पत्रकार बने नगरप्रमुख

सञ्चारकर्मी सल्मा खातुन पर्साको पोखरिया नगरपालिकाको उपमेयर

महोत्तरी/पर्सा — उनी कलम र क्यामेरा च्यापेर नेता र मन्त्रीको पछि लाग्थे । घटनास्थल पुग्थे । समाचार संकलन, लेखन र सम्प्रेषणमा दिनरात बिताउँथे । हेर्दाहेर्दै दिनचर्या फेरिएको छ ।

 पत्रकार बने नगरप्रमुख

हिजोका श्रमजीवी पत्रकार अहिले आफंै सञ्चारकर्मीले घेरिएका छन् । अरूसँग प्रश्न र जिज्ञासा होइन, आफैं त्यस्ता प्रश्नको उत्तर दिन उनलाई भ्याइनभ्याई छ ।

कलमजीवीबाट राजनीतिको यात्रामा कदम बढाएका नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष हरिप्रसाद मण्डल भर्खरै सम्पन्न निर्वाचनमा मटिहानी नगरपालिकाको प्रमुख पदमा विजयी भएपछि अहिले उनको भूमिका फेरिएको हो ।

निर्वाचन जितेपछि विजय यात्रामा व्यस्त मण्डलले पत्रकारिताबाट राजनीतिमा आउने आफू एक्लो नभएको स्मरण गराए । ‘पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने म एक्लो हैन,’ उनले भने,‘कुनै बेला किसुनजी (कृष्णप्रसाद भट्टराई) पनि पत्रकार हुनुहुन्थ्यो ।’ 

मटिहानीका मतदाताले नगरको विकास र समुन्नतिका लागि मत दिए पनि मण्डलसँग राजनीतिभन्दा पत्रकारिताको अनुभव बढी छ । ०४९ मा स्थानीय ‘तथ्य’ साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका उनले ०५२ देखि एक दशक राष्ट्रिय समाचार समिति (रासस) का लागि जिल्ला संवाददाताका रूपमा काम गरे । ०५६ देखि उम्मेदवारी दिने अघिल्लो दिनसम्म उनी एनटीभीको जिल्ला संवाददाता थिए । उनले ०६२ देखि लगातार ३ कार्यकाल पत्रकार महासंघको जिल्ला नेतृत्व सम्हाले । न्यूनतम पारिश्रमिक निर्धारण समितिको ३ वर्ष सदस्य रहे । त्यसअघि ०६३ मा प्रेस काउन्सिलको सदस्यको जिम्मेवारी पनि उनले सम्हाल्ने अवसर पाएका थिए । 

उनका आलोचक पत्रकारितामा डोरिएको व्यक्तिले नगर हाँक्न सक्नेमा शंका गर्छन् । तर, उनी भने पत्रकारिता र राजनीतिमा खासै फरक देख्दैनन् । त्यसैले मतदाताले सुम्पेको दायित्व निर्वाह गर्न समस्या नहुने बताउँछन् । पत्रकारिताको अढाई दशक लामो अनुभवलाई नगरको विकासमा रूपान्तरण गर्न आफूले राजनीतिको भर्‍याङ टेकेको बताए । 

‘पत्रकारिता र राजनीतिबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । एक–अर्काका पूरक हुन् भन्ने मैले बुझेको छु,’ उनले भने, ‘पत्रकारिताबाट संगालेको २५ वर्ष लामो अनुभवलाई अब नगरको विकासमा लगाउने 
अठोटका साथ राजनीतिमा प्रवेश गरें, जनताले पनि विश्वास गरे ।’

ऐतिहासिक र पुरातात्त्विक नगर मटिहानीको विकासका लागि ३ ‘स’ अर्थात सडक, शिक्षा र स्वास्थ्यमा सुधार गर्ने उनको मार्गचित्र छ । २ दशकसम्म जनप्रतिनिधिविहीन भएकाले यी क्षेत्रको समस्या गहिरिंदै गएको उनको बुझाइ छ । अहिले प्रतिनिधि चुनेर जनताले आफ्नो जिम्मेवारी निभाए भने उनीहरूलाई परिवर्तनको अनुभूति दिलाउने आफ्नो दायित्व भएको बताए । ‘अतिक्रमणको चपेटामा परेका ग्रामीण सडकको जीर्णोद्धार, नगरका सबै विद्यालयमा सर्वसुलभ र आधुनिक शिक्षा तथा सहज स्वास्थ्य सेवा अहिलेका लागि मैले गर्नुपर्ने काम हो,’ उनले योजना सुनाए, ‘त्यसका साथै मटिहानीको सरसफाइ, स्वच्छ खानेपानी, सिँचाइ, व्यापार व्यवसाय र कृषि प्रणालीमा सुधार जस्ता कार्य पनि प्राथमिकतामा छन् ।’

