बिमाकुमारीले चुमेर बिदा गरिन् भेडीखर्केलाई

आश गुरुङ

सुन्दरबजार (लमजुङ) — ठाडो भाका गायक भेडीखर्के साइँला (दीर्घराज अधिकारी) को पार्थिव शरीरको पाउतिर मस्र्याङदीको पानीमा डुबाएर चितामा जलाउने तयारी भइरहेको थियो । पाउँदीघाटमा शुभचिन्तकहरूको लस्करले उनलाई अन्तिम श्रद्धाञ्जलि दिइरहेको थियो ।

 बिमाकुमारीले चुमेर बिदा गरिन् भेडीखर्केलाई

कलाकारको एक हूलले शवमाथि फूलगुच्छा अर्पण गर्दै थियो । लोकगायिका बिमाकुमारी दुराको पालो आयो । श्रद्धाञ्जलि अर्पण गर्न नपाउँदै उनी भक्कानिइन् अनि भेडीखर्केको गाला चुम्न थालिन् र अँगालो मारेर रोइन् ।

लोकगायनमा भिन्न छवि बनाएकी बिमा रुनुको कारण थियो, भेडीखर्के साइँलाले जोगाउँदै आएको भाका । विसं १८५० को दशकमा दुराडाँडा क्षेत्रको ठूलास्वाँरामा जन्मेका देउबहादुर दुरा र उनका साथी पञ्चैसुब्बा गुरुङले सुरुआत गरेको ठाडोभाकाको गीतलाई जीवन्त दिने व्यक्ति उनै थिए भेडीखर्के, जसले ८५ वर्षको उमेर पूरा हुन तीन दिन छँदा सोमबार संसार त्यागे । नागरिक स्तरबाट ‘ठाडोभाका शिरोमणि’ उपाधि पाएका उनको मंगलबार दिउँसो अन्त्येष्टि गरियो ।

गायिका बिमासँगै बन्दीपुरकी ठाडोभाका गायिका उत्तमकुमारी गुरुङ पनि उत्तिकै रोइन् । २०६३ मा दमौली महोत्सव हुँदा भेट भएका भेडीखर्केले उनलाई ठाडोभाका सिकाए । आफैंसँग गाउने बनाए । पछिल्लो समय यी दुईको जोडीबिना ठाडोभाका जम्दैनथ्यो । ‘अब म एक्ली भएको छु, ठाडोभाकामा मैले जोडी पाउनेछैन,’ उनले चिन्ता व्यक्त गरिन् । 

भेडीखर्केको निधन भएको खबर सुन्नेबित्तिकै मंगलबार बिहानै काठमाडौंबाट हिँडेकी बिमाकुमारी आइपुग्दा सुन्दरबजारको मिलनचोकबाट भेडीखर्केको शव उठाउने तयारी गरिएको थियो । ‘हामी दुवै तुर्लुङकोटका पर्‍यौं । मलाई यो स्थानमा पुर्‍याउनमा उहाँ (भेडीखर्के) को धेरै योगदान छ । मेरा पुर्खाले सुरु गरेको भाका जोगाउने उहाँ नै हुनुहुन्थ्यो,’ उनले भक्कानिएर सम्झिन्, ‘साउनमा दुरा सेवा समाज र दुराडाँडा समाजले गरेको कार्यक्रममा सँगै ठाडोभाका गायौं, यही मेरो पछिल्लो भेट बन्यो । नागरिकले चिने पनि भेडीखर्केलाई राज्यले चिन्न सकेन । राष्ट्रको गहनालाई राज्यले चिनेन ।’

भेडीखर्केसँगै पाँच दशक संगत गरेका देवीबहादुर गुरुङका अनुसार बेलायतको कार्यक्रमका लागि भिसा आउने तयारी थियो । बेलायतमा भेडीखर्के र ठाडोभाकाका शुचचिन्तक धनबहादुर गुरुङले व्यवस्थापन गर्दै थिए । ‘सँगै सुर्खेत, नेपालगन्ज पुग्यौं । करापुटार कति धाइयो, वरपरका जिल्लाको कुरै नगरौं,’ देवीबहादुरले भने ।
ठाडोभाकालाई कर्पुटारे भाका पनि भनिन्छ । देवीबहादुर ठाडोभाकामा मादल बजाउन पोख्त छन् । ‘भेडीखर्केको उपचारका लागि देशविदेशमा सहयोग मागेर तीन वर्षअघि बचायौं, अहिले सकिएन,’ उनले भने ।

ठूलास्वाँराबाट बसाइँ सरेर परेवाडाँडा बस्दै आएका भेडीखर्के पछिल्लो समय जेठी छोरीज्वाइँसँगै पत्नीसहित सुन्दरबजार बस्दै आएका थिए । भेडीखर्केका ३ छोरी र १ छोरा छन् ।

भेडीखर्केलाई अन्तिम श्रद्धाञ्जलि दिन पोखराबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चल अध्यक्ष शंकर ‘बिरही’ गुरुङसहितको टोली, बुद्धिमान दुरा (धम्पु), सीता दुरा, मीनमाया गुरुङ, धनमाया गुरुङ, प्रतिष्ठानका तनहुँ अध्यक्ष अक्कल ‘बिरही’ गुरुङ, गोरखाकी अध्यक्ष मीना गुरुङ, लमजुङका अध्यक्ष दीपक पौडेललगायत पुगेका थिए । सांसद जमिन्द्रमान घले, सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र, प्रमुख जिल्ला अधिकारी युवराज मैनालीलगायतले श्रद्धाञ्जलि दिए । अन्त्येष्टिअघि सुन्दरबजारबाट भोटेओडार हुँदै पाउँदीसम्म शवयात्रा गरिएको थियो ।
‘अब भेडीखर्केको सम्झनामा एउटा सालिक बनाउनुपर्छ । राज्यले सम्मान गर्नैपर्छ,’ साहित्यकार अनमोल शर्माले भने । 

तनहुँका जयराम अधिकारीका अनुसार ठाडोभाकाको थेसिस लेखन अन्तिम तयारीमा पुग्दा भेडीखर्केको निधन भयो । ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले उनको जन्मदिन भदौ २९ गते ८५ वर्षको उमेरमा सरकारद्वारा ‘ठाडोभाका शिरोमणि’ को उपाधि दिलाउन लागिपरेका बेला उनको निधनले सिंगो लोकसंस्कृति नै शोकमा डुबेको बताए । लामो समयदेखि दमको समस्या झेल्दै आएका उनी एक महिनायता बिरामी थिए । 

 

प्रकाशित : भाद्र २८, २०७४ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?