अस्पताल पुर्‍याउनै मुस्किल

अछाम — मंगलसेन नगरपालिका–३ की ७५ वर्षीया झुमा विकलाई मंगलबार राति अचानक श्वास फेर्न गाह्रो भयो । घरमा साना २ नातिनी, ३ नाति र बुहारी मात्रै थिए । एक मात्र छोरा उमेश रोजगारीका लागि भारतमा छन् ।

बच्चाबच्ची र महिला मात्र भएकाले विकलाई तत्काल अस्पताल लैजान सम्भव भएन । बिहान बुहारी जौमती स्ट्रेचर र अस्पताल लगिदिने मान्छे खोज्न गाउँतिर लागिन् । बल्लतल्ल बोक्ने मान्छे त भेटिए तर स्ट्रेचर पाइनन् । सदरमुकामस्थित जिल्ला अस्पताल गाउँबाट टाढै पर्छ । जौमती र भतिजा शंकरले बिहान ११ बजे मात्रै उनलाई अस्पताल पुर्‍याए ।

बिरामीको अवस्था नाजुक भइसकेको थियो । ‘रातभर रोएरै बितायौं,’ जौमतीले भनिन्, ‘न आफ्नो वडामा स्वास्थ्यचौकी छ न त अस्पतालसम्म बोकेर लगिदिने मान्छे पाइन्छन् ।’

ठाँटीकी २३ वर्षीया उर्मिला कुँवरलाई सुत्केरी व्यथा लागेको ७ घण्टासम्म पनि स्वास्थ्यसंस्था पुर्‍याउन सकिएन । बाजुराको रीठा बजारनजिक पर्ने भएकाले जिप व्यवस्था गरी त्यसैमा लगियो । तर, आधा बाटो काटेपछि खोलाबाट जिप पार गर्न नसक्दा उनी त्यहीँ बच्चा जन्माउन बाध्य भइन् । ‘एउटा गाउँका लागि दिइएको स्ट्रेचर २/३ गाउँसम्म प्रयोग हुन थाल्यो,’ पति रमेश कँुवरले भने, ‘गर्भवती, बालबालिका, वृद्धवृद्धा बिरामी हुँदा ज्यानै जोखिममा हुन्छ ।’

जिल्लाका प्रत्येक गाउँ सडकले छोए पनि गाडी नगुडदा बिरामीलाई अस्पताल पुर्‍याउन समय लाग्ने स्थानीयको भनाइ छ । जिल्लाका १० स्थानीय तहका ९१ वटा वडामध्ये १२ वटामा एउटै स्वास्थ्यसंस्था छैनन् ।

स्थानीयलाई सेवा लिन निकै अप्ठ्यारो भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुंगानाले बताए । सदमुकाम मंगलसेन नगरपालिकाकै ५ वटा वडामा स्वास्थ्य संस्थाको कुनै संरचना छैन । गत वर्ष जिल्लाका लागि ४५ वटा स्ट्रेचर खरिद गर्न बजेट आएको र ४५ वटै बर्थिङ सेन्टरलाई दिइएको ढुंगानाले बताए ।

‘साबिकका ७५ गाविसमा ४५ स्ट्रेचर मात्र खरिद गरेर पठाउँदा सबैलाई नपुगेको भनी विवाद पनि भएको हो,’ उनले भने, ‘एक स्ट्रेचरलाई बढीमा ६ महिनासम्म चलाउन सकिन्छ । त्यसपछि च्यातिएर बिरामी बोक्न मिल्दैन ।’ समयमा स्वास्थ्यचौकी नल्याउँदा स्थिति अझ गम्भीर भएर धेरै बिरामीलाई अन्त रेफर गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित : आश्विन ६, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?