित भयो ।’ 

फर्मबाट निस्किएको गोबर प्रयोग गरेर जैविक मल बनाउँछन् । भविष्यमा ४ बिघा खेत भाडामा लिएर उन्नत जातको घाँस उत्पादन गरेर वर्षैभरि गाईलाई पुग्ने घाँसको जोहो गर्ने उनको तयारी अन्तिम चरणमा छ । यसबाहेक माछापालन पनि गर्ने उनले तयारी गरेका छन् । ‘बिदेसिने युवाहरूलाई स्वदेशमा जाँगर चलाउन सुझाव दिन्छु,’ उनले भने, ‘हरेस खाएर बिदेसिनुभन्दा स्वदेशमै पसिना चुहाउन सके कमाइ हुन्छ ।’

(कपिलवतस्तुबाट मनोज पौडेल, नवलपरासीबाट नवीन पौडेल, पर्साबाट शंकर आचार्य र बाराबाट लक्ष्मी साह)

प्रकाशित : भाद्र ४, २०७४ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT