१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुल छ, सडक छैन

डम्बरसिं राई

जालपा(खोटाङ) — धेरै ठाउँ सडक हुन्छ तर पुल हुँदैन । यहाँ भने पुल भएर पनि सडक छैन । हुर्लुङ–जालपा–ऐसेलुखर्क सडकखण्ड अन्तर्गत माक्पा र जालपाको बीचमा पर्ने रावाखोलामा पुल बने पनि सडकको काम पूरा हुन सकेको छैन ।

पुल छ, सडक छैन



स्वीस सरकारको करिब साडे चार करोडको लागतमा सम्पन्न उक्त पुल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र ऐसेलुखर्क गाउँपालिका–७ माक्पा जोडिएको छ । पुलको वल्लो र पल्लोपट्टी (एप्रोच रोड) सडक नबन्दा पुल उपयोग हुन सकेको छैन । पुल बने पनि सडक अपुरै हुँदा सिधा यातायात सञ्चालन हुन सकेको छैन ।

एप्रोच रोडका लागि स्वीस सरकारको सहयोगमा करिब ८५ लाख रुपैयाँको ठेक्का लागेको स्वीस सम्वद्ध कर्मचारी सुशिल श्रेष्ठले बताए । एप्रोच रोडका लागि करिब एक करोडको इस्टिमेट भए पनि घटाघटको बोलपत्रमा ८५ लाखमा फ्युचर–कुवर जेबी कम्पनीले ठेक्का पारेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आगामी पुस–माघभित्र काम सकिने छ ।

‘यो पुलको एप्रोच रोडका लागि ठेक्का लागि सकेको छ,’ श्रेष्ठले भने, ‘अब पुस–माघभित्रमै काम सकिन्छ ।’

त्यसो त हुर्लङ–जालपा–ऐसेलुखर्क ४० किलोमिटर सडकमध्ये माक्पा–ऐसेलुखर्क करिब साडे छ किलोमिटर सडक पनि अपूरै छ । स्वीस सरकारको सहयोगमा निर्माणाधीन सडक स्वीसले अपूरै छाडेकाले अलपत्र परेको छ । हुर्लङ–जालपा–ऐसेलुखर्कसम्मको ४० किलोमिटर सडकका लागि स्वीस सरकारले करिब ८० करोड रकम विनियोजन गरे पनि करिब ३८ करोड मात्र खर्च भएको छ ।

नेपाल सरकार र स्वीस सरकार बीच सडक निर्माणमा काम नगर्ने सहमतिपछि सडक अलपत्र परेको श्रेष्ठको भनाइ छ । ‘नेपाल सरकार र स्वीस सरकारको सहमति अनुसारै सडकसम्वन्धी कामको फ्रेज आउट भएको हो,’ श्रेष्ठले भने, ‘सडकसम्वन्धी कामको फ्रेजआउट भएकाले काम छोड्नु परेको हो ।’

जिल्लास्थित राजनीतिक दलहरुले स्वीस सरकार र नेपाल सरकारसंग अपूरो सडक पूरा गर्न पटक–पटक अनुरोध गर्दा समेत सुनुवाइ नभएको गुनासो गरेका छन् । ‘अपूरो सडक पूरा गर्न हामीले पटक–पटक स्वीस सरकार र नेपाल सरकारसमक्ष अनुरोध गर्‍यौं,’ कांग्रेस महासमिति सदस्य तथा पूर्व जिविस सभापति विष्णुकुमार राईले भने, ‘हाम्रो अनुरोधप्रति सुनुवाइ भएन । स्वीस विकासप्रति भन्दा पनि आफू अनुकूल काम गर्न चाहँदो रहेछ ।’

पूर्व सांसद टंक राईले भने आफूले थालेको काम सक्न स्वीस सरकारको नैतिक जिम्मेवारी भएको बताए । ‘यो विषयमा स्वीसले नैतिक जिम्मेवारी लिनुपर्ने हुन्छ,’ राईले भने, ‘नैतिकवान दातृ निकायले कहिले पनि त्यसरी काम छोड्न मिल्दैन ।’

हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक पूरा भएपछि जिल्लामा उत्पादित सामग्री निकासीमा सहयोग पुग्ने छ । यो सडक सोलुखुम्बुसम्म जोडिने भएकाले हलेसी, तुवाचुङजायजुम, रुपाकोट, मझुवागढी, कालिका भगवती, बढेश्वरगुफा, भुलभुले, टेम्के, बराहाताल, जन्तेढुङ्गा हुदै तराईसम्म पर्यटन प्रबद्र्धनमा समेत उपयोगी हुने पूर्व सांसद राईले बताए ।

प्रकाशित : भाद्र २६, २०७४ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?