१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फर्जी कागजातका भरमा विद्यार्थी भर्ना

लीला श्रेष्ठ

भक्तपुर — चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्स, मध्यपुर थिमिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा झूटो कागजात पेस गरी विद्यार्थीलाई ठगी गरेको छ ।

फर्जी कागजातका भरमा विद्यार्थी भर्ना

शैक्षिक सत्र ०७४/०७५ का लागि प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालनका लागि सीटीईभीटीसँग सम्बन्धन स्वीकृति नवीकरण नगरी विद्यार्थी भर्ना गरेर ठगी गरेको हो । 

कलेजले अवैधानिक रूपमा एकै दिनमा ३७ विद्यार्थी भर्ना गरेको छ । कलेजले प्रतिविद्यार्थी अग्रिम २ लाख ५० हजार रुपैयाँ भर्ना शुल्क लिइसकेको छ । आफ्नै अस्पताल नभएको र सरकारी अस्पतालसँग सम्झौता गरेको भनी झूटो कागज देखाएर विद्यार्थी भर्ना गरेको छ । नर्सिङ कलेज सञ्चालन गर्न अस्पताल अनिवार्य हुनुपर्छ । सीटीईभीटीको पूर्वस्वीकृतिबिना विद्यार्थी भर्नाको विज्ञापन वा विद्यार्थी भर्ना गर्न पाइँदैन । 
सीटीईभीटीसँग कुनै पनि सम्बन्धन तथा स्वीकृति नलिई कलेजले आइतबार पत्रिकामा सूचना प्रकाशित गरी एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोली एकै दिनमा ३७ विद्यार्थी भर्ना गरी एक सय विद्यार्थीको नाम वैकल्पिक सूचीमा निकालेको छ । सीटीईभीटीले सोमबार चक्रवर्ती कलेजलाई नवीकरण नगरीकन किन विद्यार्थी भर्ना गर्‍यो, विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि अस्पताल कहाँ छ भन्ने प्रश्नको स्पष्टीकरणको जवाफ झूटो पेस गरेको सीटीईभीटी स्तर निर्धारण महाशाखाका निर्देशक जीवनारायण काफ्लेले बताए । ‘कलेजले प्रयोगात्मक अभ्यासका लागि भक्तपुर अस्पताल र गणेशमान अस्पतालमा सम्झौता गरेको भनी झूटो विवरण पेस गरेको छ, नवीकरणका विषयमा बोलेको छैन,’ उनले भने । 

नेपाल नर्सिङ परिषद्ले सीटीईभीटीलाई पठाएको पत्रमा चक्रवर्ती कलेजसँग प्रयोगात्मक अभ्यासका लागि सम्झौता गरेको नभई श्रद्धा इन्स्टिच्युट अफ हेल्थ साइन्सेज भक्तपुरसँग सम्झौता गरेको उल्लेख भएको स्तर निर्धारण महाशाखाकी प्रशासकीय अधिकृत दिपिका शर्माले बताइन् । भक्तपुर अस्पतालकी सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाका अनुसार कुनै पनि नर्सिङ कलेजसँग प्रयोगात्मक अभ्यासका लागि शैक्षिक सत्र ०७४/७५ का लागि करार सम्झौता भएको छैन । चक्रवर्तीले ऐनविपरीत अघिल्लो शैक्षिक सत्र (०७३/७४) को सम्बन्धन नवीकरण २०७४ साउन २३ मा गरेको छ । शैक्षिक सत्र ०७४/७५ का लागि नवीकरण प्रक्रियासमेत अघि नबढाएको उनले बताइन् । 

सम्बन्धन तथा नवीकरण स्वीकृति नै नगरी सञ्चालन गरिएको कलेजमा विद्यार्थी भर्ना नगर्न सूचना जारी गरेको समेत सीटीईभीटीले जनाएको छ । सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले भने, ‘गुणस्तरलाई प्राभावकारी बनाउन नर्सिङमा अस्पताल आवश्यक पर्छ र चक्रवर्तीले अस्पताल देखाउन सकेको छैन ।’ कलेजले पठाएको अस्पतालको विवतरण झूटो रहेको समेत उनी बताउँछन् । चक्रवर्ती कलेजले झूटो सूचना जारी गरेर जनमानसमा भ्रम फैलाउँदै विद्यार्थीलाई ठगी गरेको सीटीईभीटीको भनाइ छ ।

चक्रवर्ती कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहले भने कलेज सम्बन्धन तथा नवीकरणबिना सञ्चालन हुन नसक्ने र नवीकरणको कागजात पेस गरिसकेको बताएका छन् । ‘सीटीईभीटीले विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्ने अस्पतालको विवरण माग्यो, अस्पतालको विवरण पठायौं,’ उनले भने, ‘अघिल्लो वर्ष अदालतले गरेको फैसला पनि दियौं ।’ ‘अस्पतालको विषयलाई लिएर मिडिया प्रचारबाजी नगर्न सीटीईभीटीलाई अदालतले आदेश गरेको छ,’ उनले भने । 

 

प्रकाशित : भाद्र २९, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?