गौशाला नगरपालिकामा बम विस्फोट

रवीन्द्र उप्रेती

महोत्तरी — गौशाला नगरपालिकामा सोमबार राति सिलिन्डर बम विस्फोट भएको छ ।राति करिब साढे आठ बजेतिर वडा नं ८ स्थित बेलगाछिनजिक विस्फोट भएको प्रहरीले जनाएको छ । बमको आवाज ५ किमि आसपासका क्षेत्रसम्म सुनिएको थियो ।

गौशाला नगरपालिकामा सोमबार राति सिलिन्डर बम विस्फोट भएको छ ।
राति करिब साढे आठ बजेतिर वडा नं ८ स्थित बेलगाछिनजिक विस्फोट भएको प्रहरीले जनाएको छ । बमको आवाज ५ किमि आसपासका क्षेत्रसम्म सुनिएको थियो । विस्फोट भएको केहीबेरमै घटनास्थल पुगेको प्रहरीले त्यहाँबाट बम पड्काउनका प्रयोग गरिएका मोटरसाइकलका जलेका टायर र केही कपडा बरामद गरेको जनाएको छ ।
गौशालास्थित इलाका प्रहरीका निरीक्षक शंभु पोखरेलकाअनुसार विस्फोट स्थलदेखि १५ मिटरको दूरीमा उछिट्टिएर पुगेको ग्यास सिलिन्डरको माथिलो भाग फेला परेको आधारमा सिलिन्डर बम विस्फोट भएको अनुमान गरिएको हो । बम कसले विस्फोट गरायो भन्ने बारेमा अझैसम्म केही खुलेको छैन ।
विस्फोटबाट कुनै प्रकारको भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । तर, निर्वाचन तिथि संघारमा आइपुगेको बेला भएको यस प्रकारको विस्फोटले सर्वसाधारणमा भने त्रास सिर्जना गरेको छ । साता दिनअघि पनि बर्दिवासमा बम विस्फोट गराइएको थियो ।

प्रकाशित : भाद्र २७, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

बाढीले हजार बिघा जमिन कटान

ठाकुरसिंह थारू

बाँके — साउन अन्तिम साता आएको बाढीले यहाँका किसानको करिब हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन कटान भएको छ । राप्ती र मानखोलाको बाढीले लगाएको धान, मकै, रहर, बदाम र तरकारीसहितको जग्गा कटान गरेको हो ।

सयौँ बिघा जग्गा बालुवाले पटान भएको छ । कतिपय किसान यो वर्ष पनि जग्गाविहीन भएका छन् । सयौं किसानको खेत बगरमा परिणत भएको जिल्ला कृषिले जनाएको छ । रोपाइँ गरिएको धानसहित ५ सय बिघा कटान भएको हो ।

जिल्ला कृषि विकासका सूचना अधिकारी धनबहादुर पुनले बाढीले थुप्रै किसान जग्गाविहीन बन्न पुगेको बताए । उनले सयौँ बिघामा लगाएको वर्षे बाली कटान र पाटनमा परेको बताए । ‘एक हजारभन्दा बढी किसानको कटान भएको जग्गाको विवरण आइसकेको छ । आउने क्रम अझै जारी छ,’ उनले भने, ‘बाढीले कृषि क्षेत्रमा करोडौं क्षति पुर्‍याएको छ ।’ राप्तीको बाढीले आसपासका किसानका जग्गा बर्सेनि कटान र पटान गर्दै आएको छ । जसका कारण जग्गाधनी भूमिहीन बन्दै गएका छन् । कटान नियन्त्रणका लागि राप्तीको दुवै किनारमा तटबन्ध नहुँदा खेतीयोग्य जमिन कटानमा पर्दै आएका छन् । यही कारण दर्जनभन्दा बढी गाउँ विस्थापित भइसकेका छन् ।

जिल्ला कृषिका अनुसार रोपाइँ गरिएको करिब ५ सय बिघा कटानमा परेको छ । त्योभन्दा बढी बालुवाले पुरेको छ । मकै लगाइएको करिब अढाई सय बिघा पनि नदीले खाएको छ । त्योभन्दा बढी मकै बाली पटानमा परेको कृषिले जनाएको छ । करिब ४० बिघा रहरसहित खेत नदीमा बगेको छ । करिब ५० बिघाको तील खेत बग्यो । सबैभन्दा बढी राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका किसानको खेत कटानमा परेको हो । बैजनाथ र खजुरा गाउँपालिकाका किसानको खेत मानखोलाले कटान गरेको छ । डुडवा गाउँपालिकाका किसानको खेत डुडवा नाला र राप्तीले कटान गर्दै आएको हो ।

बाँकेको कुसुमदेखि भारतको सीमासम्म राप्ती नदीको २५ किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइलाई आधार मान्ने हो भने ७ हजार हेक्टरभन्दा बढी जग्गा यसअघि कटान भइसकेको छ । ०७२ मा आएको बाढीले बाँकेको १ हजार १ सय २९ हेक्टर जग्गा कटान गरेको थियो । यसले राप्ती आसपास खेतीयोग्य जमिन खुम्चिँदै गएको छ । हरेक वर्ष राप्तीले खेतीयोग्य जग्गा कटान गर्दा धेरै किसान समस्यामा पर्दै आएका छन् । बाँकेको पूर्वी क्षेत्रका करिब १० हजार बिघाभन्दा बढी राप्ती नदीले कटान र पटान गरेको स्थानीयको अनुमान छ । 

प्रकाशित : भाद्र २७, २०७४ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्