कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काम नगरी ठेकेदार बेपत्ता

धनकुटा/तेह्रथुम — मुख्य ठेकेदार लाखौं रकम भुक्तानी नगरी बेपत्ता भएको भन्दै सडक निर्माणमा खटाइएका कामदार र निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सिन्धुवा–शुक्रबारे १० किमि सडक मर्मत सम्भारको जिम्मा लिएको वाईपी कन्स्ट्रक्सनले बीचैमा काम छाडेको हो ।

पेटी ठेकेदार र कामदारलगायत २ सयभन्दा बढी व्यक्तिले भुक्तानी नपाएको उनीहरू बताउँछन् । प्रभावितले छथर जोरपाटी–६ सिन्धुवास्थित निर्माण कम्पनीको फिल्ड कार्यालयमा ताला लगाइदिएका छन् । डेनिस सरकारको उन्नति कार्यक्रमअन्तर्गत ४ करोड ५० लाख रुपैयाँ सहयोगमा मर्मत सम्भार थालिएको थियो । सडक डिभिजनको साढे १० करोड लगानीको योजना जिल्ला प्राविधिक कार्यालयमार्फत वाईपी कन्स्ट्रक्सनलाई दिइएको थियो । लेगुवा जोड्ने दारेगौंडा–मारेकटहरे, सिन्धुवा–शुक्रबारे, हिले–वसन्तपुर र वसन्तपुर–म्याङलुङ खण्ड पेटी ठेक्कामा लिएर ६ ठेकेदारले काम गर्दै आएका थिए ।

मुख्य ठेकेदार राजुप्रसाद श्रेष्ठलाई ६ महिना ताकेता गर्दा पनि रकम नपाएपछि आन्दोलनमा उत्रनुपरेको पेटी ठेकेदारले पत्रकार भेलामा बताए । कन्स्ट्रक्सनका निर्देशक श्रेष्ठ र लेखापाल मनोहर शाक्य सम्पर्कबाहिर रहेको प्रभावित पक्षको भनाइ छ । हिलेदेखि म्याङलुङसम्म मर्मत सम्भार काम गरेको ९२ लाख रुपैयाँ नपाएको निर्माण व्यवसायी राजेन्द्र घतानीले बताए । अर्का व्यवसायी केशव श्रेष्ठले ५० लाखभन्दा बढी र भीम गुरुङले ७० लाख नपाएको गुनासो गरे ।

छथरजोरपाटी–६ का वडाध्यक्ष दिलबहादुर थापाले कैयौं व्यवसायी मर्कामा परेको बताए । प्रभावित पक्षले कन्स्ट्रक्सनको कार्यालयमा ताला लगाउनुका साथै १२ वटाभन्दा बढी सवारीसधान नियन्त्रणमा लिएको छ । निर्माण कम्पनीका सवारीसाधनलाई उपलब्ध गराएको इन्धनबापतको २५ लाख रुपैयाँ पाउन बाँकी रहेको काफ्ले सप्लायर्स प्रालिका सञ्चालक चेतनाथ चापागाईंले गुनासो गरे ।

सहायक ठेकेदारले काममा लगाएका ४ सयभन्दा बढी कामदारको पारिश्रमिकबापत करिब २० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । मजदुरलाई खाना, खाजा खुवाउने होटल र निर्माण सामग्रीको पनि १५ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको उनीहरूको भनाइ छ । होटल व्यवसायी कमला गुरुङ र पवित्रा भण्डारीले मजदुरलाई खाना खुवाएको हजारौं रुपैयॉ नपाएको बताए । यी समस्या समाधान गरेर तत्काल सडकको काम अघि बढाउन सिन्धुवा बजार व्यवस्थापन समिति अध्यक्ष शिवकुमार श्रेष्ठले ठेकेदारसँग आग्रह गरेका छन् । कन्स्ट्रक्सनले भने सडक डिभिजनबाट पेस्कीबापत साढे २ करोड लिइसकेको स्रोतले जनाएको छ । कम्पनीले समयसीमाभित्र काम नसकेपछि उक्त सडकको दुरवस्था छ । सडक डिभिजन प्रमुख विष्णु काफ्लेले म्याद सकिए पनि हर्जाना तिरेर काम गरे समय थप्ने सकिने बताए ।

प्रकाशित : भाद्र २५, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?