बाढीले हजार बिघा जमिन कटान
बाँके — साउन अन्तिम साता आएको बाढीले यहाँका किसानको करिब हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन कटान भएको छ । राप्ती र मानखोलाको बाढीले लगाएको धान, मकै, रहर, बदाम र तरकारीसहितको जग्गा कटान गरेको हो ।
सयौँ बिघा जग्गा बालुवाले पटान भएको छ । कतिपय किसान यो वर्ष पनि जग्गाविहीन भएका छन् । सयौं किसानको खेत बगरमा परिणत भएको जिल्ला कृषिले जनाएको छ । रोपाइँ गरिएको धानसहित ५ सय बिघा कटान भएको हो ।
जिल्ला कृषि विकासका सूचना अधिकारी धनबहादुर पुनले बाढीले थुप्रै किसान जग्गाविहीन बन्न पुगेको बताए । उनले सयौँ बिघामा लगाएको वर्षे बाली कटान र पाटनमा परेको बताए । ‘एक हजारभन्दा बढी किसानको कटान भएको जग्गाको विवरण आइसकेको छ । आउने क्रम अझै जारी छ,’ उनले भने, ‘बाढीले कृषि क्षेत्रमा करोडौं क्षति पुर्याएको छ ।’ राप्तीको बाढीले आसपासका किसानका जग्गा बर्सेनि कटान र पटान गर्दै आएको छ । जसका कारण जग्गाधनी भूमिहीन बन्दै गएका छन् । कटान नियन्त्रणका लागि राप्तीको दुवै किनारमा तटबन्ध नहुँदा खेतीयोग्य जमिन कटानमा पर्दै आएका छन् । यही कारण दर्जनभन्दा बढी गाउँ विस्थापित भइसकेका छन् ।
जिल्ला कृषिका अनुसार रोपाइँ गरिएको करिब ५ सय बिघा कटानमा परेको छ । त्योभन्दा बढी बालुवाले पुरेको छ । मकै लगाइएको करिब अढाई सय बिघा पनि नदीले खाएको छ । त्योभन्दा बढी मकै बाली पटानमा परेको कृषिले जनाएको छ । करिब ४० बिघा रहरसहित खेत नदीमा बगेको छ । करिब ५० बिघाको तील खेत बग्यो । सबैभन्दा बढी राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका किसानको खेत कटानमा परेको हो । बैजनाथ र खजुरा गाउँपालिकाका किसानको खेत मानखोलाले कटान गरेको छ । डुडवा गाउँपालिकाका किसानको खेत डुडवा नाला र राप्तीले कटान गर्दै आएको हो ।
बाँकेको कुसुमदेखि भारतको सीमासम्म राप्ती नदीको २५ किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइलाई आधार मान्ने हो भने ७ हजार हेक्टरभन्दा बढी जग्गा यसअघि कटान भइसकेको छ । ०७२ मा आएको बाढीले बाँकेको १ हजार १ सय २९ हेक्टर जग्गा कटान गरेको थियो । यसले राप्ती आसपास खेतीयोग्य जमिन खुम्चिँदै गएको छ । हरेक वर्ष राप्तीले खेतीयोग्य जग्गा कटान गर्दा धेरै किसान समस्यामा पर्दै आएका छन् । बाँकेको पूर्वी क्षेत्रका करिब १० हजार बिघाभन्दा बढी राप्ती नदीले कटान र पटान गरेको स्थानीयको अनुमान छ ।
प्रकाशित : भाद्र २७, २०७४ १०:००