कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वर्षमा एक दिन पनि उठ्दैन फोहोर

गुलरिया — सदरमुकाम गुलरिया नगरपालिकाले वर्षमा एक दिन पनि फोहर उठाउँदैन् । तर, वार्षिक घरजग्गा कर बुझाउँदा अनिवार्य फोहोर संकलन कर बुझाउन स्थानीय बाध्य छन् ।

वर्षमा एक दिन पनि फोहोर नउठाउने नगरपालिकाले सर्वसाधरणसँग जबरजस्ती वार्षिक कर उठाउँदै आएको स्थानीयको गुनासो छ । गुलरिया ५ का रामु थारूले नगरपालिकाले एक दिन फोहोर संकलन नगरे पनि वार्षिक ३६० रुपैयाँ कर असुल्दै आएको बताए । उनी मात्रै होइन वडा ६ बाहेक अन्य ११ वडामा नगरपालिकाको ट्रयाक्टर पुगेर फोहोर संकलन नगरेको स्थानीय बताउँछन् । नगरपालिकाका फोहोर सरसफाइ संकलनमा संलग्न कर्मचारी जिल्ला प्रहरी कार्यालयदेखि राधकृष्ण चोक र पुरानो बजार क्षेत्रमा मात्रै सीमित छन् । बिहान फोहोर संकलनमा संलग्न कर्मचारीले यसै क्षेत्रमा मात्र फोहोर संकलन गर्ने गरेका छन् । स्थानीयले पटक–पटक फोहोर संकलन नभएको भन्दै जनप्रतिनिधिसँग गुनासो गरे पनि सुनवाइ भएको छैन । नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयको आसपास, पुरानो बजार र राधाकृष्ण चोकबाहेक अन्यत्र सफाइ कर्मचारी पुग्दैनन् । ‘जनप्रतिनिधि भएको समयमा त यस्तो स्थिति छ । यसअघिको समस्या कस्तो थियो होला ?’ गुलरिया ४ का राजु गोडियाले भने, ‘जनताका समस्या सुनेनन् भने स्थानीय तहमा जनप्रतिनिधि भए/नभएको कसरी अनुभूति गर्ने ?’ 

गत वर्ष यसविरुद्ध युवा जागरण अभियानको अगुवाइमा नाराबाजी गर्दै नगरपरिषद् केहीबेर अवरोध गरिएको थियो । यसको सुनुवाइ अझै भएको छैन । चुनावताका विभेद कर हटाउने आश्वासन दिएका र अहिलेका नेतृत्वमा पुगेका नगरपालिकाका पदाधिकारीहरूले फोहरको समस्या समाधान गर्न नसकेको स्थानीयको गुनासो छ । गत आवमा नगरपालिकाले घरजग्गालगायत कर दोब्बर बढाएको थियो । नगर प्रमुख मुक्तिनाथ यादवले फोहोर नउठाउने ठाउँमा कर संकलन गरे/नगरेको बुझेर छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिए । फोहोर संकलनमा नगरपालिकाले १२ कर्मचारी खटाउने जनाएको छ । 

 

प्रकाशित : भाद्र २५, २०७४ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?