२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

दसैंका यात्रुलाई पहिरोको तगारो

कालिकोट/खोटाङ — सुर्खेत– जुम्ला सडकखण्डको गगनेखोलामा फेरि पहिरो गएको छ । सडक सुचारु भएको दुई साता नबित्दै पुन: पहिरो गएपछि दसैंका यात्रु अलपत्र परेका छन् ।

 दसैंका यात्रुलाई पहिरोको तगारो

काठमाडांै, सुर्खेत नेपालगन्ज तथा भारतबाट घर फर्किंदै गरेका सयौं यात्रु अलपत्र छन् । कालिकोट, जुम्ला, मुगु र बाजुराको साप्पाटा क्षेत्रका बासिन्दा सामान बोकेर पैदल हिँड्न बाध्य छन् । कर्णाली राजमार्ग भएर दैनिक दुई/तीन सय यात्रु घर फर्किरहेकोमा अहिले पहिरोले अलपत्र परेको जिल्ला प्रहरी प्रमुख डीएसपी सुवास बोहोराले बताए । उनले यात्रु लाई घर पठाउन प्रहरीले सहयोग गरिरहेको जानकारी दिए । 

डोजर लगाए पनि पहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए । ‘मंगलबार रातिदेखि सडक अवरुद्ध छ,’ उनले भने ‘धेरै माथिबाट ठूल ठूला ढुंगासहित सुख्खा पहिरो बगिरहेकोले काम गर्न कठिनाइ छ ।’ पहिरो झर्न रोकिए डोजरले दुई/तीन घण्टामै पन्छाउन सक्ने अवस्था छ । पानी परिरहेकाले त्यो सम्भव छैन । यही पहिरोमा परेर एक महिनाअघि कालिकोटमा व्यापार गरिरहेका दैलेखका जगतबहादुर शाहीको ज्यान गएको थियो ।

पाँच सय मिटरमाथिबाट आएको पहिरोले ३० मिटर सडक पुरेको छ । पहिरो खसेको ठाउँबाट पैदल आवतजावत गर्न पनि कठिनाइ छ । वरिपरि भीर भएकाले एक घण्टा उकालो छातीगाउँ भएर आवतजावत गर्नुपर्ने बाध्यता छ । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि एक सयभन्दा बढी जिप, बस, मिनी टाटा, ट्रयाक्टर ठाउँ–ठाउँमा अलपत्र परेका छन् । सुर्खेत र नेपालगन्जबाट गएका लोड गाडी दैखोला नजिकै रोकिएका छन् । सुर्खेतको बांगेसिमलबाट सुरु भएर जुम्ला खलंगासम्म कुल २ सय ३३ किमि लम्बाइको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षामा पहिरोले ठाउँ–ठाउँमा अवरुद्ध हुने गरेको छ । 

हलेसी–दिक्तेल पनि अवरुद्ध

हिलाम्य र खाल्डाखुल्डी परेपछि मध्यपहाडी लोकमार्गअन्तरर्गत खोटाङको हुर्लुङ सडक खण्ड पनि अवरुद्ध छ । निर्माण कम्पनीले कामै नगरी अलपत्र छाड्दा सडकमा हिलो जम्नुका साथै खाल्डाखुल्डी परेको छ । दसैंमा घर फर्किने यात्रुको बिचल्ली छ ।

निर्माण कम्पनीले हुर्लुङ क्षेत्रमा काम अलपत्र छाडेको हो । हलेसीदेखि दिक्तेलसम्म तीन प्याकेजमा काम भएको थियो । स्थानीयले हुर्लुङ क्षेत्रमा निर्माण गरिएको सडक गुणस्तरहीन भएको आरोपसमेत लगाएका छन् । निर्माणाधीन सडकको नाली, टेबा–पर्खाल र ग्राभेलमा प्रयोग गरिएका सामग्री गुणस्तरहीन भएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले बताए । परीक्षणका क्रममा ग्राबेलका लागि प्रयोग गरिएका ढुंगासमेत गुणस्तरीय नभएको प्रमाणित भए पनि त्यसैलाई प्रयोग गरिएको स्थानीयले बताए । यस बाहेक ठाउँ–ठाउँका झरीले ग्राभेल बगाएकाले यातायात सञ्चालनमा कठिनाइ छ । 

प्रकाशित : आश्विन ६, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?