कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपीको भवन तीन वर्षमै जीर्ण

प्रदीप मेन्याङबो

धरान — निर्माण सकिएको साढे तीन वर्ष नपुग्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक कलेज भवनको आधा भाग उपयोगहीन बनेको छ । १५ करोड खर्च गरिएको भवन चुहिन थालेको छ ।

चारवटा थिएटरमध्ये तीन वटामा मात्र सुखदु:खले काम चलाइएको छ । अर्को एउटामा कमजोर छतका कारण पानी चुहिन थालेको छ । ‘साउन्ड प्रुफ’ का लागि भित्तामा गरिएका एकस्टिक सामग्री बिग्रिसकेका छन् । सिलिङका टुक्रा कतिखेर खसेर टाउकोमा लाग्छ, भन्न सकिन्न ।

प्रतिष्ठानले एयरकन्डिसन, मल्टिमिडिया साउन्ड सिस्टमसहितको आधुनिक कक्षा कोठा, सेमिनार हल, प्रयोग शाला, लाइब्रेरी, सर्भर कन्ट्रोल, प्रोजेक्टर र साउन्ड प्रुफयुक्त भव्य शैक्षिक भवन बनाइएको जनाएको थियो । २ सय विद्यार्थी क्षमताको एनाटोमी, फिजियोलोजी, बायोकेमिस्ट्री, माइक्रो बायोलोजी, प्याथोलोजी, फर्माकोलोजी र फरेन्सिक ल्याबको समेत व्यवस्था गरिएको उल्लेख थियो । तर, पानी चुहिएर कक्षा कोठामा बसिनसक्नु भएपछि विद्यार्थीलाई परीक्षा हलमा पढाउन बाध्य भएको एक प्राध्यापकले बताए ।

२०७० फागुन २७ गते उद्घाटन गरिएको भवन लामा कन्स्ट्रक्सन प्रालिले बनाएको हो । प्रतिष्ठानको दन्तचिकित्सा महाविद्यालय हातामा रहेको डेन्टल भवनमा पठनपाठन गराइँदै आएका एमबीबीएस विद्यार्थीलाई त्यहाँ सार्ने योजना थियो । प्रतिष्ठानका तत्कालीन उपकलुपति प्राडा. बलभद्रप्रसाद दासले यसलाई दक्षिण एसियाकै पहिलो सुविधायुक्त शैक्षिक भवन भएको दाबी गरेका थिए । तर, अहिले अधिकांश सेमिनारहल र कक्षाकोठामा एयर कन्डिसन, प्रोजेक्टर, पंखा चल्दैनन् । सिलिङ भत्किएर प्वालैप्वाल छन् । छतमा कमसल निर्माण सामग्री प्रयोग गरिएकाले पानी पर्दा चुहिने गरेको एमबीबीएस अध्ययनरत एक विद्यार्थीले बताए । उनले भने, ‘त्यहाँ अध्ययन गर्न सकिने अवस्था छैन । बाहिरबाट देख्न भव्य देखिन्छ, भित्र हरिबिजोग छ ।’

उपकुलपति प्राडा. राजकुमार रौनियारले एकेडेमिक भवन पूर्ण सञ्चालनमा ल्याउन नसकिएको बताए । उनले भने, ‘यो भवन अगाडिको व्यवस्थापनले बनाएको हो । किन यति कमजोर र कमसल सामग्री प्रयोग गरियो, छानबिन गर्नैपर्ने भएको छ ।’ भवन भत्कार पूरै नयाँ बनाउनुपर्ने या त ठेकेदार कम्पनीले जिम्मा लिनुपर्ने उनको भनाइ छ । टिनको ट्रस्ट हालिएको छतबाट पानी चुहिन्छ भनी ठेकेदार लामा कन्स्ट्रक्सनले बाहिरबाट पातलो प्लास्टिकले छोपिदिए पनि हावाले उडाएर हेरिनसक्नु बनाएको छ । रौनियारले भने, ‘कंक्रिट गरिएको छतको ढलानमा हिँडदा खोक्रो सतहमा हिँडेजस्तो हुन्छ । पानी पसेपछि विद्युत् सर्ट भएर डरमर्दो अवस्था छ ।’

प्रकाशित : भाद्र ३१, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?