मटिहानीलाई महोत्तरीको पत्रकारिताको उद्गमसमेत मानिन्छ । मण्डलको पारिवारिक पृष्ठभूमि पनि पत्रकारिता थियो । बुवा विन्देश्वरी र ठूल्दाजु रामकुमारसमेत पत्रकारितामा नै छन् । त्यसैले पनि जीवनको आधा बढी समय सञ्चार क्षेत्रमा व्यस्थित गरेका मण्डलले आफ्नो कार्यकालमा पत्रकारिता विकासको समेत परिकल्पना गरेका छन् । 

नगरमा सूचना डेस्क स्थापना गरी सहज ढंगमा सूचना उपलब्ध गराउने र सञ्चार क्षेत्रलाई आवश्यक सबै सुविधा व्यवस्थापन गरी मटिहानीलाई पत्रकारमैत्री नगर बनाउने उनको परिकल्पना छ । ‘जहाँ सञ्चार त्यहाँ विकास,’ उनले भने, ‘यसलाई मूर्तरूप दिने प्रयास रहनेछ ।’

सल्मा खातुनको फड्को
छरितो ज्यान, काममा समर्पण र शान्त तथा भद्र शैली । ३० वर्षीया सञ्चारकर्मी सल्मा खातुनलाई व्यक्तिगत रूपमा चिन्ने धेरैले उनको व्यक्तित्वको मूल्यांकन यसरी नै गर्छन् । १ महिनाअघिसम्म पनि उनी वीरगन्जको सामुदायिक एफएम नारायणीबाट श्रोताहरूलाई देश, विदेशका समाचार सुनाइरहेकी थिइन् । शनिबारबाट भने उनको परिचय फेरिएको छ । जिल्लाको दोस्रो सदरमुकाम मानिने पोखरिया नगरपालिकाको उपमेयर पदको जिम्मेवारी उनको काँधमा आइपरेको छ । 

संघीय समाजवादी फोरमले उनलाई उम्मेदवार बनाएपछि सुरुमा त पत्याउन गाह्रो भयो । अचानक आइलागेको यो चुनौतीलाई उनले अवसरका रूपमा लिइन् । १ महिनाको घरदैलो र सभा समारोहले उनलाई अन्तत: सफलताको स्वाद चखायो । रेडियोकर्मीका रूपमा श्रोताको मनमा बसिसकेकाले उनलाई परिचयको त्यति आवश्यकता पनि परेन । एक दशकदेखि विभिन्न सञ्चार माध्यममा आबद्ध रहेकी उनी पछिल्लो डेढ वर्षयता नारायणी एफएममा आबद्ध थिइन् । उपमेयर पदमा चुनाव लडने भएपछि रेडियो छाडिन् । बंगलादेशको ढाका युनिभर्सिटीबाट पत्रकारितामा स्नातकोत्तर उत्तीर्ण सल्माका पति अब्दुल गनी बैंकिङ क्षेत्रमा कार्यरत छन् । स्वयं सल्मा पनि थोरै समयमा आफ्नो जीवनमा आएको परिवर्तनले चकित छिन् । ‘अचानक मेरो जीवनको धार परिवर्तन भयो,’ उनले भनिन्, ‘पहिले कलमबाट आवाजविहीनहरूको प्रतिनिधित्व गरेर त्यसलाई सम्बोधन गर्न राज्यलाई दबाब दिइन्थ्यो, अब आफैं स्थानीय सरकारको जिम्मेवार पदमा बसेर जनताको सेवामा अहोरात्र खट्ने ठूलो जिम्मेवारी आइपरेको छ ।’ 

माइती पोखरिया नै भएकाले पिछडिएको यो नगरपालिकालाई विकासको पथमा हिँडाउन आफूमा क्षमता र योग्यता रहेको उनको दाबी छ । ‘यो मेरा लागि ठूलो अवसर पनि हो, लामो समय मैले पत्रकारिताको माध्यमबाटै सामाजिक मुद्दाहरू उठाउँदै आएकी हुँ,’ उनले भनिन्, ‘पोखरियावासीले पनि परिवर्तन चाहेका रहेछन्, शिक्षित, सक्षम र सबल उम्मेदवारका रूपमा ममाथि ठूलो विश्वास र भरोसा गर्नुभयो, म उहाँहरूको विश्वासमा खरो उत्रने भरपूर कोसिस गर्नेछु, अब पिछडिएको नगर पोखरियाको सामाजिक र भौतिक विकास सँगसँगै गर्ने मेरो योजना छ ।’ मधेसी महिलाहरू पछाडि पर्नुको सामाजिक कारणको पहिचान गरी त्यसको निवारणमा लाग्ने कामलाई पनि प्राथमिकतामा राख्ने उनले बताइन् । 

प्रकाशित : आश्विन ८, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?