२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बाढीले विस्थापित

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिकाको जम्बुस्थित सिगार्चे ढाडोखोलामा बाढी आएको छ। बाढीले एक परिवारलाई विस्थापित बनाएको छ। ६ घर उच्च जोखिममा परेका छन्। बाढीकै कारण यहाँका बासिन्दा त्रासमा छन्।

बाढीले ऋण गरी बनाएको टहरा बगाएपछि बाह्रबिसे नगरपालिका, गातीका रामबहादुर तामाङ अन्योलमा परेका छन्। अन्यत्र जान जमिन नभएपछि ३ वर्ष पहिरोमुनि कटाएको उनको परिवार कहाँ जाने अन्योलमा परेको हो। ‘बस्ने घर गरिखाने जग्गा बगाएर लग्यो अब जाने कहाँ? पहिल्यै सुरक्षित स्थानमा जान्थें, ठाउँ पाइनँ,’ उनले दुखेसो पोखे, ‘अरूका घरमा आश्रय लिएर बसिरहेको छु। कतिन्जेल यसरी बस्नुपर्ने हो?’गत असार २१ मा आएको भोटेकोसी बाढीको सास्ती खेपेका १० परिवारको टहरामा बाढीले क्षति पुर्‍याएको छ। ६ परिवार भेलले भत्काएको पहिरोको जोखिममा छन्। अन्य तटीय क्षेत्रका ३० परिवारको टहराभित्र भेल पसेको छ। आइतबारको अविरल वर्षाले ढाडो खोलाको बाढीको कटानले गर्दा वरिपरिको जमिन भासिएको स्थानीय गोविन्द खत्रीले बताए। ‘कोसी बढिरहेकाले राति निदाउन सकेका थिएनौं,’ उनले भने।

उनका अनुसार बाढीले केही पशु चौपाया तथा खेतीयोग्य जमिन बगाएको छ। प्रहरीले टहराभित्रका सामग्री निकाल्न र उद्धारमा जुटेको जनाएको छ। ‘बाढीको भेल घरभित्र पसेपछि स्थानीय त्रासमा छन्, भत्किएका टहराभित्रको सामग्री झिकिरहेका छौं,’ घटनास्थलमा पुगेका प्रहरी जवान केदार तिवारीले भने, ‘भेलले रोक्का टोल र जम्बुको जमिन भत्काउँदै लगेको छ।’ बाढीले जम्बुस्थित निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनाको पावरहाउस बन्ने स्थानको भवनमा पनि क्षति पुर्‍याएको छ। आयोजनाको सवारी र चिनिया कन्स्ट्रक्सनको मेसिन पहिरोमा पुरिएको छ।

प्रकाशित : भाद्र २७, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?