दुर्व्यवहार गर्ने ७१ पक्राउ

काठमाडौं — सार्वजनिक यातायातमा महिलामाथि दुर्व्यवहार गर्ने ७१ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक महिनाको अवधिमा प्रहरीले काठमाडौंबाट ६१, भक्तपुर र ललितपुरबाट ५/५ जना पक्राउ गरेको हो ।

 दुर्व्यवहार गर्ने ७१ पक्राउ

सार्वजनिक यातायतालाई महिलामैत्री बनाउन प्रहरीले थालेको ‘सेफ्टी पिन’ अभियानअन्तर्गत पक्राउ परेका ४८ जनाले यौनजन्य दुर्व्यवहार, अपशब्द र गालीगलौज गरेका थिए । १० जना अश्लील हर्कत र दुव्र्यवहार आरोपमा ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । ८ जनालाई पकेटमारी गर्दैगर्दा पक्राउ गरिएको हो । प्रहरीका अनुसार अपराधको गम्भीरता हेरी २४ जनामाथि मुद्दा चलाइएको र ४७ जनालाई आफन्तको रोहबरमा यस्ता कार्य फेरि नगर्ने कबुल गराई छोडिएको छ ।

यस्ता अपराध गर्नेमा २५–३५ उमेर समूहका धेरै रहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा अधिकांश सामान्य लेखपढ गर्न जान्ने छन् ।

उपत्यकाको सार्वजनिक यातायातलाई महिलामैत्री बनाउने उद्देश्यले महानगरीय प्रहरी कार्यालय रानीपोखरीले साउन १८ गतेदेखि ‘सेफ्टी पिन’ अभियान सुरु गरेको छ । अभियान सुरु भएदेखि भदौ १८ सम्म तिनीहरू पक्राउ परेका हुन् । अभियान ३ महिनासम्म चलाउने र त्यसपछि आवश्यकताअनुसार समय थपिने प्रहरीले जनाएको छ ।

अभियान क्रममा सादा पोसाकमा ३३ वटा प्रहरी टोली सार्वजनिक यातायातमा खटिने गरेका छन् । महिला तथा बालबालिकामाथि यात्राका क्रममा हुने दुव्र्यवहार न्यूनीकरण अभियानको मुख्य उद्देश्य हो ।

प्रकाशित : भाद्र २९, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?