२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बिनास्वीकृति डिस्प्ले बोर्ड

ललितपुर — जिल्लाको जावलाखेलमा बिनास्वीकृति राखिएको डिजिटल डिस्प्ले ललितपुर महानगरपालिकाले हटाउन सकेको छैन । ठेकेदार कम्पनी लभली मिडिया सर्भिसले प्रक्रिया नपुर्‍याई जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको भवनमाथि डिस्प्ले बोर्ड राखेको हो ।


नगरपालिकाका कार्यकारी अधिकृतले बोर्ड हटाउन नगर प्रहरीलाई पत्र पठाएपछि मंगलबार पुगेको नगरप्रहरी टोली हटाउने साधनको अभावका कारण फर्किएको छ । ‘हामीसँग ठेकेदारले बोर्ड आफैं हटाउँछु भनेका छन्,’ ललितपुर नगर प्रहरी बलका नायब उपरीक्षक कदमलाल महर्जनले भने, ‘अटेर गरेमा हामी हटाउँछौं ।’
भलिबल प्रशिक्षण केन्द्रको भवनमा बोर्ड राख्न दिन जावलाखेल केन्द्र र मिडिया सर्भिसबीच सम्झौता भएको थियो । सम्झौताको मिति र रकम भने समितिले खुलाउन चाहेन । केन्द्रका अध्यक्ष माधव खड्काले सम्पूर्ण कानुनी प्रक्रिया पुर्‍याएर मात्र बोर्ड राख्ने पाउने गरी मिडिया सर्भिससँग सम्झौता भएको बताए । ‘हामीले त ठेकेदार कम्पनीले प्रक्रिया पुर्‍याएर मात्र बोर्ड राखेको भन्ठानेका थियौं,’ उनले भने, ‘हामी तत्काल हटाउन लगाउँछौं ।’ उनले ठेकेदारले सम्झौताविपरीत काम गरेमा समितिलाई कुनै पनि हालतमा मान्य नहुने बताए ।
कानुनअनुसार यसरी डिजिटल डिस्प्ले बोर्ड राख्नुपहिला सम्बन्धित महानगरपालिकासँग अनुमति लिनुपर्छ । ललितपुर महानगरपालिकाको विज्ञापन करअनुसार २०७३/७४ का लागि प्रस्तावित दररेटमा नेपाली फिल्म, डकुमेन्ट्री सुटिङको प्रतिदिनको ५ हजार, विज्ञापन/गीत/टीभी कार्यक्रम/सिनेमा सुटिङ (विदेशी भाषामा) सार्क मुलुकका लागि प्रतिदिन २५ हजार र सार्कबाहेकका मुलुकका लागि एक लाख रुपैयाँ तिर्नुपर्ने प्रावधान छ । स्टल राखी विज्ञापन गरेमा प्रतिदिन प्रतिस्टलको ३ सय, गाडी राखी विज्ञापन गरेमा प्रतिगाडी प्रतिसाता २ हजार, इलेक्ट्रोनिक/डिजिटल बोर्डको प्रतिवर्गफिट वार्षिक ५ सय, तुल, ब्यानर राखी विज्ञापन गरेमा (मूल सडकको २ सय मिटरभित्रको भित्री सडकमा) मा प्रतिब्यानर प्रतिसाता ५ सय तिर्नुपर्ने कानुनी प्रावधान छ । तर लभली मिडिया सर्भिसले मनोमानी ढंगले करिब ३०/३२ फिटको ठूलो डिस्प्ले बोर्ड राखेको छ ।
बोर्ड राखिएको स्थान जावलाखेल रातो मत्स्येन्द्रनाथको भोटो जात्रा देखाउने ऐतिहासिक ठाउँ हो । पहिला सोही ठेकेदार कम्पनी मिडिया सर्भिसले हाल डिस्प्ले बोर्ड राखिएकै स्थानमा होडिङ बोर्ड राखेका थिए । पुरातात्त्विक महत्त्वको स्थान कुरूप भएको भन्दै त्यतिबेला स्थानीवासीले विरोध जनाएका थिए । लभली मिडिया सर्भिसका सञ्चालक किशोर राउतले स्वीकृति लिन बुधबारबाट प्रक्रिया थाल्ने बताए । ‘बोर्ड राख्न आज मात्र सक्किएको हो,’ उनले भने, ‘बोर्ड राख्ने बारेमा सुरुमा ललितपुर महानगरापालिकामा बुझ्दा बनाइसकेपछि मात्र स्वीकृति लिए पनि हुन्छ भन्नुभयो । त्यसैले प्रक्रिया नथालेको हो ।’

प्रकाशित : भाद्र २८, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?