एमाले शीर्ष नेता मधेसमा

भुषण यादव

वीरगन्ज — प्रदेश २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउन प्रमुख प्रतिपक्षी एमालेका शीर्ष नेता वीरगन्जमा भेला भएका छन् ।

एमाले शीर्ष नेता मधेसमा

शीर्ष नेतृत्वलाई सोमबारदेखि बुद्धिजीवीसँग छलफल, पार्टी प्रवेश तथा उम्मेदवारसँगै घरदैलो अभियानमा सहभागी गराइने एमाले पर्साले जनाएको छ । 

‘अन्य प्रदेशमा चुनाव सम्पन्न भइसके,’ एमाले पर्सा इन्चार्ज प्रभु हजराले भने, ‘त्यही भएर पनि केन्द्रीय नेता वीरगन्ज केन्द्रित भएका हुन् ।’ पार्टी स्थायी समिति सदस्य शंकर पोखरेलले चुनावी रणनीति र उम्मेदवार छनोटबारे छलफल भएको जनाए । ‘प्रदेश नम्बर २ का अगुवा साथीहरू यहीं आउनुभएको छ,’ उनले भने, ‘चुनावी रणनीति र उम्मेदवारका लागि अनौपचारिक छलफल भइरहेका छन् ।’ पछिल्लो समय एमालेले राष्ट्रिय राजनीतिमा लिएको अडानकै पछाडि मधेस केन्द्रित दल आएको उनको जिकिर छ । 

पार्टीका कार्यबाहक अध्यक्ष वामदेव गौतम, स्थायी कमिटी सदस्य विष्णु पौडेल, शंकर पोखरेल, स्कुल विभागका सचिव ईश्वरी रिजाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, रघुवीर महासेठ लगायत नेता बिहानदेखि छलफलमा जुटेका छन् । दुई दिनदेखि गृहजिल्ला रौतहटमा रहेका नेता माधव नेपाल पनि आइतबार साँझ पर्साको परवानीपुरमा चुनावी भेलालाई सम्बोधन गरेर वीरगन्ज आएका छन् । यसअघि वीरगन्जमा बिहान आयोजित प्रशिक्षण भेलामा स्थायी समिति सदस्य शंकर पोखरेलले जिल्लाका अगुवा कार्यकर्ता, सम्भावित उम्मेदवार, सांसदलगायतलाई प्रशिक्षण दिएका थिए । एमालेले गरेको जनप्रिय कार्यलाई जनतामाझ लिएर जान र मत आकर्षण गर्न नेताहरूले प्रशिक्षण दिएका थिए । 

पछिल्लो मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीपछि एमालेलाई मधेसविरोधी पार्टीका रूपमा मधेसी जनताबीच छरिएको भ्रम हटाउन पनि भेला केन्द्रित रहेको एक नेताले बताए । ‘एमालेले लिएको अडान मधेसी जनताकै पक्षमा रहेको भन्ने कुरा यहाँका जनताले बिस्तारै बुझ्दै गएका छन्,’ कान्तिपुरसँग पोखरेलले भने, ‘पार्टीभन्दा पनि केही नेताविरुद्ध जनता रहेको बुझिएको छ ।’ बिस्तारै भ्रम हट्दै गएपछि पार्टीप्रति आकर्षण बढिरहेको पोखरेलले दाबी गरे । मधेस आन्दोलनको ‘केन्द्रविन्दु’ बनेको वीरगन्ज प्रदेश २ को एक मात्र महानगरपालिका हो । भारतीय महावाणिज्य दूतावास पनि यहाँ सञ्चालनमा छ । यसअघि दुई चरणमा सम्पन्न भएका ६ प्रदेशका चुनावमा नगरप्रमुख र गाउँपालिका अध्यक्ष पदमा बढी स्थान जितेर पहिलो भएको एमालेले समग्रमै स्थानीय तहको सम्पूर्ण पदको ४५.२१ प्रतिशत हिस्सा जित्न सफल भएको छ । 

प्रदेश २ को १ सय ३६ स्थानीय तहमा हुने निर्वाचनमा ६० देखि ७० सिट जित्ने योजनामा पार्टी रहेको एक नेताले बताए । निर्वाचन सम्पन्न नहुन्जेलसम्म केन्द्रीय कार्यालय मधेसबाटै सञ्चालनमा ल्याउने रणनीति बनेको ती नेताले बताए । 

 

प्रकाशित : भाद्र १२, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?